सामुदायिक बिद्यालयको कमजोरीको फाइदा निजि बिद्यालय लाई

– अच्युत भट्टराई ।

केही अभिभावक जो ठुला विल्डिङ , ठुला गाडीमा आफ्ना बाल बच्चा पठाएर महंँगो फी तिरिदिएपछि आफ्ना बच्चाहरुले गुणस्तरीय शिक्षा पाउछन् भन्ने विश्वासमा छन् । त्यस्ता अभिभावकका बच्चा पढाइमा जहिले पनि पछि पर्छन् । राम्रा स्कुलको खोजीमा विद्यार्थीलाई घरबाट निकै टाढाको स्कुलमा पठाउदा उनीहरूले धेरै समय गाडीमै बिताउनुपर्छ । बिहान छिटै घरबाट हिँंड्नुपर्दा र बेलुका अबेर घर फर्किंदा उनीहरूले पढाइमा समय दिन सक्दैनन् । नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान शुरु भएको छ । सामुदायिक विद्यालयमा विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउने अभियान चलिरहेको छ । सामुदायिक बिद्यालयमा न्यून विद्यार्थी भए पछि सरकारले एउटा नयाँ उपायको पनि खोज गर्यो तर त्यो लागू भएको देखिदैन । सरकारी जागीर खानेका बच्चा अनिवार्य सामुदायिक बिद्यालयमा पढाउनै पर्ने भनिएको छ । तर उनिहरुनै महँगा निजि बिद्यालय छनौट गर्दै हिडिरहेका हुन्छन् । न्यून मध्यमबर्गिय अभिभावक लाई भने निजी विद्यालय छनौट र शुल्कले पिरोलिरहेको छ । निजी विद्यालयले बर्षेनि शुल्क बृद्धि गराएको अभिभावकहरुमा गुनासो छ । विद्यालयका सञ्चालक भौतिक पुर्वाधारहरु थप , शैक्षिक सामाग्रीहरु र शिक्षाको गुणस्तरका साथै अन्य लगानीका कुरा गर्छन् । सरकार विद्यालयको अनुगमन र शुल्क निर्धारण कुरा यसै बेला गर्छ । हेर्दा निकै कडाइ गरेजस्तो देखिन्छ । तर केही दिनपछि यी सबै सेलाएर जान्छन् । केही दिन असन्तुष्टि देखाए पनि अन्ततः निजी विद्यालयले तोकेको शुल्क तिर्न अभिभावक बाध्य हुन्छन् ।
निजि विद्यालयहरुले आफ्नो बिद्यालयको स्तरका आधारमा भर्ना शुल्क , मासिक शुल्क साथै बिबिध शुल्क असुल्ने गरेका छन् । बार्षिक शुल्क एकमुष्ट तिर्न चाहाने अभिभावक संग उनिहरुले बर्ष भरिको शुल्क लिए पनि बिचमा अन्य विभिन्न किसिमका शुल्क अशुल्न छोडेका हुदैनन् ।
यतिमात्र नभएर निजी विद्यालयले किताव , कापी , पेन्सिल, झोला र पोशाकको पनि उत्तिकै व्यापार गर्छन् । विद्यालयबाटै वा तोकेको पसलबाट यी सामग्री खरिद गर्नु पर्ने हुन्छ । हेर्दा अभिभावक र विद्यार्थीका लागि विद्यालयले एकै ठाउँमा सबै समान सहज उपलब्ध गराएर सजिलो जस्तो देखिए पनि खास कुरो त्यसबाट आउने कमिसनको कुरा हो । मन्टेश्वरी विधि बाट पढाइने भनिएका सानो कक्षादेखि उच्च शिक्षासम्म ठगी धन्दा बढिरहेको छ ।अर्कोतिर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागेको अवस्था लाई हेर्ने हो भने निजी विद्यालयले शिक्षामा दिएको योगदान लाई उच्च मुल्यांकन गर्नु पर्ने हुन्छ । निजि बिद्यालय नहुने हो भने सबै सामुदायिक विद्यालयले विद्यार्थीको भार थेग्न सक्ने अवस्था पनि छैन ।अभिभावकलाई विद्यालय रोज्ने अधिकार छ । आफ्ना छोराछोरीको शिक्षाका लागि कति खर्च गर्ने र कस्तो सुविधा भएको विद्यालयमा पढाउने भन्ने कुरा उसको स्वतन्त्रता हो । तर शिक्षा नागरिकको नैसर्गिक अधिकार पनि हो । सबैले शिक्षा लिन पाउनु पर्छ र जुनसुकै विद्यालय पढे पनि योग्य जनशक्ति उत्पादन हुनुपर्छ । तर अहिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएकोले आफ्नो बाल बच्चाको भविष्यप्रति चिन्तित हुने र केही लगानी गर्न सक्षम हुने अभिभावक निजी विद्यालयमै जानुपर्ने बाध्यात्मक छ ।
तर यो बाध्यताको फाइदा निजी विद्यालयका सञ्चालकहरुले उठाइरहेका छन् । निजि लगानीमा संचालन गरेको ब्यबसायको मुनाफा खोज्नु अस्वभाविक नहोला तर यसको पनि निश्चित सीमा हुन जरुरी छ । शिक्षा दिने नाममा अभिभावकको शोषण हुनु हुदैन । निजि बिद्यालयले
शुल्क अनुसारको शिक्षा दिएको छ छैन यसको अनुगमन पनि प्रभावकारी हुनुपर्छ । त्यस्तै सामुदायिक बिद्यालयमा पनि सरकारले निकै लगानी गरेको छ । तर त्यो लगानी बालुवामा पानी बनिरहेको छ । सरकारले सामुदायिक बिद्यालयलाइ तत्काल कडाइ नगर्ने हो भने बर्षौ बिते पनि हालको अवस्थामा परिवर्तन नआउन सक्छ ।

71Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *