इटहरी पालिकाले नदेखेको विकास

      श्रीप्रसाद पोखरेल

हिजो आज विकासको चर्चा मात्र होइन लहरै चलेको छ । चिया पसल देखि सेमिनार हलसम्म , गाँउदेखि शहरसम्म , स्थानिय सरकारदेखि संघिय सरकार सम्म बिकास र समृद्धिका चर्चा परिचर्चा, सम्बाद , मिटिङ, गोष्ठी , सेमिनार आदि दिनमा मात्र नभएर रातमा पनि सञ्चालन भइरहेका छन् । यसको चटारोले न जन प्रतिनिधिलाई फुर्सद छ न त कर्मचारीलाई न त विकासे नेतालाई ।
वास्तबमा विकास भनेको के हो ? कुन कुन क्षेत्रमा सुधार वा विकास भए समृद्धि हासिल हुन्छ र विकास भएको महसुस हुन्छ ? वास्तवमा यस कुरालाई केलाएर हेर्ने हो भने के गर्दा र कसरी राष्टूको सन्तुलित समग्र विकास हुन्छ भन्ने कुरा गम्भीर छलफल गर्नु पर्ने विषय हो । कुन खालको विकासले समग्र समाजलाई आन्तरिक र बाह्य रुपमा सुन्दर बनाउँछ तथा तमाम जनतालाई विकासको महशुस गराउँछ । कृषिमा लगानी भयो तर खेलकुदमा भएन भने खेल प्रेमीले विकास महसुस गर्दैनन् , पर्यटनमा लगानी भयो तर सञ्चारमा लगानी नहुँदा सञ्चार क्षेत्रमा असन्तुष्टि देखापर्छ । कला क्षेत्रमा लगानी भयो तर भाषा साहित्यमा लगानी नहुँदा सुन्निएको मानिसलाई मोटाएको देखे जस्तै हुन्छ । यसर्थ विकास समानुपातिक,समग्र र अर्थपूर्ण हुनुपर्छ । विकास भनेको बाटो बन्नु मात्र नभएर कृषि, उद्योग, पर्यटन, ब्यबसायका साथै मानवीय चिन्तन,चेत र चरित्रमा पनि हुनु पर्ने परिवर्तन आउनु वा ल्याउनु हो । पक्का घर र कालो पत्रे सडकलाई मात्र विकास देख्दा मानव जीवनको भौतक पक्ष समुन्नत होला तर बौद्धिक समुन्नति किमार्थ हुनसक्तैन । त्यसैले धेरै जसो विकसित देशहरुले शिक्षा तथा कला,साहित्यमा ठूलो लगानी गरेका हुनाले नै तिनले समृद्धिको पाइला चालेका हुन् ।
भाषा मान्छे मान्छे बिच भावना साटासाट गर्ने सशक्त तथा प्रभावकारी माध्यम हो भने, संस्कृति भनेको भौतिक र आत्मिक हुन्छ । आत्मिक संस्कृति अन्तर्गत मानिसका ज्ञान, चिन्तन, चेत, भावना, सोच र समझ जस्ता अत्यन्त महत्वपूर्ण पक्ष हुन् । भौतक रुपले सुख सुविधापूर्ण तथा आर्थिक रुपले उच्च समृद्ध भए पनि त्यहाँ बस्ने मानिसको चेत, चिन्तन र चरित्र भने जातिपाती, घोर अन्धविश्वासी छुवाछूत र अनेक खाले असमानता पक्षधर छ भने त्यसलाई कसरी विकसित मानव र समाज भन्न सकिन्छ ? गणतन्त्र कालमा सामन्तवादी कालका र हालसम्म पनि रहेका त्यस समाजका तमाम पछौटे चिन्तन हटाउन सक्नुपर्छ । संस्कृति भनेको मानिसका भौतिक र बौद्धिक श्रमबाट सिन्चित कुरा हो । मानिसले आफ्ना हित,सुख र सन्तुष्टिका लागि निर्मित विषय नै संस्कृति हो । श्रमबाट थकित गलित भएपछि पुनर्ताजगी प्राप्त गर्न मानिसले अनेक रमाइला खानपान र आराम गर्न पर्वको सुरुवात गरेको हो । समय क्रममा तिनै पर्व दशैँ,तिहार,जितिया,फागु आदिका रुपमा विकसित भएका हुन् ।
साहित्य र धर्मलाई समाजको उपरि संरचना भनिन्छ । समाजमा जे जस्तो आर्थिक, राजनीतिक तथा उत्पादन सम्बन्ध हुन्छ, त्यही जगमा तदनुसारको साहित्य,धर्म र संस्कृतिको निर्माण हुने गर्छ । सामन्तवादी समाजमा चरम रुढीवादी, अन्धविश्वासी तथा राजालाई देउताको अवतार ठान्ने र मान्ने तर आम श्रमिक तथा महिलाहरुलाई घोर उपेक्षा गर्ने जस्ता संस्कृतिको जगेर्ना गरिन्छ तर लोकतन्त्र वा गणतन्त्रमा भने जनता सर्वोपरि हुन्छ मानिन्छ तर पनि नेपालमा सामन्वादी चरम पछौटे चिन्तनले अझै घेरेको देखिन्छ । यस खालको चरम पछौटे चिन्तन हटाउन कला, साहित्य, संगीत तथा संस्कृतिको सर्वोपरि भूमिका हुन्छ । सामन्तवादी समाजले संस्कृतिलाई आफ्नू सत्ता,स्वार्थलाई हित हुने अनुकूलको संस्कृति निर्माण र प्रबर्धन गर्छ । यसले जनता शिक्षित र सचेत नहुन् भनेर बहुतै ध्यान दिन्छ , भाग्यवाद र पुर्पुरोवादलाई स्थापित गर्छ । राजा महाराजा र ठूला ठालूहरु पूर्वजन्मका कर्मले र भाग्यले ठूला भएका हुन्,त्यसैले अहिले आफूमाथि जतिसुकै अन्या र अत्याचार भए पनि सहनुपर्छ । अहिले सुख पाएइएन भने
अर्को जन्ममा स्वर्ग सरहको सुखभोग गर्न पाइन्छ भनेर पण्डित, पुरोहित, बुर्जृुवा तथा कथित भद्र भलाद्मीले बार बार हजार बार पुराण सुनाउँछन् र व्याख्यान गर्छन् । यस्तो क्रम हजारौँ वर्षदेखि हुँदै आएको छ । अहिले पनि चार पत्रिकामा एउटै राशिको चार थरि राशिफल छापिएको हुन्छ अनि प्रायः शिक्षित समुदाय पनि त्यही राशि फल हेरेर त्यसमा पत्यार गर्छन् । भाग्य फलति सर्वत्र न विद्या न च पौरुषम् अर्थात् संक्षेपमा भाग्यमा छ भने डोकाम दूध दुहे पनि अडिन्छ । अब पनि यस्ता कुप्रथा मानेर र पालेर मानिसको चेत सद्दे हुन्छ ? तर देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक सरकार, सत्ता, समाज, सर्जक तथा संस्कृति कर्मीले पछौटे संस्कृतिमा क्रमशः परिष्कृत तथा परिमार्जित गर्दै लानुपर्छ । यसो गर्दा मात्र समाजको सोच र चिन्तन अग्रगामी हुन्छ । र समाज क्रमशः अगाडि बढ््छ ।
अब मानिसले सदियौं देखि अगाँली आएको संस्कृति र परम्परालाई परिष्कृत गर्दै नलाने हो भने हामीले निर्माण गरेका भौतिक संरचना विकास एकाङ्गी,अधूरो र अपूरो हुन्छ । यस्तो विकासले विकासको समग्रता समेट्न सक्दैन । यसर्थ भौतिक विकासका साथै हामीले हाम्रा कला, साहित्य, संगीत, नृत्य, नाट्य, धर्म तथा संस्कृितलाई समय अनकूल परिष्कृत गर्दै लानु पर्दछ । अहिले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक युगमा प्रवेश गरेपछि त्यस अनुसारको संस्कृतिलाई प्रोत्साहित गरियो भने मात्र गणतन्त्र सुदृढ हुनसक्छ । स्थानीय सरकार होस् वा प्रादेशिक सरकार वा संघीय सरकारले होस् आफ्ना कार्यक्रम तय गर्दा तत् विषयका विज्ञसँग परामर्श लिएर योजना बनाउनु बाञ्छनीय हुन्छ ।
अहिले स्थानीय सरकार देखि प्रदेश सरकारको कामको चटारो भनेकै बजेट तयार गर्नु हो । जहाँ सम्म कतिपय स्थानीय सरकारका जन प्रतिनिधिलाई यस्ता सामाजिक परिष्करणका कुराको हेक्कै हँुदैन र यी क्षेत्रमा बजेट बिनियोजन गर्न कञ्जुस्याँई गर्दछन् । जसको असर उनीहरुले गर्ने विकास निर्माणमा पनि पर्न जान्छ र विकास अधुरो हुनजान्छ ।
नेपालको संविधान २०७२ मा स्थानीय तहलाई भाषा, कला, साहित्य र संस्कृति जसले समाजको रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा संस्थागत भौतिक आर्थिक व्यबस्था गर्ने अधिकार किटान गरेको छ । केही नगर पालिका यी विषयमा सचेत देखिएका छन् र ५०औं लाख रुपियाँ बजेटमा विनियोजन गरेका छन् तर इटहरी जस्तो नगर पालिका भने यस्ता सम्वेदनशील विषयमा समयमा योजना बनाएर काम गर्ने कुरामा चुकेको देखिन्छ । स्रष्टा भनेका परिर्तनका संवाहक हुन् भन्ने कुरा स्थानीय सत्ता र तिनका अभियन्ताले बिर्सन हुदैन । २०७६ साल जेठ ४ गते नगर प्रमुखलाई सम्बोधन गरेर इटहरीका अग्रज सर्जकहरुले यही आर्थिक वर्षको बजेटमा नीति र विधि सहित यस क्षेत्रको उत्थानमा काम गर्न ज्ञापन पत्र दिएको थियो । अब पनि यस विषयमा पालिकाले ध्यान नदिए कलाकार र साहित्यकार सडकमा आउन सक्ने पनि उल्लेख गरिएको छ । तसर्थ यस विषयमा ध्यान पुगोस् भन्ने पनि यस लेखकको आग्रह हो । भाषा, कला, साहित्य, संगीत पनि मानवीय जीवनका आन्तरिक तथा बौद्धिक विकासका अत्यन्त महत्वपूर्ण क्षेत्र हुन् र यी क्षेत्रमा बजेट बिनियोजन नभए समाज लँगडो हुन्छ भनिन्छ नि साहित्य संगीत विहीन मानिस सिङ र पुच्छर बिनाको पशु हो । इटहरी उपमहानगर पालिकालाई उपर्युक्त अनसारको समाज नबनाउँ ज्ञापन पत्रमा इटहरी नगरका सबै
प्रमुख पार्टीहरुलाई पनि बोधार्थ दिइएको हुदा सबैले यस विषयमा गम्भीर भएर सोचौँ । २०७६ जेठ २० गते साहित्यिक समूहकोे वैठकले नगर प्रमुखसित यस विषयमा कुरा कानी गर्न निर्देश गरेश अनुसार जाँदा मेयर चौधरीले इटहरीको स्रष्टाहरुको तर्फबाट बजेट अगावै प्रस्ताव पेश गर्न भन्नु भएको हुँदा यस विषयमा सघन छलफल गरी काम अगाडि बढाउनु पर्ने देखिन्छ । लेखक इटहरी साहित्यिक समूहका नव निर्वाचत अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *