‘इटहरी रेडक्रस सक्रिय उपशाखा’

इटहरी । नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाको बिहीवार विविध योजना तथा कार्यक्रम अनुमोदनसहित २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इटहरी उप महानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य बासुदेव गौतमको विशेष आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले इटहरी र यस असपासका क्षेत्रमा बर्षभरि गरिएका विपद तथा अन्य सेवाका क्षेत्रमा गरिएका कार्य प्रगतिको अनुमोदनसँगै इटहरी उपशाखाले मानवीय सेवाका क्षेत्रमा गरेको कार्य प्रगतिको समीक्षालाई समेत अनुमोदन गरेको छ ।
उपशाखा इटहरीका अध्यक्ष विमल पौडेलको सभापतित्वमा भएको उक्त साधारणसभा समारोहमा नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखा सभापति उमेश थापा, मन्त्री मुकुल कायस्थ, इटहरी उपशाखा संस्थापक राजेश श्रेष्ठ, रामचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ सुनसरी शाखा सभापति अमर खड्कालगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए साधारणसभामा उपस्थित महानुभावहरुलाई इटहरी उपशाखा उपसभापति दिनेशकुमार भट्टराईले इटहरी क्षेत्रका विभिन्न विद्यालयमा १६ हजार थान स्वेटर (न्यानो कपडा) वितरण गरेको जानकारी दिए । उपशाखालाई इटहरी उपमहानगरपालिकाले १ थान शव बहान दिन लागेको उनले जानकारी दिएका छन् । सोही साधारणसभाको अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ठ सहयोग पु¥याउने समाजसेवीहरुलाई सम्मानसमेत गरिएको थियो ।
नेपालमा सक्रिय झण्डै १४ सय रेडक्रस उप शाखामध्ये इटहरी उपशाखाको सक्रियता विशेष स्थानमा रहेको केन्द्रीय सदस्य गौतमले बताए । केन्द्रीय सदस्य गौतमले भने–‘इटहरी उपशाखाले कुनै पनि बन्द, हड्ताल, मुठभेडमा प्राथमिक उपचारक टोली परिचालन गरेर उल्लेखनीय कार्य गरी इतिहास कायम गरेको छ । ’ साधारणसभामा सभापति विमल पौडेलले सामाजिक संघ, संस्थासँग समन्वय गरी रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले रक्तसञ्चार केन्द्र धरानमा इटहरी क्षेत्रबाट मात्र २६.६९ प्रतिशत रगत संकलन भएको जानकारी दिए । सभापति पौडेलका अनुसार उपशाखाको भवनमा रहेको गोल्छा आँखा अस्पतालको सामुदायिक उपचार केन्द्रमा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको आँखा परिक्षण गरी निःशुल्क चस्मा वितरण कार्य भइरहेको छ । उनले इटहरी–४ भेटघाट चोकमा केन्द्रीय कार्यालयबाट प्राप्त ३ कठ्ठा जग्गामा तारबार गरी यस बर्षदेखि निर्माण कार्य (ग्यारेज, चालक आवास गृह) सुरु गर्ने लक्ष्य लिएको साधारणसभामा बताए ।

16Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *