विषय शिक्षकको अभावले पठनपाठन प्रभावित

उदयपुर÷जिल्लाका पहाडी क्षेत्रका विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।
शिक्षक अभवा हुँदा पहाडी भेगका सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो । उदयपुरका जिल्ला शिक्षा एकाइ प्रमुख हरिहर धितालका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका चार गाउँपालिकामा विषयगत शिक्षक अभवा हुँदा पठन–पाठन प्रभावित भएको छ ।
‘जिल्लाका ताप्ली, लिङचुङबुङ, उदयपुरगढी र रौतामाई गाउँपालिकाका झण्डै २५० विषयगत शिक्षकको अभाव छ,’ उनले भने, ‘गणित, नेपाली,अंग्रेजी तथा विज्ञान विषयका शिक्षकको अभाव छ ।’ विषयगत शिक्षक नगरपालिकाकेन्द्रित र शहरी क्षेत्रका विद्यालयकेन्द्रित हुने गरेकाले पहाडी क्षेत्रका विद्यालयमा शिक्षक अभाव भएको हो ।
शिक्षकको सबै दरबन्दी शहरकेन्द्रित हुने गरेपछि ग्रामीण भेगमा अहिले झण्डै ३०० विषयगत शिक्षकको अभाव रहेको जिल्ला प्रमुख धितालको भनाइ छ । शिक्षा एकाइका अनुसार आधारभूत विद्यालय १ देखि ५ कक्षासम्ममा मात्र अहिले जिल्लाका विद्यालयमा झण्डै ३९ हजार विद्यार्थी अध्ययन गर्दै आएको भए पनि ७०० मात्र आधारभूत तहमा स्थायी शिक्षक रहेका छन् ।
यस्तै कक्षा ६ देखि ८ सम्ममा स्थायी शिक्षक १८२ रहेका छन् भने बाँकी २४२ अनुदान र राहत दरबन्दीमा रहेका शिक्षा एकाइका प्रमुख धितालले जानकारी दिए । कक्षा ९ र १० मा स्थायी शिक्षक १२९ छन् भने बाँकी १४६ अनुदान र राहत दरबन्दीमा छन् ।
जिल्लाको ग्रामीण भेगका विद्यालयमा विषयगत शिक्षक नियुक्ति गरेर दरबन्दी पूर्ति नगरेसम्म र मन्त्रालयबाट विषयगत शिक्षकको दरबन्दी पूर्ति नगरेसम्म विद्यार्थीको पठन–पाठन सुधार हुन नसक्ने अवस्था रहेको सम्बन्धित क्षेत्रका अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको भनाइ छ । उदयपुरमा अहिले ४५६ सरकारी विद्यालय सञ्चालन हुँदै आएका छन् ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *