उद्योग वाणिज्य संघ इटहरीद्वारा करदाता सेवा कार्यालय इटहरी परिषरमा हेल्प डेक्स सञ्चालनमा, व्यापारीहरुले भने–यो राम्रो काम हो

शिव भट्टराई
इटहरी । उद्योग वाणिज्य संघ इटहरीले शुक्रबारबाट करदाता सेवा कार्यालय इटहरीमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
इटहरी–१० मा रहेको करदाता सेवा कार्या लय परिषरमा व्यवसायीका कामलाई सहज बनाउन हेल्प डेक्स (सहायता कक्ष) सञ्चालनमा ल्याइएको हो । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले १ जना कर्मचारीसहित हेल्प डेक्स स्थापना गरिएको बताए । उद्योग वाणिज्य संघले नै उनलाई तलब खुवाउनेछ ।
व्यवसायीले कुनै नयाँ फर्म, कम्पनि, व्यापारिक प्रतिष्ठान, दर्ता गर्नु परेमा उक्त सहायता कक्षबाट सहजीकरण हुनेछ । साथै व्यवसायीहरुलाई कर तिर्नको लागि पनि हेल्प डेक्सबाट सहजीकरण गरिने वरिष्ठ उपाध्यक्ष विष्टको भनाइ छ । उपाध्यक्ष विष्टले भने–‘हेल्प डेक्सका कर्मचारीले करबारे परामर्शसमेत दिनेछन् ।’ व्यवसायीले करदाता कार्यालयमा कुनै समस्या भोग्न नपरोस भन्ने उद्देश्यका साथ डेस्कको स्थापना गरिएको हो । नयाँ व्यवसायीलाई दर्ता, कागजात बनाउन लगायतको समस्यालाई ध्यानमा राखेर डेस्कको स्थापना गरेको उद्योग वाणिज्य संघका नेताहरुको भनाइ छ । दैनिक सेवाग्राहीको भिड हुने गरेकोकारण आवश्यक पर्ने सम्पूर्ण सेवा करदाताले दिन नसकिरहेको बेला उद्योग वाणिज्य संघलाई आग्रह गरेको र उद्योग वाणिज्य संघबाट सहयोग भएको कर कार्यलयका प्रमुख फडिन्द्र सुनुवारले बताए । कार्यालयले व्यवसायिक फर्म अन्तर्गत २७ हजार पाँच सय र व्यक्तिगत तर्फ ८ हजार पाँच सय करदाता रहेको कार्यालयले जनाएको छ । दैनिक करदाता बृद्धि भइरहेको बेला यो डेस्कले सहयोग गर्ने कार्यालयले अपेक्षा गरेको छ ।
हेल्प डेक्स सञ्चालनमा ल्याएपछि इटहरीका व्यवसायीहरुले खुसी व्यक्त गर्दै उद्योग वाणिज्य संघले राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् । हेल्प डेक्स राखेको थाह पाएपछि इटहरी–९ मा माता पाथिभरा फेन्सी स्टोर सञ्चालन गर्दै आएका आदित्य अग्रवालले अब आफूलाई सेवा लिन सजिलो हुने विश्वास व्यक्त गरेका छन् । उनले भने–‘यस्तो हेल्प डेक्सबाट समयको बचत र कर सेवामा आधुनिकता आउने छ ।’ त्यसैगरी इटहरी–६ मा व्यवसाय सञ्चालन गर्दै आएका सिद्धकाली इम्पोरियम प्रोपाइटर विद्यादेवी अग्रवालले महिलाहरु प्यान लिन जाँदा पहिले झण्झट भोग्नु परेको कुरा स्मरण गरिन् । उनले थपिन्–‘अब हेल्प डेक्सले निःशुल्क सहजीकरण गर्ने कुरा सुन्दा खुसी लागेको छ ।’ त्यसैगरी, इटहरी–९ कै चौधरी फेन्सी स्टोरका विष्णु चौधरीले पनि उद्योग वाणिज्य संघले व्यापारी र व्यावसायीका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउनु उदाहरणीय कार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *