हामीले नेता जन्माउनु पर्छ, शासक हैनःआहुती

इटहरी । वैज्ञानिक कम्युनिष्ट पार्टी नेपाल १ नम्बर प्रदेश समितिले नेपालमा कम्युनिष्ट पार्टीको भविष्य विषयमा शनिबार इटहरीमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय संयोजक विश्वभक्त दुलाल (आहुती)ले भविष्य कम्युनिष्टहरुकै रहे को बताए । उनले पुंजीवादी पार्टीहरुको भविष्य संकटमा परेको बताए । आहुतीकाअनुसार पुंजीवादी व्यवस्था अहिले संकटमा छ ।
उनले नेपालमा कम्युनिष्ट पार्टी निर्माणको तरिका गलत भएको टिप्पणी गरे । यस्तो गल्तीले देश समृद्धिमा बाधा पुग्ने उनको भनाइ थियो । उनले भने–‘पुंजीवादी र कम्युनिष्ट पार्टीले संगठन गर्ने तरिका एउटै भयो ।’ त्यै भएर अहिलेको समस्या उत्पन्न भएको छ । उनले थपे । आहुतीले भने–‘जनताले शासन गर्नु पर्छ, नेताले वैचारिक र सैद्धान्तिक पक्षको नेतृत्व गर्नु पर्छ ।’ आहुती थप्छन्–‘हामीले नेता जम्माउनु पर्छ, शासक हैन ।’ नेतृत्व निरंकुश बन्न नहुने भन्दै उनले बैचारिक नेताले मात्रै जनताको सेवा गर्न सक्ने कुरामा जोड दिए । उनले बताएअनुसार कम्युनिष्ट नेताहरुको गल्तीकाकारण कम्युनिष्ट सत्ताहरु ढलेका हुन् ।
सो कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका केन्द्रीय सदस्य गणेश कटवालले नेपालका कम्युनिष्ट पार्टीहरुले भविष्य बनाउने हो भने निरन्तर संघर्ष जारी राख्नु पर्ने बताए । उनले नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्ज्वल रहेकोमा जोड दिए । नेता कटुवालले समृद्ध नेपाल क्रान्तिकारी कम्युनिष्टहरुले मात्र बनाउन सक्ने दावी गरे । उनले भने–‘राष्ट्रियता संकटमा छ, त्यसलाई जोगाउने दायित्व क्रान्तिकारीहरुको हो ।’ उनले नेपालमा जनवादी क्रान्ति हुनु पर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेको जनाए ।
त्यसैगरी, प्रगतिवादी साहित्यकार कुन्ता शर्माले आफूले वामपन्थी आन्दोलनमा दिएको योगदानको स्मरण गरिन् । उनले आफ्नो लामो अनुभव सुनाउदै भनिन्–‘नेपालका कम्युनिष्ट एक हुनु पर्छ, त्यसले मात्र नेपाल समृद्ध बनाउन सक्छ ।’ कार्यक्रम संयोजक राजकुमार हिङ्गमाङ्गले समाजमा वर्ग रहेसम्म कम्युनिष्ट आन्दोलन जारी रहने बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *