पत्रकारलाई कृषि पत्रकारिता तालिम

इटहरी । कृषि विकासका लागि सूचना र सञ्चारको भूमिकाबारे मोरङको विराटनगरमा पत्रकारलाई तालिम दिइएको छ ।
हेफर इन्टरनेशनल र मिडिया एक्सन नेपालको सहयकार्यमा आयोजना गरिएको तालिम माघ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा प्रदेश १, २ र ३ का ९ जिल्लाका ३४ जना पत्रकार सहभागि थिए । सो अवसरमा कृषि पत्रकारिताले यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइयो । तालिमको सहजीकरण गर्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले देशको आर्थिक विकासमा कृषि क्षेत्रले ठुलो योगदान दिएको बताए । पत्रकारिता विषय अध्यापनसमेत गराइरहेका पन्तले सञ्चार पैरवी तथा आमसञ्चार माध्यमको भूमिका, कृषि तथा आर्थिक विकाससम्बन्धी लेखनबारेमा सहभागिलाई बताएका थिए । उनले कृषिसम्बन्धी सूचना स्रोत तथा सामग्री कसरी जुटाउने, कृषिसम्बन्धी भ्रामक समाचारको जोखिमबाट कसरी बच्ने लगायतका विषयमा तालिम दिएका थिए । उनले कृषि क्षेत्रका सफलताका समाचार लेख्न सहभागि पत्रकारलाई सुझाव दिए ।
साथै वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले फोटो पत्रकारिता र फोटो क्याप्सनबारे बताए । सो तालिमको संयोजन पत्रकार अबिजाल विष्टले गरेका थिए । उनले कृषि पत्रकारिताले किसानलाई उर्जा प्रदान गर्ने बताए । हेफर इन्टरनेशनल नेपाल केन्द्रीय कार्यालय काठमाडौंमा सञ्चार अफिसरकारुपमा कार्यरत रेगीना रेग्मीले पनि तालिममा सहजीकरण गरेकी थिइन् ।
तालिमकै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ स्थित पूर्वाञ्चल सामुदायिक समूहले गरेको बाख्रा पालनको अवलोकन भ्रमणसमेत गरिएको थियो । शुक्रबार तालिम समापनको अवसरमा हेफर इन्टरनेशनल इटहरी क्लष्टर कार्यक्रम प्रवन्धक दीपेश पोखरेलले आमसञ्चारका माध्यमको विकास र पत्रकारहरुको कृषि क्षेत्रमा बढ्दो रुचिलाई ख्याल गरी तालिममा सहकार्य गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *