पार्टीभित्र कालीदासे प्रवृत्ति

विरोधीहरूसित पार्टी एक जुट र एक मुख भएर जवाफ दिनुपर्ने ऐन मौकामा व्यर्थको घर झगडामा अल्झाउन खोज्ने नेताले कसको सेवा गरिरहेका होलान् भन्ने कुरा अलिअलि होस र चेत भएका आम कार्यकर्ताले बेलैमा जान्नु जाती होला ।

पार्टीमा गुट त महाधिवेशनको  मौकामा हुन्छ तर सदा सर्वदा गुटको पछि लागेर गुहुलाई तारिफ गरिरहँदा आन्दोलन नै समूल समाप्त हुन्छ । यस्तो भएको पनि छ ।

नेकपाका तत्कालीन महासचिव केशरजङ्ग रायमाझी पार्टीभित्रैबाट जन्मिएका अर्का कालीदास हुन् ।

प्रतिक्रियावादीहरूले भित्र र बाहिर दुवैतिरबाट खेल्छन्, खेल्न सक्छन् । बीपी कोइराला प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका सूर्यप्रसाद उपाध्याय जवाहरलाल नेहरूबाट परिचालित थिए । केही चिनियाँ नेताले नबिक्ने नेपाली कति होलान् भनेको यस लेखकलाई अहिले सम्झना भइरहेको छ । सुप्रसिद्ध लेखक सौरभले आफ्नो कृति असङ्गतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वपूर्ण विशेषताको चर्चा गर्दै उनका कमजोरी उल्लेख गर्दा ओलीलाई समयका सामन्त भनेका छन् ।

तर यो कमजोरी कहाँ कसरी कुन बेला करेक्सन गर्ने र गराउने हो भन्ने कुराको कुनै भेउ नपाउने नेता देख्दा अचम्म लागेको छ ।

घरझगडा समाधान गर्ने तौर तरिका, मौका र परिस्थिति भिन्न हुँदैन ? अनुभवी र जिम्मेवार अभिभावकले सडकमा आएर आकाशै खस्यो कि भनेझैँ गरेर कोकोहोलो मच्चाउन सुहाउँछ ?

जननेता मदन भण्डारीले प्रमुख नेताका सबल र कमजोर पक्ष उहिल्यै उजागर गरेका थिए । केही नेतालाई पार्टी बैठकमै विदेशी हस्तक्षेप निम्त्याउने कुरा राख्ने नेतालाई ठाडै छाँसेका पनि थिए ।
त्यतिबेलै बोलेर नै आधा समस्या समाधान गर्ने अद्भूत क्षमता ओलीमा रहेको भण्डारीले उल्लेख गरेका थिए ।

त्यसैले यस लेखकलाई नेकपाका धेरै नेताहरूको ग्रहदशा, जन्मकुण्डली थाहा छ । तिनका बारेमा सत्यतथ्यलाई  कटाक्ष गरेर धेरै लेख लेखिएको पनि छ ।

तर पनि अझै तिनलाई मान गर्ने खालको बानी बेहोरा देखिएन भने आग्नेयास्त्र प्रहार गर्ने दिन नआओस् भन्न पनि यो लेखक चाहन्छ  ।

माक्र्स र लेनिनका चेलाहरू मिडिया महत्त्व अर्थात् लेखन, प्रकाशन र प्रसारण जस्ता विषयको महत्त्व जति बुझ्नुपर्ने हो, त्यति बुझ्छन् जस्तो लाग्दैन ।

सिस्नुपानी नेपालले भनेझैँ  नेपालका मिडिया विदेशीका गुडिया रहेको नेताहरूले अहिले चाल पाए होलान् । यिनलाई विगतमा र अहिले पनि स्वतन्त्र मिडिया कति महत्त्वपूर्ण अपरिहार्य रहेछ भन्ने  थाहा हुनुपर्ने हो ।
तर यिनले प्रेस चौतारी वा यस्तै नामबाट सामान्य मतदाता, कार्यकर्ता मात्र जन्माएछन् । लेखक जन्माउने बुद्धि तिनमा रहेनछ भन्ने बोध भएको छ ।

अहिले त ओलीलाई तारो बनाएर कम्युनिस्ट आन्दोलनको विरुद्धमा गरिएको गोयबल्स शैलीको दुष्प्रचारबाट आम कार्यकर्ता र जनता प्रभावित भएको स्थिति देखिन्छ ।

यही प्रचारले गर्दा आफूले रगत पसिना बगाएर निर्माण गरेको पार्टी र  आन्दोलनबाट विरक्त र विरत हुने अवस्थामा कार्यकर्ता पुग्न लागेको देखिन्छ ।

रिस पनि ठाउँमा मात्र सौन्दर्ययुक्त हुन्छ । बैठक बहिष्कार गरेका अर्का वरिष्ठ नेता झलनाथ खनालले  यही घडी सङ्गीन घडी रोजेर पार्टी र सरकार पुनर्गठनको बेसुरा  राग अलापेछन् ।

के खनालले यस अवस्थामा घरभँडुवा बेहोरा गर्नुहुँदैन भन्ने अहिलेसम्म पनि सिकेका रहेनछन् ?

आखिर खोटो सिक्काले आफ्नो खोटो चरित्र र चिन्तन ऐन मौकामा जाहेर गरिछाडदो रहेछ तर यस्ता खोटा सिक्काहरू पर्टीमा कति होलान् यो चाहिँ गम्भीर खोजको विषय बनेको छ ।

उन्नत चरित्र र चिन्तनले मात्र जोसमा पनि होस राख्छ । लेखनाथ पौड्यालले भनेझैँ समुद्रले आफ्नो औकात र मर्यादा कहिल्यै भुल्दैन तर बर्खामासका खहरेहरू तिनतमास नै देखाउने गरी कुर्लने र उर्लने गर्छन् ।

बैठक बहिष्कार नै गर्नु थियो त बेलैमा गरेको भए हुन्थ्यो त ?

सरकारका सकारात्मक कामलाई दृढताका साथ प्रभावकारी रूपमा व्यक्त गर्न आनाकानी गर्ने अनि बैरी हँसाउन एक मुख र एक जुट हुने ?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा बहुआयामिक व्यक्तित्व विष्णु रिमालले मिडिया अन्तरवार्ताहरू मार्फत् सरकारका सबै सकारात्मक कामहरूलाई प्रभावकारी तथा चित्तबुझ्दो रूपमा बेलिबिस्तार लगाएका थिए ।

रिमालको व्यक्तित्वबाट जल्नेहरूको कमी देखिएन । आफू सिन्को नभाँच्ने अनि गर्नेहरूको ईष्र्या र डाहले जल्नु बेकार छ ।

बाहिर बाहिर लोकाचार भित्रभित्र पोको पार नेताहरूको हुलिया खुल्दैछ । आफू चाहिँ ठूलो नेता वा मन्त्री बनेर पल्टिने तर घरपरिवार र सन्तानलाई अनेक कृत्य र कर्ममा संलग्न भएको देखीदेखी मौन साधना गर्ने नेता र मन्त्रीको चरित्र उजागर हुन थालिसकेको छ ।

झलनाथजी,  त्यसैले खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन । यस लेखकलाई नेताहरूको निकट विगत सबै थाहा छ । भण्डाफोर गर्ने दिन नआओस् ।

माधवकुमार नेपालजी, माओले जो  मुखले मात्र क्रान्तिकारी जनतापट्टि लाग्छ तर काम भने अर्कै किसिमको गर्छ भने त्यो बोलीमा मात्र क्रान्तिकारी हो भनेका छन् । यस्तो नहोस् ।

विरोधी वा प्रतिक्रियावादी कित्ताको विशेषता के देखिन्छ भने उनीहरू आपसमा एकअर्कालाई समाप्त पार्नेसम्मका दुष्मनी त्यागेर कम्युनिस्ट पार्टी र सरकारका विरुद्ध एक जुट हुन्छन् । राम्रा कामका विषयमा एकताबद्ध हुनका लागि  यो एउटा शिक्षा हो ।

प्रा.डा. युवराज सङ्ग्रौलाले युरोपलाई कमजोर नेपाल चाहिन्छ, लेखमा नेपालको पूर्वक्षेत्रमा मात्र यस्ता (बहुराष्ट्र, जातीय विद्वेष वृद्धि गर्न, खस आर्य जाति र हिन्दु धर्मविरुद्ध) यस्ता संस्थाहरूलाई २३ अर्ब लगानी भएको देखिन्छ भने ।

अहिले ओली सरकारलाई असफल बनाउन कति धनराशि लगानी भएको होला ? यो लगानीको ठूलो हिस्सा लेखक र बुद्धिजीवी क्षेत्रमा रहेको पोल पहिले नै खुलिसकेको छ ।

सीके राउत मतियार बुद्धिजीवी, लेखक, सर्जक आफूलाई सगर्व राष्ट्रवादी लेखक भन्न सक्छन् ? तिनलाई ओलीले आलोचना गर्दा निर्दोष लेखक रिसाउनुपर्ने कारणै छैन । बरु तिनले देशको सामाजिक सद्भाव भड्काउन खेलेको भूमिका भयानक रहेको छ ।

मेकियाबेलीले बन्दुकले नजितेको लडाइँ सामाजिक सद्भाव बिथोलेर जित्न सकिन्छ  भनेझैँ अहिले पनि यस खालका खेलहरूमा कतिपय बौद्धिक व्यक्तिहरू परिचालित रहेको  बुझिन्छ ।

मानव अधिकारकर्मी कृष्ण पहाडीले नेपालका ठूला दलबाट शक्तिशाली पदमा पुगिसकेका मान्छेलाई नै भड्काएर देशविरुद्ध प्रयोग गर्ने खतरा छ भनेर लेख नै लेखे । के यस्तो अवस्था अहिले पनि नहोला र ?
६० वर्ष पहिले माओ त्से तुङले बेइजिङबाट ल्हासा रेल पुर्याउने घोषणा गर्दा त्यो बेला सर्वत्र हाँसोको विषय बनेको थियो तर पछि ल्हासा रेल पुगेपछि हाँस्ने मानिस चुप भए । अहिले र पछि पनि ओलीका बारेमा यही स्थिति टड्कारो देखिँदैछ ।

वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्मा १० वर्षपछिको नेपाल कस्तो होला ? भन्ने लेखमा नेपालस्थित भारतीय राजदूत रन्जित रायले नेपालबाट बिदाइ हुने बखत गरेको पत्रकारहरूलाई  बोलाएको भोज र भेटघाटमा नकारात्मक आशयका साथ दस वर्षपछि नेपाल कस्तो होला भनेर प्रश्न गरिरहे ।

शर्माका अनुसार रन्जित रायले हरेक दस वर्षमा नेपाल ओरालोतिर लागिरहेको हुँदा अब नेपाल ठूलो द्वन्द्वमा परेर भिरालोतिर लाग्नुपर्ने हो भन्ने थियो । यस्तो सोच पूरा गर्न अहिले भित्रभित्रै के के भइरहेको होला ?

त्यसैले पश्चिमाहरूको भारत हुँदै तिब्बत चीन विरोधी माछा मार्ने नियतले नेपाल सरकारले राम्रो काम गरेको देखिसहन्न त्यसैले पनि ओली सरकारका सकारात्मक कामको चौतर्फी विरोध र अफवाह सुरु गरिएको हो ।

कुनै पनि निहुँमा ओली सरकारलाई फसाउने षडयन्त्रको नमुना प्रकरण निर्मला बलात्कार तथा हत्या प्रकरण हुने देखिन्छ । यस्ता विषयमा निक्कै मोटो लगानी हुनुपर्छ ।

त्यसैले यस सरकारलाई असफल हुने छुट छैन र  सरकारका सकारात्मक  कामलाई अनदेखा गरेर दुर्भाग्य कुनै पनि देशभक्तले निम्त्याउनु हुँदैन । आधारभूत रूपमा यस सरकारलाई सफल बनाउन सरकार आफै र तमाम देशभक्त नेपाली लाग्नुपर्ने देखिन्छ ।

तर यस विषयमा नेकपाका कालीदास प्रवृत्तिका खोटी नेताहरू सबैभन्दा पहिले सचेत हुन अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *