इटहरीको जिविका कृषि क्याम्पसमा पढाइ सुरु

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित जिविका कृषि विज्ञान क्याम्पसमा आइतबारदेखि पढाइ सुचारु भएको छ ।
इटहरी वडा नम्बर १७ मा रहेको क्याम्पसको भवनमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर पढाइ सुरु गरिएको हो । सो अवसरमा जिविका कृषि सहकारीका अध्यक्ष रामचन्द्र अधिकारीले प्रयोगशालासहित कृषि तथा वन विज्ञान विषयमा कक्षा सञ्चालन गरिएको बताए । जिविका कृषि विज्ञान क्याम्पस सोही सहकारीद्वारा सञ्चालनमा ल्याइएको हो ।
सो अवसरमा क्याम्पस सञ्चालक प्रवन्धक शिवकुमार डांगीले कृषि म्यूजियमसहितको क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको कृषि शिक्षा प्रदान गरिन लागेको जानकारी दिए । हाल २६ जना विद्यार्थीले नाम लेखाएर पढ्न सुरु गरेको उनको भनाइ छ ।
मोरङको बुढीगंगा गाउंपालिका–७ बाट क्याम्पस पढ्न आएका अभिषेककुमार विश्वासले कृषिमा नयाँ–नयाँ प्रविधि सिक्ने अपेक्षा गरेको बताए । उनले भने– ‘आधुनिक कृषिमा राम्रो पढेर नेपालको कृषिलाई आधुनिकतामा लैजाने इच्छा छ ।’ त्यसैगरी, सुनसरीको इनरुवाबाट पढ्न आएकी पूर्णिमा मेहताले कृषि प्रधान देशमा कृषि शिक्षाको आवश्यकता र महत्व बढ्दै गएको बताइन् । त्यसैगरी, अर्की विद्यार्थी सृष्टी कार्कीले पारिवारिक पृष्ठभूमि कृषि पेशा भएकोले आफू कृषि वैज्ञानिक बन्न आएको बताइन् । हाल यस क्याम्पसमा तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट विद्यार्थीहरु पढ्न आएका छन् ।

44Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *