१५ बर्षीय किरण कार्कीढोलीको प्रहरी हिरासतमा मृत्यु प्रकरणको छानविन गर्न माग

काठमाडौं । जात व्यवस्था उन्मुलन मोर्चाले झापाका किरण कार्कीढोलीको हिरासतभित्रै मृत्युको घटनाको छानविनको माग गरेको छ ।
जात व्यवस्था उन्मुलन मोर्चा नेपालका केन्द्रीय संयोजक राजकुमार हिङ्गमाङ्गले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको छानविन गरी दोषीलाई कार्बाहीको माग गरेका हुन् ।
झापा मेची नगर नगरपालिका वडा नम्बर ६ निवासी किरण कार्कीढोलीको विर्तामोडको इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको थियो । विज्ञप्तिमा जनाइएअनुसार–उनी चोरीको आरोपमा २०७५ चैत्र २९ गते पक्राउ परेका थिए । प्रहरीले २०७६ बैशाख गते २ गते किरण कार्कीढोलीलाई मृत अवस्थामा घरमा बुझाउन लगेको थियो । उनको मृत्यु बैशाख १ गते राति भएको थियो ।
संयोजक हिङ्गमाङ्गले गणतन्त्र प्राप्तिपछि पनि दलितहरुमाथि हत्या, हिंसा नरोकिनु निन्दनीय भएको बताएका छन् । उनले भनेका छन्–‘गणतन्त्रमा पनि दलितहरुमाथि राणाकालीन व्यवहार भएको छ ।’
पीडकलाई कार्बाहीको दायरमा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन सम्पूर्ण दलित संघ, संगठन अग्रसर हुनु पर्ने उनको भनाइ छ । साथै उनले देशैभर दलित समुदायमाथि भइरहेका विविध प्रकारका अन्याय, अत्यचारविरुद्ध एकताबद्ध हुन पनि आग्रह गरेका छन् ।
किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको १० दिनपछि मात्र झापाका राजनीतिक दलहरुले चासो देखाउदै घटनालाई त्रुटिपूर्ण भनेका छन् ।
दलित अधिकारकर्मी टीका मग्रातीले यस्तो गम्भीर घटनाको अध्ययनका लागि राष्ट्रिय मानव अधिकार आयोग संवेदनशील नभएको बताए । आयोगको प्रदेश १ कार्यालयका प्रमुख मोहनदेव जोशीले भने प्रहरीसँग कागजात मगाएर अध्ययन सुरु गरेको जनाएका छन् ।
हिरासतमा राखिएका बालक (किरण कार्कीढोली) को शंकास्पद मृत्युलाई उनका परिवारले हत्या भएको दाबी गरेको छ ।
प्रहरीले भने किरण हिरासतको बाथरुममा झुन्डिएर मरेको जनाएको छ । तर, उनको मृत्यु झुन्डिएर नभएर प्रहरीको चरम यातनाबाट भएको किरणका बुवा रमेश कार्कीढोलीले दाबी गरेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी सुवास खड्कालेबालकले हिरासतमा आत्महत्या गरेको दाबी गरेका छन्। प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएर काम सुरु गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *