समय खेर नफाल्न मुख्यमन्त्री राईद्वारा निर्देशन

 

विराटनगर/प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चालू आर्थिक वर्षको बाँकी रहेको समय खेर नफाल्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रदेश सरकारका मन्त्री र सचिवहरूसँग कामको प्रगतिका विषयमा मन्त्रिपरिषद्मा आज भएको बैठकमा उहाँले चौमासिक प्रगति माग गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले पाक्षिक रूपमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई प्रगति समीक्षा गर्न निर्देशनसमेत दिनुभयो । उहाँले प्रत्येक महीना कामको प्रगति विवरणबारे मुख्यमन्त्री कार्यालयमा छलफल गर्नुपर्ने बताउनुभयो । नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले भन्नुभयो, “अरूबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको अन्त्य गर्नुपर्छ । दृढ इच्छाशक्तिका साथ काम गर्र्नुपर्छ । कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति बिगार्नु हुँदैन ।” मुख्यमन्त्री राईले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उत्पादनमूलक, रोजगार तथा आयमूलक क्षेत्रमा खर्च गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो । उहाँले सबै सचिवलाई आ–आफ्ना मन्त्रालयबाट सम्पादन हुने काममा रुचिका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *