जातीय छुवाछुत विरुद्धका पदयात्री टोली इटहरीमा

इटहरी । जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जागृत गर्ने उद्देश्यले ५० दिनअघि महाकालीको दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोली सुनसरीको इटहरी आइपुगेको छ । अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारको टोली इटहरी आइपुगेको हो ।
सो टोलीसँग आइतबार छुवाछुत विषयमा छलफल गर्ने इटहरीका दलित अगुवाहरुले तयारी गरेका छन् । दलित अगुवा अमर बराइलीको अगुवाईमा अभियन्तालाई स्वागत तथा प्रोत्साहन गर्ने तयारी बैठक शनिबार बसेको छ । बैठकमा संविधानसभा सदस्य अनिता परियारले दलित आन्दोलनको शैली परिवर्तन गर्नु पर्ने बताइन् । छुवाछुतको विषय दलितहरुको मात्र नभएर सबैको सरोकारको विषय बन्नु पर्ने उनको जोड छ । अभियन्ता अशोक दर्नालले अहिलेसम्म ८२ घर दलित परिवारसँग भेटेर कुराकानी गरिसकेको बताए । त्यसैगरी अर्का अभियन्ता होमराज आचार्यले ठुला होटलमा कार्यक्रम गरेर मात्र छुवाछुतको अन्त्य नहुने बताए । छुवाछुत अन्त्यको लागि बनेका कानूनको कार्यान्वयन महत्वपूर्ण पक्ष हो–उनले भने । बैठकमा भेला भएका दलित अगुवाहरुले यो अभियान छुवाछुत अन्त्यको लागि एउटा अवसर भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *