मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

भीमदत्तनगर/वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो ।

विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उहाँ र उहाँको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।

“हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गरेर बालुवा, गिट्टीसित सङ्घर्ष गर्दै आएको छु, मजदूरी नगरे त एक छाक टार्न पनि मुश्किल पर्छ”, बिप्टीले भन्नुभयो, “दैनिक ५०० जति कमाइ हुन्छ, त्यसले घरको नून÷तेल खर्च चलाएकी छु ।”

चौधरीका छोरा र श्रीमान् पनि मजदूरी गरेर परिवारको खर्च जुटाउन त्यसैमा लागिपरेका छन् । “सरकारले कमैयाबाट ल्याएर ओत लाग्ने ठाउँ त दियो ।” उहाँको गुनासो थियोे, “नदीको बगरमा दिएको पाँच कट्ठा जमीनमा उब्जनी नहुँदा कामै लागेन ।”

स्थानीय चन्द्रलाल चौधरीले कमैयाबाट मुक्त हँुदा पाएको जमीन वर्षौंदेखि बाँझै छ । “यो खेतमा नत तरकारी न अन्नबाली नै फल्छ”, उहाँले भन्नुभयो, “अहिले त खेतमा जानै छोडिसक्यौँ ।”

पाँच सय ६८ परिवार मुक्तकमैया रहेको उक्त शिविरमा करीब १५० परिवारको खेत बलौटे हुँदा उब्जनी नहुने समस्या छ । “पहिले कमैया बसेर दुःख ग¥यौँ”, उहाँले भन्नुभयो, “अहिले मजदूरी गरेर भोक मार्दै छौँ ।” डेढ दशक कमैया बसेका उनीहरूमा पुनःस्थापनाको लामो समय बितिसक्दा पनि मुक्तकमैयाको अवस्थामा सुधार नभएकाले बस्तीका युवा रोजगारीका लागि पलायन भएका छन् ।

“नदीमा आएको बाढी गाउँ पस्दा पूरै खेतमा बालुवा जमेको र बस्ती समेत कटान गरेको छ”, शिविरका भूमिलाल चौधरीले भन्नुभयो, “दिगो व्यवस्थापनमा ध्यान नदिँदा फेरि कमैया बस्नुपर्ने अवस्था आउँदैछ ।” बस्ती बचाउन यहाँको मछेली नदीमा तटबन्ध निर्माणका लागि पहल गरिदिन उहाँले आग्रह पनि गर्नुभयो ।

शिविरका अधिकांश परिवारले अझै पनि अरुको जमीन अधियामा लिएर जीविका चलाइरहेका छन् । “विसं २०६४ मा आएको बाढीले खेतभरि बालुवाभरि दियो ।” स्थानीयवासी जमुना चौधरीले भन्नुभयो, “हामीले घरखर्च चलाउन अझै दुःख सहनुपरेको छ ।”  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *