संसद योगेश भट्टराईले भने–सामुदायिक विद्यालयको स्तर बृद्धि गर्न लागि परेका छौं

इटहरी । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सामुदायिक विद्यालयहरुलाई बलियो बनाउन सरकार अग्रसर भएको बताएका छन् ।
आइतबार सुनसरीको इटहरी स्थित जनता नमूना माध्यमिक विद्यालयको ६२ औं स्थापना दिवसको अवसरमा बोल्दै संसद भट्टराईले सरकारले सामुदायिक विद्यालयलाई सबल बनाउनेबारे योजना बनाइरहेको बताए । संसदमा पनि सामुदायिक विद्यालयको स्तरउन्नतीबारे बारंबार छलफल हुने गरेको उनको भनाइ छ ।
उनले सामुदायिक विद्यालयको स्तर उन्नती गर्ने जिम्मेवारी स्थानीय तहको भएकोले यसप्रति संवेदनशील हुन जनप्रतिनिधिलाई आग्रह गरे । उनले भने–‘सामुदायिक विद्यालयको विकास गर्ने जिम्मा अब स्थानीय सरकारको हो ।’ संसद भट्टराईले सामुदायिक विद्यालयलाई स्थानीय सरकारले हेर्ने अधिकार दिने कानून निर्माणबारे पनि आफूहरु जुटिरहेको बताए । उनले विद्यार्थीहरुलाई शिक्षकले मात्र पढाएर नपुग्ने भन्दै अभिभावकले पनि आफ्ना छोरा–छोरीलाई पढाउनु पर्ने बताए ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कल्यणबहादुर कार्की, ३ नम्बर वडा अध्यक्ष बालकृष्ण विष्ट, वडा सदस्य ईश्वर शाह, संविधानसभा सदस्य कल्पना गच्छदारलाई सम्मान गरियो । उनीहरु सोही विद्यालयका भूतपूर्व विद्यार्थीहरु हुन् । उनीहरुलाई सोही विद्यालयमा अध्ययन गरी राज्यका विभिन्न तहमा नेतृत्व गर्न सफल भएको भन्दै सम्मान गरिएको हो । साथै गितकार गायत्री लम्साल र गायक कन्काइस राईलाई पनि सम्मान गरिएको छ । लम्सालले जनता माविको प्रगतिको गित रचना गरेका छन् भने राईले संगित गर्नुका साथै गाएका छन् ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रेवती घिमिरे, नेपाल कांग्रेस इटहरी उपमहानगर समिति सभापति हेमकर्ण पौडेलले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए । सो कार्यक्रममा जनता माविका सहायक प्रधानाध्यापक पशुपति सिक्देलले शैक्षिक सत्र २०७६ बाट विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउने योजना ल्याएको जानकारी दिए । कार्यक्रमको सभापतित्व सोही विद्यालयका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष काँशीनाथ दङ्गालले गरेका थिए । विद्यालयमा सरस्वती पुजासमेत सोही अवसरमा गरिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *