हामी वराहक्षेत्रलाई समृद्ध बनाएरै छाड्छौ – मेयर खनाल

सुनसरी जिल्लाको उत्तर पश्चिम अवस्थित वराहक्षेत्र नगरपालिका धार्मिक पर्यटकिय नगरका रुपमा चिनिएको नगर हो । साबिक ५ गाबिस हरु मिलेर बनेको यस नगरको जनसंख्या करिब ८० हजार रहेको छ । २२२.०९ बर्ग कि मि मा फैलिएको यस नगरको पुर्व सिमाना धरान उपमहानगरपालिका , पश्चिम उदयपुर , उत्तर धनकुटा र दक्षिणमा रामधुनी नगरपालिका , भोक्राहा र कोशी गाउँपालिका रहेको छ । प्रस्तुत छ यसै नगरका प्रमुख निलम खनाल सँग यहाँका विभिन्न पक्षमा समृद्ध वराहक्षेत्र साप्ताहिकका प्रकाशक तथा कार्यकारी सम्पादक अच्युत भट्टराईले गरेको कुराकानी ।

१. बराहक्षेत्र नगरपालिकाले भौतिक बिकासका साथ साथै कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्दै आएको छ । यी क्षेत्रमा नगरले सम्पन्न गरेका प्रमुख कार्य हरु के के हुन ?

– दुई ओटा क्याम्पसका भवन निर्माण तिब्र गतिमा अघि बढेको छ । नगरपालिका देखि बाङ्गे हुँदै धरान जाने बाटो कालोपत्रे सहित निर्माण शुरु भएको छ । नगर भित्रका थुप्रै बाटा फराकिलो बनाउने ग्राभेल गर्ने , स्तरउन्नति गर्ने , कलभर्टहरु निर्माण गर्ने भैसकेका छन । कृषि तर्फ गत बर्ष ३६ लाख माछामा अनुदान दियौ , वार्ड न १ मा ४० ओटा टनेला खेती , ४० ओटा पानी संकलन गर्ने प्लाष्टिक पोखरी , ४० गोठ , प्रकाशपुरको ढोलबजियामा कृषि पाठशाला , गोठ सुधार कार्यक्रम , बाझो भैंसी सुधार कार्यक्रम ,पाढापाढी संरक्षण कार्यक्रम , साना सिंचाइ कार्यक्रम जस्ता कार्यक्रम गरेका छौ । अहिले हाम्रो नगरपालिका दूध , मासु , खाध्यान्न , दलहन , तेलहन जस्ता कुरामा आत्मानिर्भर छ भन्ने लागेको छ ।

२. यस नगरलाई धार्मिक पर्यटकिय नगरी भनिएको छ । अन्य प्राकृतिक सौन्दर्यले पनि भरिभराउ नै छ यसको प्रबर्द्धनका निम्ति कस्ता काम हरु अघि सार्नु भएको छ ?

-हामीले अगाडी बढाउने धार्मिक पर्यटननै हो । जसका लागि स्तरीय बाटोको आवश्यकता पर्छ । हाम्रो छिमेकी जिल्ला
उदयपुरमा किरातेश्वर महादेव मैनामैनी हाम्रै जिल्लामा बराहक्षेत्र , बिष्णु पादुका , पिण्डेश्वरी , दन्तकाली , रामधुनी उता धनकुटामा छिन्ताङ्ग देवि जस्ता महत्त्वपूर्ण धार्मिक स्थलहरु रहेकाछन् । त्यस्तै अमाहसिमसार , कोशी टप्पु बन्यजन्तु आरक्षण , सुर्यकुण्ड जस्ता पर्यटकिय स्थलहरु पनि रहेका छन् यी सबैलाइ लिङ्क गराउने खाल्का बाटाहरु निर्माण गर्नु छ , केही कामहरु भैसकेको अवस्था पनि छ । हामी यो वराहक्षेत्रलाइ धार्मिक पर्यटकिय नगरका रुपमा प्रबर्द्धन गर्नका लागि हरेक क्षेत्रबाट लागिरहेका छौ ।

३. देशका विभिन्न ठाउँमा स्वरोजगारका कार्यक्रमहरु चलिरहेका छन् । हाम्रो नगरमा यो सम्बन्धि के छ अवस्था ?

– बिड्म्बना हाम्रै नगरमा स्वरोजगारको अफिसर पनि पठाइएन र गत बर्षको बजेट पनि परेन । यो बर्ष चाहिँ मैले स्वरोजगारको कार्यालयमा कुरा गर्दाखेरी तुरुन्त अफिसर पनि पठाउने र बजेट पनि पठाउने कुरा भएको छ । तर अहिले सम्म आएको छैन । म तत्कालै यसको पहल कदमी गर्दैछु केही दिनमै अफिस खडा हुन्छ ।

४. बेरोजगारको फर्म भर्ने काम त भएकै होला , हाम्रो नगरमा कतिको बेरोजगार रहेछन् ?

– बेरोजगार फर्म धेरै कमले भरेका छन् , बुझेर हो या नबुझेर हो यो मैले बुझ्न सकिन ।

५. सामाजिक बिकासमा निकै बजेट बिनियोन भएको छ तर उपलब्धी कम देखिन्छ किन होला ?

-होइन म यसमा सहमत छु सेमिनार र गोष्ठीमा जाने तर उपलब्धि कम हुने यो भएकै छ । सामाजिक बिकासका लागि विभिन्न किसिमका सीप सिकाइ जनताको दक्षताको बिकास गर्ने साथै जनचेतना अभिबृद्धीका कार्यक्रम चलायौ तर मानिसले सिकेको कुरालाइ ब्यबहारमा लागू गरेन , सीप सिकेर सर्टिफिकेट सिरानिमा हालेर सुतिदिन्छ्न यसरी हेर्दा यो दुरुपयोग भएको देखिन्छ । तर एकदमै चाहिने काम गरेका थियौ ।

६. वर्षा लाग्ने बेलामा काम शुरु हुने । अनि बिकास निर्माणका काम मा फितलो अनुगमन देखिन्छ ।

– यहाँ एक दुई ओटा कुराले अप्ठ्यारो परेको छ । एक त माथिबाट ढिलो बजेट आउने सिस्टमले पनि अप्ठ्यारो पारेकोछ । अर्को समिती गठन गरेर स्टामेट बनाउने सम्झौता गर्ने गरिसक्दा १ महिना त्यसै बित्छ । फेरि कुनै पनि उपभोक्ता समितिलाइ पहिले पेश्की दिने नीति छैन उधारोमा काम गर्नु पर्ने हुन्छ यो पनि एउटा ढिलो हुने कारण हो । त्यस्तै हामी सँग प्राबिधिक पनि एकदमै कम छन , नगरमा जम्मा ४ जना प्राबिधिक हुन एकै पटक ७ सय ५७ ओटा सम्म योजना संचालन भए बिचरा उनिहरु कहाँ कहाँ पुग्न भ्याउन । अर्को अनुगमनको पाटोमा कुरा गर्दा उपप्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत र प्राबिधिक सहित दुइजना कार्यपालिका सदस्य लाई जिम्मेवारी दिएको छ । अब यसमा प्राबिधिक पनि ब्यस्त , उपप्रमुख पनि ब्यस्त र प्रशासकिय अधिकृतले त झनै पुरै नगरपालिका हेर्नू पर्ने हुँदा वहाँ ब्यस्त नहुने कुरै आएन यसैले गर्दा अनुगमन ढिलो भएको हो भन्ने लाग्छ । यो अनुगमन लाई चाहिँ अलिक छिटो बनाउनलाई प्रमुख प्रशासकीय अधिकृतको सट्टा अरु कुनै शाखा अधिकृत लाई जिम्मेवारी दिने हो भने अलिक छिटो हुन सक्छ ।

७. प्राबिधिकको समस्या कहिले हल होला ?

– यो एकदमै आवश्यकताको कुरा छ गत बर्ष हामिले बिज्ञापन पनि खोलेका थियौ तर सरकारले त्यसलाइ रोक्का गरिदियो । उतै बाट पठाउने कुरा गर्यो तर अहिलेसम्म पठाएको छैन सरकारले पठाएको भनेको जम्मा एक जना इन्जिनियर हो अरु आफै राखेका छौ त्यो पनि जबर्जस्ति । खै अब कहिले पठाउछ मैले भन्न सकिन ।

८. प्रतिपक्ष दलको बेला बेला गुनासो आउँछ नगरले ठुल – ठुला जनचासोको बिषयमा पनि हामीलाई सहभागी गराउने सर सल्लाह गर्ने गरेको छैन । के वहाँहरु सँग पनि कहिलेकाही छलफल गर्न मिल्दैन र ??

– होइन मैले यो कुराको आसय बुझेको छु उहाँहरु पहिले संयन्त्रमा बसेर गाबिस चलाए जस्तो सम्झनु हुन्छ । तर अहिले हामी निर्वाचित जनप्रतिनिधि छौ । यहाँ सबै किसिमका जाती बर्गका मानिसहरुको प्रतिनिधित्व रहेको छ , त्यसले गर्दा नगर चलाउने भनेको कार्यपालिकाले हो । यहाँ प्रतिपक्ष दल सँगको सरोकार रहदैन ।

९. अहिले त नगरले बारुणयन्त्र पनि खरिद गरेको छ कसरी बनाउनु भयो यो सोच ?

– यो आवश्यकता चाहिँ हो । तर पनि यसलाई संचालनका लागि ठूलो जनशक्ति लाग्ने र निकै खर्च हुने हुँदा आट गर्न सकिएको थिएन । जब हामीले मन्त्रालयमा थन्क्याएर राखेको गाडी मर्मत गरेर चलाउने शर्तमा ल्यायौ । गाडी किन्न लाई बिनियोजन गरेको पैसालाइ हामीले यो शिर्षकमा सदुपयोग गरौ भन्ने सल्लाह गरेका हौ ।

१०. यहाँका सम्भावना हरु के – के हुन आगामी आ ब मा नगरले कस्ता काम हरु लाई प्राथमिकता मा राख्ला ?
– मुख्य कुरा त यहाँको कृषिनै हो । कृषकलाई ब्यबसायिक खेती तर्फ लगेर उत्पादन बढाउनुका साथै रोजगारी दिन सकिन्छ । पशुपालन माछा पोखरीका लागि पनि योग्य ठाँउ हो , यस्ता किसिमका ब्यबसायलाइ पनि बिस्तार गर्नु पर्छ । त्यस्तै धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रबर्द्धन गरि धेरै पर्यटक हरु भित्र्याएर यहाँ होम स्टे , होटल र अन्य ब्यबसायहरु संचालन गरेर आम्दानी गर्न सकिन्छ । बन जङ्गलहरु बाट जडिबुटी उत्पादन गरेर आम्दानी गर्न सकिन्छ । अहिले निजिक्षेत्रले लगानी गरेर जल यात्रा शुरु गरेर पनि आम्दानी लिन शुरु गरेका छन् । हाम्रो यो कोशी नदि पनि एउटा आम्दानीको श्रोत नै हो ।

वराहक्षेत्र नगरको जटिल पक्ष ( चुनौती ) के हो ?

– सर्दु खोला पट्नाली खोला बाट अनियंत्रित भएर आउने बाढी यसले बेला – बेला ठूलो क्षेती गर्ने गरेको छ यसलाई कङ्क्रीड गरेर खोलालाइ निश्चित धारमा बगाउन सके उपलब्धि हुने थियो । त्यस्तै हाम्रो प्रसिद्ध धार्मिक तिर्थ स्थल वराहक्षेत्र जाने बाटो त बनाइयो तर भिर खरेर अवरुद्ध गर्ने गरेको छ , अहिले पनि यो अवस्था झेलिरहेका छौ । यो भिरलाइ छेक्ने हाम्रो सामार्थ्य छैन । त्यस्तै कोशीको पनि डरै मान्नु पर्ने अवस्था छ । बेला – बेलामा हात्ती आतंक पनि सहनु परेको छ जसले जन धनको क्षेती गरिरहेको छ ।

अन्त्यमा वराहक्षेत्रबासिलाइ के भन्नू हुन्छ ?

– हामी बिकासका सबै पाटाहरुमा काम गरिरहेका छौ । हाम्रो ग्रामिण क्षेत्रले भरिएको नगरलाइ एकैपटक शहर बनाउछु भन्ने कुरा सम्भव छैन । धैर्य गरौ हामीले क्रमागत रुपमा बिकासका कार्यहरु लाई अगाडि बढाइरहेका छौ । तपाईं हामी सबै सकारात्मक भएर अगाडि बढौ हामी वराहक्षेत्र नगरपालिकालाई समृद्ध बनाएरै छाड्छौ । यस अभियानमा आम बुद्धिजीवी समाजसेवी , राजनीतिक कर्मी , युवा , शिक्षक , विद्यार्थी , पत्रकार , जनप्रतिनिधि साथीहरू लगायत सम्पुर्णको साथ र सहयोगको आवश्यकता छ ।

2223Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *