मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको पुरस्कार राशीमा ४ लाखले बृद्धि

इटहरी । सुनसरीको इटहरी रंगशालामा यही माघ १२ गते हुने मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ ।
प्रतियोगिताको प्रथम संस्करणको पुरस्कार राशी रु. १२ लाख रहेको थियो । यसपाली ४ लाख थप गरी १६ लाख पु¥याइएको छ । दोस्रो संस्करणको विजेता टिमले १६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले यसपाली ८ लाख नगद पाउने छन् । गत बर्ष उपबिजेताले ५ लाख नगद पाएको थियो ।
पहिलो संस्करणको विजेता थ्रीस्टार क्लब बनेको थियो । त्यो प्रतियोगिता जित्न बुद्ध चेम्जोङको वान भर्सेस वान गोल निर्णायक भएको थियो । गत बर्ष थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब उपाधिका लागि खेलेका थिए ।
आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष संजीव ढुङ्गानाले दिएको जानकारीअनुसार प्रतियोगितामा नेपालका ए डिभिजन काठमाडौंका क्लबहरु मनाङ मर्स्याङ्दी, थ्रीस्टार, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, झापा–११, डिफेन्स टिम फेमेली क्यामरुन, (क्यामरुन) जर्ज टेलीग्राफ कलकता (भारत) आयोजक राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी सहभागि हुनेछन् ।
यस्तै भुटानका टिमहरुको पनि सहभागिता रहने अध्यक्ष संजिव ढुंगानाले जानकारी दिएका छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी, सर्वाधिक गोलकर्ताले ३० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यसैगरी, उत्कृष्ट गोल किपर, डिफेण्डर, मिल्डफिल्डर र फरवार्डले २०–२० हजार नगद पुरस्कार पाउनेछन् । साथै उत्कृष्ट प्रशिक्षकले पनि २० हजार नगद पुरस्कार पाउने छन् । टिकट लक्की ड्रबाट १ जना दर्शकलाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरिनेछ ।
२०७४ सालको संस्करण माघ ६ गतेदेखि सञ्चालन भइ १४ गते समापन भएको थियो भने यसपाली माघ १२ गते देखि १९ गतेसम्म हुनेछ । आयोजक क्लब इटहरीको पुरानो क्लब हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *