आठ मार्चको दिन मन्त्री रामकुमारी चौधरीले भनिन्–‘महिला सचेतनाको लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ’

इटहरी । ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने उद्घोषका साथ १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शनिबार सुनसरीका बिभिन्न ठाउँमा विविध कार्यक्रमका साथ मनाइएको छ ।
यी कार्यक्रममा कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सहभागि भएकी थिइन् । उनको गृह जिल्ला सुनसरी नै हो । रा

ज्यमन्त्री चौधरी इटहरी उपमहानगरपालिकाले आयोजना गरेको पुरस्कार तथा प्रमाणपत्र, अपाङ्गता सहयोगी सामाग्री वितरण तथा समापन समारोहमा सहभागि भइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले अहिले प्राप्त भएका संवैधानिक अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिका महिलाहरुले लागि लड्नु पर्नेमा जोड दिएकी छन् । उनले महिला सचेतनाका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइन् । विकास र सम्वृद्धिमा राजनीति गर्न नहुने भन्दै सबै पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्ने उनको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम र नेपाली काग्रेस उपमहानगरका सभापति हेमकर्ण पौडेलले दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा इटहरी उपमहानगरले १०९ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा चार दिनसम्म आयोजना गरेको बिभिन्न कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । यसैगरी अपांगता भएका ब्यक्तिहरुलाई ४ थान हृवील चेयर, २ थान सेतो छडी र १ थान वैशाखी वितरण गरियो । इटहरी उपमहानगरले दिवसका अवसरमा चार दिन सम्म महिला उद्यमीले उत्पादन गरेका बिविध घरायसी सामाग्री प्रदर्शनी, हाजिरीजवाफ, वक्तृत्वकला, महिला म्याराथुन, मजदुर महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका बिभिन्न कार्यक्रम गरेको थियो ।
यो कार्यक्रमपछि राज्यमन्त्री चौधरी किरात राई यायोख्खाको भवनमा महिलाहरुलाई राजनीतिक प्रशिक्षण दिन पुगेकी थिइन् । त्यहाँ अनेम संघ, अनेम संघ (क्रान्तिकारी) र अखिल नेपाल ट्रेड युनियन महासंघ महिला विभाग सुनसरीले संयुक्त रुपमा विशेष प्रशिक्षणको आयोजना गरेका थिए ।
सुनसरीका बिभिन्न क्षेत्रबाट भेला भएका महिलाहरुलाई प्रशिक्षण दिदै राज्यमन्त्री चौधरीले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानता आउनु पर्ने बताइन् । उनले लैङ्गिक समानताका लागि स्थानीय तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताइन् ।
महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी÷समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु पर्ने उनको भनाइ थियो ।
संविधानले लैङ्गिक समानताका साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उनको भनाइ थियो । उक्त कार्यक्रममा प्रदेश संसद सर्वध्वज सांवा, नेकपाका नेता मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश), अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सचिव गिता तिम्सिना लगायतका नेताले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमको सभापतित्व अनेम संघ सुनसरी अध्यक्ष मिरा आचार्यले गरेकी थिइन् भने सञ्चालन क्रान्तिकारी सुनसरी सचिव शारदा भट्टले गरेकी थिइन् । कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्दै महिला बिभाग प्रमुख मन्जु गुरागाईंले श्रम क्षेत्रका महिलाहरुमा समानता आउन बाँकी रहेको बताइन् ।
त्यसैगरी, बराह नगरपालिका–३ नडाहामा पनि सिर्जनशील आमा समूहले नारी दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बराह नपाका वडा नम्बर ३,४ र ५ का महिलाहरु सहभागि भएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *