गजल

अच्युत भट्टराई – बराहक्षेत्र , सुनसरी

किन हो तिमिले मलाई जिस्काएको मन पर्छ ।
जिस्काउदै मायामा माया मिसाएको मन पर्छ ।

तपाईं , हजुर अरु के के सबै सम्बोधन छाडेर
तिमिले मलाई तिमी भनेर बोलाएको मन पर्छ ।

कहिलेकहीँ अन्जानमा बाटाहरु बिराउदा मैले
तिमिले बिरायौ भनी मलाई सिकाएको मन पर्छ ।

ब्यस्तताले गर्दा भेट नहुदा समय दिन नसक्दा
यस्तै रहेच भनी आफै चित्त बुझाएको मन पर्छ ।

कुनै कुनै बेला नजिक नहुदा भेट्न नपाउदा
परै बाट आँखा जुधाएर मस्किएको मन पर्छ ।

मुटु भित्र गुम्साएर राखेका ती सबै भावनाहरु
भेट भएको बेला मनको गाठो फुकाएको मन पर्छ ।

२०७६ / २ /१५

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *