दलित समुदायका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम दिइयो

इटहरी । दलित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास तालिम दिइएको छ ।
इटहरी उपमहानगरपालिकाको सहयोग र साथी फाउण्डेशन इटहरीको आयोजनामा शनिबार इटहरीका २० वटै वडाका दलित महिला सदस्यहरुलाई नेतृत्व विकास तालिम दिइएको हो ।
तालिममा वरिष्ठ पत्रकार एवम् दलित अभियन्ता गणेश लम्सालले सहजीकरण गरेका थिए । पत्रकार एवम् अभियन्ता लम्सालले दलित महिला जनप्रतिनिधिहरुले बोल्न सक्ने क्षमताको विकास गर्नु पर्ने बताए । उनले आफ्नो समुदायका लागि कसरी नीति, कार्यक्रममा छलफल गर्ने भन्ने विषयमा सहभागिलाई सचेत गराएका थिए । पत्रकार लम्सालले भने–‘अब स्थानीय तहको बजेट आउनै लागेको छ, आफ्नो समुदायका लागि धेरै भन्दा धेरै बजेट माग्न सक्नु पर्छ ।’ सहजकर्ता लम्सालले थपे–‘अरुलाई काम गर्न सजिलो बनिदिन मात्र जनप्रतिनिधि हुनुको कुनै अर्थ र औचित्य छैन ।’ उनले समाजलाई छुवाछुतमुक्त गर्ने अभियानको नेतृत्व दलित महिला जनप्रतिनिधिले गर्नु पर्ने सुझाव दिएका छन् ।
तालिममा सहभागि दलित महिला जनप्रतिनिधिहरुले आफूले गरेको कामको बारेमा पनि बोलेका थिए । वडा नम्बर–८ की सिता हरिजनले बाटोको नाम हरिजन मार्ग राखेको बताएकी थिइन् । त्यस्तै वडा नम्बर ३ कि सदस्य निर्मला बिकले वडाबाट एसइई पास हुने दलित समुदायका विद्यार्थीलाई साइकल वितरण गरेको जानकारी दिइन् । उनकाअनुसार दलित बस्तीमा शौचालय निर्माण, खानेपानी वितरण, स्वास्थ्य विमा कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ ।
साथै वडा नम्बर १ सदस्य विष्णु नेपाली (ठटाल)ले समाजमा मेलमिलापको भूमिकामा सक्रिय रहेको बताइन् । सहभागि प्रायले वडाका विभिन्न टोलमा जनचेतनामुलक कार्यक्रम संचालन गरेको बताएका थिए । कोहीले भने आफूले कार्यक्रम संचालन गर्न नसक्दा अर्को संस्थालाई सुम्पिन बाध्य भएको बताएका थिए ।
तालिममा ४ नम्बर वडा अध्यक्ष चन्द्र भट्टराईले इटहरी उपमहानगरले आगामी बर्षका लागि लक्षित समुदायको लागि ४ करोड बजेट विनियोजन गर्न लागिएको जानकारी दिएका छन् । उनले दलित जनप्रतिनिधिहरुलाई बजेट माग गर्न आउन आग्रह गरे । उनले दलित जनप्रतिनिधिहरुको असल नेतृत्व विकासमा जोड दिएका छन् ।
तालिममा सरस्वती माविका प्रधानाध्यापक लेखनाथ भट्टराई, प्याब्सनका प्रतिनिधि थानेश्वर ढकाल, सहकारीकर्मी दिनेश भट्टराई, वडा सदस्य लक्ष्मी शर्मा चापागार्इं, वडा सदस्य पार्वती बराइली, दलित समन्वय समिति इटहरी अध्यक्ष राजकुमार गजमेरलगायतले दलित हकअधिकार साथै नेतृत्वबारे बोलेका थिए ।
कार्यक्रमको सभापतित्व साथी फाउण्डेशनकी अध्यक्ष शान्ति गजमेरले गरेकी थिइन् भने संचालन पत्रकार पिवी दियालीले गरेका गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *