खोज पत्रकारहरुलाई लेखनवृत्ति र पुरस्कार प्रदान

काठमाडौं । नेपाल स्थित अमेरिकी दुतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालको संयुक्त पहलमा विगत एक बर्षदेखि बिभिन्न चरणमा आयोजना गरिएको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिकका चितवन जिल्ला संवाददाता सविता श्रेष्ठले प्राप्त गर्नु भएको छ । उहाँले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानून बनाउन भइरहेको सकस सम्बन्धमा गर्नु भएको समाचार रिपोर्टिङ्ग लागि सो प्राप्त गर्नु भएको हो ।
देशका सातवटै प्रदेशका आठ मुख्य शहरहरुमा गरिएको खोज पत्रकारिता रिपोर्टिङ प्रतिस्पर्धाबाट छानिएका सात जना अन्तिम प्रतिस्पर्धी फेलोहरुसहित राष्ट्रिय पुरस्कार विजेता सविता श्रेष्ठलाई असोज १४ गते मंगलबार ललितपुरस्थित होटल हिमालयमा आयोजित एक कार्यक्रममा नेपाल स्थित अमेरिकी राजदुत ¥याण्डी बेरीले नगद २,००,०००।–(अक्षरुपी दुई लाख रुपैंया) सहित प्रमाणपत्र प्रदान गर्नु भयो ।
सो अवसरमा अन्तिम प्रतिस्पर्धीहरु प्रदेश नम्बर १ बाट पूर्वी हटलाइन दैनिकका प्रेमबहादुर कार्कीढोली (राजन केडी), इटहरी, प्रदेश नम्बर २ बाट अनलाइन खबरका सुरेश विडारी, प्रदेश नम्बर ३ बाट नागरिक दैनिकका सविता श्रेष्ठ, चितवन, गण्डकी प्रदेशबाट समाधान दैनिकका भरत कोइराला पोखरा, प्रदेश नम्बर ५ बाट अन्नपूर्ण पोष्ट दैनिकका शंकरप्रसाद खनाल नेपालगंज, कर्णाली प्रदेशबाट कान्तिपुर दैनिकका चाँदनी कठायत वीरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशबाट कान्तिपुर दैनिकका निर्मला खडायत, धनगढीलाई राजदुत बेरीले लेखनवृतिका लागि नगद सत्तरी हजार रुपैंया (अक्षरुपी ७०,०००) सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस अघि देशका सातवटै प्रदेशका आठ मुख्य मुख्य शहरहरुमा गतवर्षदेखि विभिन्न चरणमा गरिएको विषयवस्तु छनौट परामर्श बैठक, कार्यशाला र स्टोरी लेखन कार्यमा सहभागि भएका २ सय ८७ जना पत्रकारहरुमध्येबाट २४ जनाले नगद ३० हजार रुपैंया पहिलो चरणको खोज पत्रकारिता लेखनवृति प्राप्त गरेका थिए ।
शेयरकाष्ट इनिसिएटिभ नेपाल सन् २०१३ मा स्थापित भई नेपालको मल्टिमिडिया क्षेत्रलाई योगदान गरिरहेको कम्पनी हो । शेयरकाष्टले खोज पत्रकारिता र पत्रकारहरुको क्षमता अभिबृद्धि कार्यक्रमका अलावा राष्ट्रियस्तरमा वार्षिक श्रोता सर्वेक्षण, स्थानीय रेडियोहरुको संस्थागत विकासका सहयोग, मल्टिमिडिया प्रोडक्सन लगायतका क्रियाकलाप गर्दै आएको यसका अध्यक्ष मधु आचार्यले बताउनु भयो ।
सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकार हक, हित र अधिकारको पक्षमा अडिग रहेको बताउनु भयो । उहाँले पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै दक्षता अभिवृद्धिका लागि महासंघले विशेष जोड दिएको बताउनु भयो । साथै महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउलेले महिला, दलित र सीमान्तकृतहरुका आवाज पत्रकारहरुले बुलन्द गर्नु पर्नेमा जोड दिनु भयो ।

14Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *