बन्ला महासमिति–ऊर्जा र भरोसा ?

  कुलचन्द्र वाग्लेनेपाली कांग्रेस अहिले त्यस्तो देउरालीमा छ उकालो लाग्ने कि ओरालो झर्ने भनेर रोज्नु पर्ने हुन्छ । इतिहासको अग्रणी भूमिकालाई जोड्ने वा छोड्ने कांग्रेसको वर्तमान कर्मले के तय गर्ने हो ? अहिले अनुमान बाहिर नै छ । अर्को महाधिवेशनको अवसरले केही वर्षका लागि केही अनुमान लगाउन सक्ने अवस्था होला ।

इतिहासको पुँजी, अग्रजको योगदान र भविष्य संरक्षणको भरोसा जगाउ कांग्रेसले वर्तमान भूमिका कसरी पूरा गर्छ ? त्यसको परिणाम निकट महासमिति बैठकबाट कांग्रेसले प्रदर्शित गर्नेछ वा सक्नेछैन । महासमितिले निराशा नै थप्यो भने कांग्रेसमा अहिले नै शक्ति कसैले थप्न सक्तैन । त्यसैले, अहिलेको नेतृत्वका लागि यो अन्तिम अवसरसमेत हो । मात्र प्रतीक्षा चौधौं महाधिवेशनसम्म रहनेछ । अवसर आफूले भोग गर्नुमा मात्र होइन भविष्यलाई दिने उपहारमा पनि यिनको मूल्यांकन हुने नै छ । कांग्रेस कमजोर भएको कारण महासमितिमा समीक्षा  होला पनि । पदलाई प्राथमिकतामा राख्नुभन्दा पदले निर्वाह गर्नुपर्ने प्रमुख दायित्वप्रति शीर्ष नेतृत्व र महासमिति बैठक आशा लाग्दो बन्नु अपेक्षित  छ । प्रतीक्षा, आशा जाग्दो परिणाम आओस् भन्ने हो । तर, नेपाली राजनीतिको दुर्भाग्य, कमजोरी स्वीकार वा समीक्षा गर्न कोही तयार छैन । न वचनले स्वीकारोक्ति गरिन्छ, न व्यवहारमा सुधार देखाइन्छ । अनि परिणाम राम्रो खोजेर कहाँ पाइन्छ ? यो महारोगले नेपाली कांग्रेस पनि ग्रसित छ ।

कांग्रेसको नीति हार्यो वा नेता ? प्रस्ट छ, नीति हारेको छैन । नीतिको जित छ । तर, जितेको पनि अहिलेका नेताको भूमिकाले होइन, हिस्सा होला । महामना बीपीदेखि स्थापित नीतिले  जितेको हो । पार्टीको नीतिले जितेको जस अहिलेका कांग्रेसजनले लिन मिल्ला तर यिनले आफ्नो पौरख भन्न मिल्दैन । अहिलेकाको पौरख त छर्लङ्गै छ ।

नेपालको आधुनिक राजनीतिका उन्नायक बीपी कोइरालाले स्थापित गरेको समग्र मानव मूल्यका लागि लोकतन्त्र भन्नोस् कि प्रजातन्त्र र समाजवाद, अहिले मुलुक त्यही बाटोमा छ । चेतनाको स्वतन्त्र प्रस्फुटनका लागि लोकतन्त्र । आर्थिक, सामाजिक न्यायका लागि समाजवाद । राजनीतिमा यी दुई सिद्धान्त वा दर्शन मानव औचित्यको निम्ति व्यष्टि, समष्टि पूर्ण चिन्तन हो । यो चिन्तन नेपालको सन्दर्भमा बीपीले विस्तारमा समेत स्थापित गर्नुभयो । नेपाल अहिले त्यही बाटोमा संविधानबाटै निर्दिष्ट छ ।

नीतिको जित भयो त हार्यो कसले ? स्वाभाविक उत्तर हुन्छ, नीतिको प्रतिनिधित्व गर्ने नेताले हार्यो । नेताले नीति बोक्नै सकेन, उठाउनै जानेन, काँध कमजोर रहेछ । लाक्षणिक टिप्पणी यस्तै छ । कांग्रेसको नेतृत्व र कार्यकर्ताले यो सत्य आतमसात नगर्दासम्म सुधारको मार्ग पनि भेटिनेछैन । पहिले कमजोरीको पहिचान र स्वीकार । त्यसपछि खोजिन्छ वा देखिन्छ सुधारको बाटो । रोगको निदान अनि उपचार । यसकालागि राजनीतिक इच्छाशक्ति भने अपरिहार्य हुन्छ ।

यसपछि, कांग्रेस महासमिति बैठक कति सैद्धान्तिक हुन्छ, कति व्यवहारिक बन्छ ? देखिनका लागि निश्चित मितिमा बैठक सम्पन्न भए लामो प्रतीक्षा छैन । समसामयिक राजनीति र अर्थतन्त्रका विशद् कुरा होलान् । जे भए पनि कांग्रेसले आरक्षणको व्यवस्थामा वर्गीय तहलाई समावेश गर्नुपर्नेछ । नेपाली जनजीवनबीचको असमान आर्थिक दूरीलाई ध्यानमा राखेर जातीय, क्षेत्रीय र लैंगिकसमेत वर्गीय आरक्षण अपरिहार्य छ – सामाजिक न्यायका लागि पनि ।

अर्कोपक्ष, नेपाली कांग्रेसले तराईमधेस नीति सुस्पष्ट पार्ने आशा गर्नसकिन्छ । मधेस केन्द्रित नेताको माग र तराइमधेसी नागरिकको आवश्यकता पहिचान गर्नुपर्ने छ । माग र आवश्यकताबीचको अन्तरदूरी छुट्याउनु पर्ने हुन्छ ।  तराईमधेसमा गरिबी, विभेद र निम्नचेतना रहिरहेसम्म त्यहाँ राजनीतिक, आर्थिक र सामाजिक शोषण भइरहन्छ ।  एकथरीको राजनीतिक सौदाबाजी (बार्गेनिङ्) चली नै रहन्छ ।

समन्यायिक तरिकाले मधेसको गुनासो सम्बोधन गर्ने नीतिगत योजना कांग्रेस महासमितिले तयार पार्ने नै मानौ । राजनीतिक प्रस्तावले यो काम तय गर्नेछ । अन्यथा, त्यहाँ लोकतन्त्र र राष्ट्रियताका पक्षधर कमजोर पर्नेछन्, निरुत्साहित हुनेछन् । फलतः विखण्डनकारीको प्रभुाव बढ्ने जोखिम बन्छ । राजनीतिक प्रस्तावका मस्यौदाकार उपसभापति विमलेन्द्र निधि यस काममा अब्बल साबित हुने कांग्रेसजनको अपेक्षा स्वाभाविक हो । किनभने, निधिको जन्म र कर्मथलो तराईमधेस हो र उनी त्यहाँको मर्मको भुक्तभोगी जानकार पनि  हुन् ।

प्रस्तुत मस्यौदालाई महासमितिले थप सुस्पष्ट पारित गर्ने विश्वास लिनुपर्छ । महाधिवेशनमा त चुनाव लागेकै हुन्छ । तर, नीति निर्माणकोे बैठक मानिने महासमिति पनि चुनाव लक्षित गरिन थाले सैद्धान्तिक वा विचारपक्ष कमजोर पर्नेछ । यस विषयमा कांग्रेस नेतृत्व सजग बन्ने र सहभागी सदस्यले महासमितिलाई नीति, सिद्धान्त, योजना र विचारमा केन्द्रित गरे त्यहाँको खाँचो केही हदमा सम्बोधन होला ।

महासमितिमा प्रस्तुत हुने संशोधित विधान मस्यौदामा केन्द्रीय समितिका सदस्य थपिने, पदाधिकारी पनि थप्ने, पार्टी सञ्चालनको शक्तिशाली अधिकार सभापतिमा केन्द्रित गर्ने कि सामूहिक नेतृत्वमा जाने आदि विषयको तानातानमा केन्द्रीय कार्यसमितिको अधिक बैठक गुज्रियो । आन्तरिक बहुचर्चामा आएका यी यस्ता विषयले जनसाधारणलाई भने आकर्षित गर्दैनन् । यी विषयप्रति उनीहरूको खासै चासो रहँदैन ।

संविधान र संघीयता अनुकूल कांग्रेसले  बनाउने संगठनात्मक संरचना, आर्थिक, राजनीतिक र सामाजिक (समाजवादी) नीतिको परिमार्जन वा सैद्धान्तिक प्रस्तुति आदिले समग्रमा नेपाली कांग्रेसको भावी दिशाजस्ता विषयमा नागरिक समाजको ध्यान आकर्षित हुने हो । यी विषयमा सञ्चारमाध्यममार्फत् सार्वजनिक बहससमेत उत्पन्न गर्ने अन्य उपायहरु पनि कांग्रेसले अवलम्ब गर्नसक्थ्यो । तर, चुक्यो ।

संगठनको काम चाडै टुंग्याएर, सार्वजनिक सरोकारको प्रत्यक्ष विषयमा बहस र सुझाव सिर्जना गर्न यसअघि नै वा केन्द्रीय समिति बैठकले नै अग्रसरता लिनुपर्ने थियो । आदर्श, नीति र सिद्धान्तको गम्भीर विषयमा केही शुभचिन्तकसँग गरिएको भलाकुसारीलाई पर्याप्त मानियो भने कांग्रेसले व्यापकतामा पाउने चासो र ल्याउने बहस पाउदैन ।  अब त महासमितिले के ल्याउँछ, त्यही पढ्ने मात्रकाम रह्यो नागरिक समाजको । जुन काम, सकिएपछिको मात्र हुनेभयो । कुरा, कांग्रेस महासमिति बैठक र त्यसमा प्रस्तुत गरिने सैद्धान्तिक मस्यौदाले सचेत समाजको ठूलो हिस्सालाई आकर्षित गर्नुपर्ने भन्नु हो ।

उदाहरण हेरौँ, नेपाली कांग्रेसका युवा नेता गगन थापाले राजनीतिलाई उमेरबन्दीको प्रस्ताव महासमितिको वैचारिक खुराकका लागि ल्याएका हुन् ? (थापा नेपाली कांग्रेसका नेता हुन्, उनलाई उमेरको हिसाबले ‘युवा’लेखेको हैन, कार्यशैलीमा जोश देखेर युवा भनेको हो ।) केही वर्षअघि ६० वर्ष प्रस्ताव गर्ने कांग्रेस केन्द्रीय सदस्य थापाले कृपांक १० वर्ष थपेर यस पटक ७० दिएछन्् । यस्तो रमाइलो प्रस्तावमा पहिलो प्रश्न हुन्छ– राजनीतिमा क्रियाशीलताको मापन उमेर हो र ? वा अरू कर्म गर्नसक्ने हैसियतको मापन पनि ? गर्न नसक्ने त तीसचालीस वर्षमै अर्थात् जुनसुकै उमेरमा पनि त थन्किन्छ ।

बरु,पार्टी विधानका लागि एक, दुईपटकभन्दा बढी सभापतिमा उम्मेदवारी दिन नपाउने, (त्यस्तै प्रधानमन्त्री, संसदीय दलको नेता र आवश्यक देखिए अन्य पदमा पनि ‘पटके हद’ ) प्रस्ताव हुन्थ्यो भने उमेरको हिसाबभन्दा राम्रो सुनिन्थ्यो । प्रजातन्त्रमा वाद, प्रतिवाद दुवै सम्मानित छन् । यस कारण थापाको प्रस्ताव प्रतिवादयोग्य छ तर यसको विकल्प दिनसकिन्थ्यो । नेता थापाबाट गम्भीर प्रस्तावकै अपेक्षा गरिएको हो ।

नेपाली कांग्रेसलाई विचार हराउँदै गएको, बीपी विचार त्यागेको र यही कारण राजनीतिक एजेन्डा(मुद्दा)हीन भएको तर अरूकै एजेण्डामा हिँडेको भन्ने गम्भीर शंका र आरोप कांग्रेसजन कै छ । के साच्चै यसै हो त ? हो भने सुधार्नु पर्यो हैन भने सार्वजनिकरूपमा भन्नुपर्यो, प्रमाणित गर्नुपर्यो – नीति, सिद्धान्तले हारेको छैन र जितेको मान्यता स्थापित गर्नसक्नु पर्यो ।

कांग्रेस कार्यसमितिका युवा जोशका सदस्यले पार्टीको सैद्धान्तिक विषयमा कार्यकर्तातहबाट देखाइएको चिन्तालाई निवारण गर्ने प्रस्ताव ल्याउनुपर्ने थियो । पार्टी, विचार र सिद्धान्तहीन बनेको बुझाउने यस्तो आरोप जनाधारमा रहेका कार्यकर्ताको विश्वास बन्यो भने जेठा वा युवा धेरै नेता, कार्यकर्ता कांग्रेसबाट निरपेक्ष बस्नेछन् । लक्षण आइसकेको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै कांग्रेसको एजेन्डा हो । यस्तो एजेन्डाको सामयिक आवश्यकता र परिस्थितिलाई सम्बोधन गर्नसकिने व्याख्या गर्नमात्र कांग्रेस चुकेको हो । अनि गुनासो बढेको छ । यही गुनासोलाई कार्यकर्ताको मनोबल उच्च हुने गरी सम्बोधन गर्दा महासमिति सार्थक हुनेछ ।

जनतासँग कांग्रेसको सम्बन्ध टुट्दै छ । लोकतन्त्र ल्याउन लामो संघर्षमा जुटेका कार्यकर्ताको ठूलो हिस्सा निराश हँुदैछ । अहिले गाउँको तल्लो तहदेखि सहर, बजारको नागरिक समाजसँग सम्पर्क पुनःस्थापित गर्ने संयन्त्र,चरित्र र प्रवृत्तिलाई प्रोत्साहित गर्ने सन्देश आवश्यक छ । कार्यकर्तामा आशा वा भरोसा जाग्रत गर्ने मूल्यांकन प्रणालीको स्थापना र गुटगत शक्ति आर्जनको प्रवृत्ति रोक्नुपर्ने देखिन्छ । यस्तो आवश्यकताप्रति सकारात्मक सन्देश दिनसक्दा नै महासमितिको उपलब्धि स्थापित हुन्छ ।

कांग्रेसले भरोसा जगाएन भने वैकल्पिक भरोसाको माध्यम (दल) बाँकी रहने छैन । कम्युनिस्ट पार्टीको अहिलेको सरकार राजनीतिक वा प्रेस र वैचारिक स्वतन्त्रताप्रति अधिनायकवादी शैलीमा प्रस्तुत हुँदैछ । अर्थनीतिमा संकुचन र परराष्ट्र मामलामा अन्योल थपिदैछ । सारांशमा यो सरकार  असफल भइसक्यो । केहीपटक मन्त्रिपरिषद् पुनर्गठन र बाँकी नेतृत्व परिवर्तन गर्ने उपायमात्र छ । छाँटकाँट हेर्दा यी उपाय पनि उपयोगी हुने लाग्दैन ।

सरकार असफल,नेकपा असफल । यो स्थिति निकट छ । यहीबेला, नेपाली कांग्रेसले राजनीतिमा ऊर्जा र राष्ट्रिय मनोविज्ञामा भरोसा जगाउन नसक्ने हो भने मुलुक अर्को विकल्पमा धस्सिने जोखिम छ । महासमितिमा ध्यान आओस् ।   (रातोपाटी वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *