दशैंको महत्व

दुर्गा दंगाल (चाँदनी)

नेपाल एक यस्तो कृर्षि प्रधान देश हो । जहाँ बहुसांस्कृति, बहुभाषिक, बहुजाति, बहुधार्मिकता रहेको छ । यो देशमा अनेकतामा एकता रहेको छ । जहाँ सवै जातजाती,भाषाभाषी, वर्ग समुदाय धर्मका आ–आफफ्नै विभिन्न चाडपर्वहरु रहेका छन् । जस्तै असार पन्ध्र, गुरिया पर्व, रक्षावन्धन, गाईजात्रा, कृष्णा जन्माष्टमी, गौरा पर्व, कुशेऔशी, तीज, विजयादशमी, तिहार आदि पर्दछन् । जसको आ–आफ्नै किसिमको मौलिकता र विशेषताहरु रहेकाछन् । नेपालमा मनाईने यि विभिन्न चाडपर्वहरुको आ–आफ्नै किसिमको सामाजिक, साँस्कृतिक, धार्मिक, एवं ऐतिहासिक महत्व रहेको छ । हाम्रा यि विविध हरेक चाडपर्वहरुले समाजमा सामाजिक, धार्मिक र सास्कृतिक सम्बन्धलाई सुदृढ गर्दै समाजमा सामाजिक सदभाव, मेलमिलाप, शान्ति तथा भाईचाराको सम्बन्ध कायम राख्ने एक महत्वपूर्ण पुलको भूमिका खेल्दै आएको छ । धर्मसस्कृतिहरुले समाजलाई एक सुत्रमा बाँध्ने काम गरिरहेको हुन्छ । त्यसैले समाजमा विविध विसंगति र सामाजिक अधिकारहरुको उजागर गर्ने कार्य गरिरहेको हुन्छ । अहिले समाजमा एक धर्म र समुदायका नागरिकहरुले अर्को धर्म र समुदायका नागरिकको चाडपर्वलाई सम्मान गर्ने र आफु पनि त्यस पर्वमा सहभागी भई आस्था र सदभाव देखाउने प्रचलन दिनप्रतिदिन बढ्दै गईरहेको देखिन्छ । यसलाई समाजको सकारात्मक पक्ष मान्न सकिन्छ ।
नेपाली समाजका यि विभिन्न चाडपर्वहरु मध्ये एक महत्वपूर्ण विशेषता वोकेको महान चाड दशै पर्व हो । यस चाडको पनि आफ्नै किसिमको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व रहेको छ । यो चाड विशेष गरि हिन्दु धर्म मान्नेहरुले धर्म संस्कृति र परम्पराको रुपमा मनाउदै आएको देखिन्छ । यो चाड विजय र आनन्दको उत्सव हो । असत्य माथि सत्यको विजय, दानवीय स्वभाव माथि मानविय स्वभावको विजय ,कु शासन माथि सुशासनको विजय अन्याय माथि न्यायको विजय, हिंसा माथि अहिंसाको विजय असुरी शक्ति माथि दैवीय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्येश्य हो । यो पर्व आश्विन शुक्ल प्रतिपदा देखि दशमी सम्म दश दिन पूजा पाठ ब्रत,उत्सव आदि गरेर मनाईने गरिन्छ । त्यसैले पनि यो चाडलाई दशै भनिएको हो ।
यो चाडमा हिन्दु धर्मालम्वीहरुले घटस्थापना देखि नै विभिन्न शक्तिपीठहरुमा दुर्गा सप्त शति ,चण्डि र भगवतीको स्त्रोत्र पाठ गरि दुर्गा भवानीको आराधाना गरिन्छ । सत्य युगमा देवासुर संग्राम भए देखि नै दशै पर्व मनाउन थालिएको कुरा देवी पुराण धर्मग्रन्थहरुमा उल्लेख भएको पाईन्छ भने इतिहास हेर्ने हो भने राजा हरिसिंह देवले नेपाल सम्वत ४४४ अर्थात आज भन्दा ६९०वर्ष पहिले तलजा भवानी समेत लिएर नेपाल प्रवेश गरि उपत्यकामा राज्य सन्चालन गर्ने क्रममा दशै पर्वको शुरुवात भएको उल्लेख छ । विजया दशमीको दिन भगवतीले दानवी शक्ति माथि र रामले रावण माथि विजय हासिल गरेको उपलक्ष्यको खुशियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने प्रचलन रहेको छ । यो पर्वमा खडग यात्रा र पूजा गर्ने प्रचलन भएकोले यो पर्व नेपालमा तन्त्र यानको प्रादुर्भाव भए देखि नै भएको हो भन्ने तर्क विदुवानहरुको रहेको छ । तर जसरी पर्वको शुरुवात भएता पनि यो दशै पर्व परम्परागत नेपाली हिन्दू समाजमा महत्वपूर्ण रुपमा मनाउदै आईएको छ । असत्य माथि सत्यको विजय भएको मानेर देवीलाई वली दिनु पर्छ भन्ने मान्यता लिई दश ैपर्वमा लाखौ पशुपंक्षीहरुलाई शक्ति पीठ मानीएका देवी देवताको मन्दिर र दशै घरहरुमा समेत वली दिने गरिन्छ । तर अहिले नेपाली समाजमा केही परिवर्तन आएको छ । समाजमा अहिंसावादीहरुले पशुवलीको विरोधगर्दे आईरहेको पनि देखिन्छ । तर यस तर्फ राज्यको पनि ध्यान केन्द्रित भई यो वली प्रथालाई उन्मुलन गर्ने तर्फ लागेको देखिदैन । दशै पर्वमा वली प्रथा रोक्नुको सट्टा झन मौलाउदै गएको कुरा वली प्रथा विरुधीहरु बताउछन् । समाजमा धर्मको नाममा वली दिनेहरुलाई चेतना दिनेहरुको सख्या र विभिन्न संघसस्था हरुको वृद्धि हुन थालेको देखिन्छ । हाल सम्म औपचारिक रुपले पशु वली अपराध हो भनी निषेध अभियानमा नेपाल कृष्णा प्रणामी युवा परिषद, एनिमल वेलफेयर सोसाइटी लगायतका पशु अधिकारकर्मीका विभिन्न संस्थाहरु वलीको विरोधमा लागेको देखिन्छ ।
यो पर्व असत्य माथि सत्यको विजयका रुपमा मनाउन शुरु गरियता पनि केही वर्षयता आफ्नो आर्थिक हैसियत भुलेर अरु घोडामा चढे भनेर आफु धुरी चढने प्रवृती वदै गएको समाजमा देख्न पनि पाईन्छ ।जसले गर्दाृ दशै पर्व उल्लास र उमंगको चाड हुन सकेको पाईदैन । कतिपयको लागी दशै दशा भएर आउने र जाने गर्दछ । दशै पर्वलाई सास्कृतिक महत्वको चाडका रुपमा मनाएको पाइदैन । दशैको गरिमा वृद्धि हुने गरि विशुद्ध मनोरन्जनात्मक रुपमा मनाउनु पर्दछ । दशैलाई घाँटी हेरि हाड निल्नु भन्ने नेपाली उखानलाई मध्येनजर गरी मनाउन सकेको खण्डमा मात्र दशै पर्व साँच्चिकै दशै बन्न सक्दछ । जसले गर्दा समाजलाई एकअर्कामा बाँधेर राख्न सहयोग मिल्दछ ।अहिले नेपाली समाजमा खाद्य बस्तु लत्ताकपडा मासु आदि बस्तुहरुमा अत्यधिकरुपमा बढेको महंगी र त्यसमाथि पनि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका वावजुद पनि दशैलाई आ(आफ्नो हैसियत अनुसार मनाउनु पर्ने तर्फ सवैको ध्यान केन्द्रित हुनु पर्ने जरुरी देखिन्छ किन की आफ्रन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु पनि यो पर्वमा आफ्नो जन्मथलो र आफ्न्त भेट्रन तथा मान्यजनबाट टीका र जमराको साथमा आर्शिवाद थाप्न आउदछन् । यो प्रकृया परम्परा देखि नै चलि आएकोले दशै पर्वले सामाजिक सास्कृतिक तथा ऐतिहासिक महत्व वोकेको छ ।
महंगीपूर्ण आर्थिक मन्दीले ग्रस्थ भएका नेपालीहरु विजया दशमीलाई ऋण सापट गरेर भएपनि धमाधमका साथ मनाउने तयारीमा जुटिरहेको देखिन्छ । विगतको वर्षहरुको तुलनामा आकासिदो रुपमा वृद्धि भइरहेको महंगीको मारमा मनाउन लागीएको यस वर्षको दशैले झन सवैलाई कष्टकर वनाएको महसुस गर्न सकिन्छ । घटस्थापना देखि शुरु हुने यो पर्व विभिन्न शक्ति पीठहरुमा वली दिएर देवी देवताको प्रसादको रुपमा मासु खाने चाडको रुपमा मनाईने दशै पर्वमा विशेष गरि नवदुर्गाको पूजा आराधाना गरेर मनाउने गरिन्छ । विजया दशमी पर्वको घटस्थापना, सत्तमी, अष्टमी, नवमी हुदै दशमीको दिन नजिकिदै छ साथ साथै विजया दशमीको एक अर्कामा शुभकामना लिने दिने क्रम वढिरहेको देखिन्छ ।
नेपाली समाजमा नेपालीहरुले मनाउने धर्म सस्कृति प्रकृति संग जोडिएको पाईन्छ । त्यसैले नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिको नजिक रहेका छन् । हाम्रो समाज विभिन्न धर्मसस्कृतिमा हुर्केको समाज हो जहाँ १२५ जातीहरु रहेका छन् । यी जातीहरु मध्ये १२३ जातिहरुले आफ्नो भाषा वोल्ने गर्दछन् । हाम्रा परम्परागत रुपमा मनाइने चाडपर्व,जात्रा ,मेला तथा अन्य विभिन्न सा.स्कृतिक उत्सवहरुको आ–आफ्नो विशेषता जोडिएका मुलुक भरीका विभिन्न नगर, शहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेला, जात्रा तथा परम्पराहरुको एकिन गर्न अति नै कठिन छ । प्रत्येक जिल्लाको नगर तथा गाउँहरुमा वर्ष दिन भरी नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा, मेला भईरहेकै हुन्छन् । त्यसैले भन्न सकिन्छ कि हामी नेपालीहरु धर्म सस्कृतिका धनी छौ । पछिल्लो तथ्यांक अनुसार नेपालमाँ हिन्दु धर्म मान्नेहरु ८१.३४ प्रतिशत रहेको छ । राष्टिूय पर्वको रुपमा मानिने दशै पर्वलाई हिन्दु बाहेक वौद्ध, किराँत तथा अन्य धर्ममा आस्था राख्ने समुदायहरुले पनि महत्व दिई आस्था राख्ने गरेको पाईन्छ । हाम्रा हरेक सस्कृति र पर्वहरु आर्थिक पक्षमा जोडिएका हुन्छन् । हाम्रो समाजमा हामी आर्थिक हैसियत भएका वर्ग र विपन्न वर्गहरु रहेका छौ । हैसियत भएकाहरुले खर्च गरेर तडकभडक गरि पर्व मनाउने र हैसियत नभएका नसक्ने वर्गले पनि ऋण धन जुटाएर यस्ता सास्कृतिक पर्वहरु मनाउने गर्दछन् ।जुन कारणले एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी वोक्नु पर्ने अवस्थामा रहेको देखिन्छ । समाजमा गरिव अझ गरिवीको रेखामा पर्दै जाने भएका कारण समाजमा धनी वर्ग र गरीव वर्गमा समाज वर्गिकरण भएको पाईन्छ । जुन समाजको लागी सकारात्मक पक्ष मान्न सकिदैन । त्यसकारण अवका दिनहरुमा हामीहरु स्वयमले आफ्नो हैसियतलाई मध्यनजर गरि देखासिकी र आडम्वरयुक्त रुपमा दशै मनाउने मानसिकतालाई त्याग्नु आवश्यक देखिन्छ । जसले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग पुग्ने देखिन्छ । हामीले आफ्नो स्वविवेक प्रयोग गरि देखासिकी र आडम्वरयुक्त भडकिलो क्रियाकलापहरुलाइ त्यागी हाम्रा चाडपर्वहरु मनाउन सकिएन भने विपन्न वर्गका मानिसहरुको अवस्था अझ दयनिय हुदै जाने र समाजमा विभिन्न विचलनहरुको सिर्जना हुन गई समाज अशान्ति तिर धकिलीने भएकोले यस सम्वन्धमा सम्वन्धित निकाय तथा हामी सवैले सचेत हुनु अति नै जरुरी देखिन्छ ।
२०७६ सालको बडादशै, तिहार तथा छट पर्वको
पावन अवसरमा देशमा शान्ति सुव्यवस्था कायम
भई सवैको उत्तरोत्तर प्रगतीको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
(ddangal26@gmail.com)

21Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *