किसान कल्याण बैंक स्थापना गर्नु पर्छ ः राज्यमन्त्री रामकुमारी चौधरी

इटहरी । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले किसान कल्याण बैंकको स्थापना गर्नु पर्ने बताएकी छन् । सुनसरीको इटहरी मा शुक्रबार आयोजना गरिएको अभिमुखीकरण गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन उनले किसानलाई सहुलीयत दिन यस्तो बैंक स्थापना गर्नु पर्ने बताएकी हुन् । कार्यक्रमको आयोजना नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, विराटनगरले गरेको हो ।
उनले किसान कल्याण बैंकमा किसानहरुलाई शेयर दिनु पर्ने बताइन् । यस्तो बैंकको स्वामित्व कृषि तथा पशुपंक्षी मन्त्रालयले लिनु पर्ने उनको भनाई थियो । यस्तो बैंकबाट स्थापना गरेर सबै वर्गका किसानलाई सहुलीयतमा ऋण उपलब्ध गराउनु पर्ने कुरामा उनले जोड दिइन् ।
साथै उनले नेपालको कृषिलाई जोगाउन जग्गा प्लटिङ्गलाई तुरुन्त रोक्नु पर्ने बताइन् । जमिनको खण्डीकरण रोकेमात्र नेपाल कृषि प्रधान देश हो भन्ने पहिचान जोगिने उनको भनाई थियो । उनले भूउपयोग कानूनको मस्यौदा संसदमा पेश भएकोसमेत जानकारी दिइन् । तर, यो मस्यौदाप्रति चलखेल भइरहेको उनको भनाइ थियो । यो मस्यौदा पास गराउन जनप्रतिनिधिलाई सचेत गराउन पनि उनले आग्रह गरिन् ।
उनले साना किसानलाई जिविकोपार्जनको वातावरण सरकारले तयार पारिरहेको बताइन् । मध्यम किसानले आयात रोक्ने गरी उत्पादनमा बृद्धि गर्नु पर्ने र ठुला किसानले समाजवादको आधार तयार गर्नु पर्ने उनको भनाई छ । उनले किसानहरुलाई भैंसी पालन र बाख्रा पालनमा जोड दिन सुझाव दिइन् । देखासिकी प्रवृतिलाई किसानहरुले त्याग्नु पर्ने उनको भनाई थियो । उनले किसानले उत्पादन गरेको नेपाली कृषिजन्य वस्तुको निर्यातको लेखाजोखा पारदर्शी बनाउन कर्मचारीलाई निर्देशनसमेत दिइन् । उनले भनिन्–‘नेपाली कृषिजन्य वस्तु निर्यात कुखुलो हुँदा आयात बढी देखिने गरेको छ ।’
स्थानीय तहमा कृषिको लागि पठाइएको वजेट कृषिमै खर्च गर्ने वातावरण बनाउन उनले नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समिति प्रमुखलाई आग्रहसमेत गरिन् । तीन तहका सरकार (स्थानीय, प्रदेश र संघिय) ले किसानको जिवनस्तर बृद्धि गर्न समन्वय गर्नु पर्ने उनको जोड थियो । तीन तहका सरकारले एक अर्कालाई दोष लगाउनु भन्दा पनि आ–आफ्नो अधिकार क्षेत्रका आधारमा काम गर्नु पर्ने सुझाव उनको छ ।
देशभर २८ जिल्लामा यो कार्यक्रम सञ्चालनमा छ । प्रदेश १ मा भने ७ जिल्ला पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, सुनसरी र उदयपुरमा यो कार्यक्रम संचालनमा ल्याइएको छ । कार्यक्रममा धनकुटा जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुहान, उदयपुर जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियार, सुनसरीको दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदारले कृषि क्षेत्रमा बजेट वृद्धि गर्नु पर्ने सुझाव राखेका थिए । सहभागि किसानहरुले भने तीनै सरकारका कार्यक्रम किसान लक्षित हुनु पर्ने सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *