नेपालको कृषि आधुनिकतातिर–राज्यमन्त्री चौधरी

भरतपुर । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नेपालको कृषि क्षेत्र आधुनिकतातिर उन्मुख भएको बताएकी छन् । चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजित कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको अवलोकन गर्दै कृषिमा नवीनतम औजार प्रयोगले देशको कृषिक्षेत्र आधुनिकतातर्फ गइरहेको बताइन् । किसानले प्रयोग गर्ने नयाँ–नयाँ उपकरणले कृषिमा आधुनिक झल्किन थालेको उनको भनाइ थियो । राज्यमन्त्री चौधरीले केरा खेती, थोपा सिचाइ र बिषादीरहित कृषि सम्बन्धी तालिम एवम् गोष्ठीले कृषकलाई नयाँ ज्ञान प्राप्त हुने कुरामा जोड दिइन् । उनले मन्त्रालयले युवा, विद्यार्थी, उद्यमी व्यवसायीहरुमा परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्ने र आधुनिक प्रविधिलाई अनुसरण गर्न सहयोग पुग्ने कार्यक्रम ल्याइरहेको जानकारी दिइन् ।
प्रदर्शनीमा चीन, भारत लगायतका देशबाट ल्याइएका कृषि यन्त्र अवलोकनले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण, औजारीकीकरण र व्यवसायीकरण गर्न नेपाली किसानको क्षमता विकास हुने उनको भनाइ थियो । प्रदर्शनीलाई सफल बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्रि व्यवसायी महासंघ, चितवन उद्योग संघ लगायतकाले सहयोगीको भूमिका निर्वाह गरिरहेको आयोजकले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *