जनप्रतिनिधि भए पछि ठूलो जिम्मेवारी हुदोरहेछ – वडाध्यक्ष आशाराम चौधरी

वराहक्षेत्र नगरपालिकाको वार्ड न ४ नगरको सबैभन्दा सानो वडा हो । भौतिक पुर्वाधारका साथै बजारक्षेत्र , बिद्यालय , विभिन्न संघ संस्थाका हिसाबले पनि यो वडा कान्छो नै रहेको छ । यिनै सेरोफेरोमा रहेर यसै वडाका वडाध्यक्ष आशाराम चौधरी सँग समृद्ध वराहक्षेत्र साप्ताहिकका कार्यकारी सम्पादक अच्युत भट्टराईले गरेको कुराकानी ।

१. तपाईं निर्वाचित भए पछि अहिले सम्म गरेका उपलब्धी पुर्ण काम हरु बताइदिनुहोस न ?

हाम्रो वडा अत्यन्तै बिकासका पुर्वाधार नभएको वडा थियो । अहिले हामी निर्वाचित भएर आएपछि हामिले पुर्वाधार लाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौ । हाम्रो वडामा पर्ने ७ कि. मि . बाटो नगरको रिङ्ग रोड को अवधारणा अन्तर्गत परेर ५० फिटको चौडाइमा स्तरोन्नति भैसकेको छ । धनपुरीको डेढ किलोमीटर बाटो स्तरोन्नति र ड्रेन लगाउने काम भएको छ । पुलाह र आन्द्रामोठको बाटो बिस्तार गर्ने र ड्रेन लगाउने काम क्रमागत रुपमा भैरहेको छ । पिडारीको बाटो बिस्तार स्तरोन्नति र साइडमा पर्खाल लाउने काम गरेका छौ । आन्द्रामोठ देखि लिएर ३० बिगाहा ६४ बिगाह जोड्ने साघुरो बाटोलाई बिस्तार गरेका छौ । यो ड्रेन र पर्खालको अवधारणा चाहिँ किन ल्याइयो भने हाम्रो बाटोहरु मिच्चिने काम पनि भैरहेको हुँदा बाटोको सिमाङ्कन पनि हुने र यो दिगो बिकास पनि हुने हुँदा । वडाका ठाँउ ठाउँमा कलभर्ट निर्माण भएका छन् । भगवती प्राबि र धनपुरिको सरस्वती माबिको भौतिक संरचनामा सुधार गरेका छौ । वडाकार्यालय एक दुई महिनामै बनिसक्दैछ । नहरबाट बिस्थापित भएका ७ घर सुकुम्बासीहरु ब्यबस्थित बसोबास गरायौ ।

२. वडाध्यक्षहरु प्रदेश तिर धाएर आफ्नो वडामा बजेट पार्न धेरै लागिपरेको देखिन्छ तपाईंले आफ्नो वार्डमा प्रदेशको बजेट बाट के कति काम गर्नु भएको छ ??

हाम्रो वडामा पनि प्रदेशका बजेट परेका छन् । जस्तो कि खोप केन्द्रलाइ १० लाख , आन्द्रामोठमा ड्रेनका लागि १० लाख , पुलाहामा १० लाख , सर्दुखोला कटान नियन्त्रणका लागि २० लाख यी गरिसकेका काम हुन । फेरि यो आर्थिक बर्षमा प्रदेश बाटै सर्दु खोला कटान नियन्त्रणका लागि ३५ लाख परेको छ , अरु पनि निरन्तर पहल गरिरहेको छु ।

३. यस वडाको स्वास्थ्य र शिक्षाको अवस्था कस्तो छ ?

हाम्रो वडा सम्पुर्ण कुरामा पछि नै रहेको वडाहो त्यस्तै स्वास्थ्य र शिक्षामा पनि अहिक पछाडिनै छ , अहिले भर्खरै खोप केन्द्र निर्माण सम्पन्न भैसकेको छ । अब स्वास्थ्य चौकी निर्माणका लागि पनि टेन्डर लागि सकेको छ एक बर्ष पछि त्यो सुबिधा पनि दिन सकिने छ , अब वडाको भवन सम्पन्न भए पछि कुनै एउटा कोठामा भए पनि अस्थायी प्राथमिक उपचार कक्ष संचालन गर्ने विचारमा छु । हामी सँग भगवती प्राबी र सरस्वती माबी धनपुरि गरि जम्मा २ वटा मात्र रहेका छन् । मा कम्प्युटर क्लास संचालनका लागि वडाबाट शिक्षक दिएका छौ । आइसिटी ल्याब जडान हुने अवस्था मा छ एउटा भवन निर्माण भैरहेको छ त्यो सम्पन्न भए पछि संचालनमा आउने छ । जम्टोकिमा रहेको एउटा प्राबी स्कुल हामी निर्वाचित हुनु पुर्वनै बन्द भैसकेको थियो त्यो स्कुल पनि आउने शैक्षिकसत्र बाट संचालन गर्ने तयारीमा छु ।

४ .सामुदायिक बिद्यालयको पढाई खस्केको छ नि किन होला ??

– यो एउटा भनाइ नै छ ” सरकारी काम कहिले जाला घाम ” त्यस्तै देखिन्छ । सामुदायिक बिद्यालयका शिक्षकहरू आयोग पास गरेर विभिन्न तालिम लिएर दक्ष भएर आएका छन् तर सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर उठ्न नसक्नु दुखको कुरा छ । साच्चै भन्नू पर्दा शिक्षकहरुको लापरबाही नै हो यो । यहाँ किन यस्तो भैरहेको छ अब तपाईं हामी समुदायले नै निगरानी गर्न सक्नु पर्छ । सिसि क्यामेरा राखेर भए पनि निगरानी गर्नु पर्छ र सामुदायिक बिद्यालयको पढाईलाई माथी उठाउनु पर्छ भन्ने मेरो बिचार छ ।

५. तपाईं निर्वाचित भए यता अहिले तेश्रो बजेट चल्दैछ । ऐन अनुसार पनि सार्वजनिक सुनुवाइ अनिवार्य गर्नु पर्ने हुन्छ तर यस वडामा अहिलेसम्म किन भएन ?

हो यो गर्नै पर्ने काम हो । गत बर्ष मैले चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखेर वडाका सबै क्षेत्रका मानिसहरू बोलाएको थिए । त्यो कार्यक्रमको आसय पनि सार्वजनिक सुनुवाइ जस्तै थियो। बिकास कम भयो भन्ने खालका अलि अलि कुराहरु आए सबैले हेर्ने बिकास नै हो । अहिलेसम्म सार्वजानिक सुनुवाइनै भनेर चाहिँ गरिएको छैन अब यस पटक बिचार गर्दैछु ।

६. सरकारले पनि कृषिलाई प्राथमिकता दिएको छ । तपाईंको वडा त कृषिका लागि पुर्ण योग्य देखिन्छ , यस वडामा कृषि बिकासका लागि के कस्ता कार्यहरु भैरहेका छन् ??

हो कृषि सम्बन्धि निकै योजनाहरु आएका छन् । नगरमा कृषि शाखाले विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु ल्याउने गर्छ , तर सूचना पाएर पनि यहाँका मानिसहरुले नगरपालिका सम्म गएर सेवा लिएको पाइदैन । गत बर्ष पिडारीमा १५ बिगहामा उन्नत जातको धान बाली कार्यक्रम परेको थियो सामुहिक रुपमा खेती गर्नु भयो निकै राम्रो उत्पादन भयो तर यो बर्ष निरन्तरता हुन सकेन । कृषिको बिकासका लागि संस्थागत तरिकाले जानू पर्ने देखिन्छ तर यहाँका कृषकमा त्यो किसिमको सोचाइ कम देखिन्छ । त्यसो हुँदा पहिले कृषकले ब्यबसायिक योजना लिएर आउनु पर्यो हामी उहाँहरुलाइ सरकारले दिने सेवा सुबिधा दिलाउन तयार छौ ।

७ पर्यटन बिकासको के सम्भावना छ वडामा ?

हाम्रो नगर धार्मिक पर्यटकिय नगरको रुपमा चिनिन्छ । तर पनि यस कुरामा पनि पछि नै छ हाम्रो वडा कुनै पर्यटनका सम्भावित ठाँउहरुले खासै छुदैन । हाम्रो ४ नम्बरमा पर्ने आन्द्रामोठ एउटा एतिहासिक मेला हो हामीले त्यसको बिकास संगै अहिले त्यहाँ एउटा ट्रयाक निर्माण हुदैछ जुन रमणीय किसिमले मर्निङ वाल्क पनि गर्न सकिने । साथै ब्याडमिन्टन खेल्ने ठाँउ पनि । त्यो ठाँउ अमाह सिमसार संग जोडिएको ठाउँ पनि हो त्यसैले यहाँ केही सम्भावना छ । साथै यहि क्षेत्रमा होम स्टे पनि संचालन गर्न सकिन्छ कि भनेर अध्ययन हुदैछ । अर्को हो पिडारीमा रहेको कमल पोखरी जुन जडेज माबी कालाबन्जरको मातहतमा रहेको छ । त्यसलाइ पनि स्कुल संग सम्झौता गरेर काम गर्ने हो भने पर्यटकिय स्थलको रुपमा बिकास गर्न सकिन्छ ।

८. यो भन्दा अगाडि एउटा अन्तरास्ट्रिय खेलाडीको रुपमा परिचित हुनुहुन्थ्यो । अहिले जनप्रतिनिधिको रूपमा वडाको नेतृत्व गरिरहनु भएको छ । यी दुई अवस्थालाई कसरी मूल्याकंन गर्नु हुन्छ ?
– म सेनामा रहेर खेलाडीको रूपमा काम गर्दा त्यो बेला भनेको एउटा लगाम लाएको घोडा जस्तो हुदोरहेछ । खेलमा भाग लिने बिजय हासिल गर्ने । नीति नियम र आदेशको पालना गर्ने । तर जनप्रतिनिधि भए पछि ठुलो जिम्मेवारी हुदैरहेछ । सबै तिर ध्यान दिनु पर्ने , सबै क्षेत्रको बिकासका
लागि सोच्नु पर्ने , सबैका कुरा सुन्नु पर्ने । निकै फरक छ ।

९. वडामा जटिल पक्ष के हो ?

बुझाउन अलिक सकिरहेका छैनौ । मान्छेले पब्लिक प्रोपटीको सुरक्षा गर्दैन , कतिपयले सार्वजनिक स्थल बाटा घाटा मिच्ने काम अझै छोडेनन । यहाँका मुसहर समुदाय लगायतका केही मानिसहरुमा त अझ शिक्षाको धेरै कमि छ यसले गर्दा पनि चेतना पनि कम हुन्छ सरसफाइमा पनि अलिक समस्यानै छ ।

१०. सामाजिक जनचेतना अभिबृद्धी गर्ने खाल्का विभिन्न कार्यक्रमहरु पनि आयोजना भएकै देखिन्छ त्यसले के फाइदा दियो त ?

यसको त शुन्य उपलब्धि छ । नगर्दा नि नहुने गर्दा पनि नहुने , हतपत मान्छे कार्यक्रम मै आउदैन , खाजा र भत्ता भए मात्रै आउने तर सुनेको कुरालाई व्यबहारमा नउतार्ने चलन छ । हामीले मात्रै होइन पहिले बाट नै थुप्रै एन जि ओ हरुले पनि काम गर्दै आएका छन् तर रिजल्ट राम्रो आउदैन ।

११. अन्त्यमा वडाबासीलाई केही भन्न चाहानुहुन्छ ?

तपाईंहरुले नै जिताएर पठाएको जनप्रतिनिधि हु म , वडामा आएर तपाईंहरुले वडा बाट पाउने सेवा लिन कुनै असहज भएमा मलाई भन्नु होला । म यो दल त्यो दल नभनी एउटा जनप्रतिनिधिको हिसाबले तपाईंहरुलाई सेवा दिने छु ।

306Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *