धानभन्दा अलैंची खेतीमा आकर्षण

भोजपुर÷अलैँचीको मूल्यमा विगतका वर्षको तुलनामा आधा ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
तरपनि भोजपुरको पश्चिमी टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका कृषकहरु भने यतिबेला धमाधम अलैँची खेती विस्तारमा तल्लीन भएर लागिरहेका छन् ।
बर्सेनि बाँझो जोत्न, हिल्याउन, आलीभित्ता, रोपाईँ, खेताला, कुलोपानी, काट्ने, उठाउने र फेरि जोत्ने लगायत विभिन्न झन्झटिलो धान खेतीको कामभन्दा अलैँचीलाई एकचोटि रोपेपछि वर्षमा एकपटक गोडेमेल र मलजल मात्र गरे वर्षौँसम्म पुग्ने भएकाले यहाँका कृषकहरु धान खेतीलाई थाती राखेर अलैँची खेतीमा आकर्षित भएको बताउँछन् ।
अलैँचीको मुल्य घटे पनि अरु खेतीको तुलनामा यसले फाइदा नै पुर्रुयाउने भएकाले खेतीलाई नै निरन्तरता दिएको युवा कृषक राजेश राईले बताए । राईले भने, ‘धान रोप्न धेरै झन्झट र समय लाग्ने भएकाले हेरचाह पनि धेरै गर्नुपर्छ । तर अलैँचीलाई एकचोटी गोडेर पानी हालीदिए पुग्छ । अलैँचीमा मेहनत कम लाग्ने र मुल्य पनि राम्रै भएकोले धान छोडेर यो खेती सुरु गरेँ ।’
विगत बर्षहरुमा अलैँचीको विरुवा जेठ–असारमा मात्रै रोप्ने उनीहरु हिउँदको समयमा पनि सिँचाइको व्यावस्था मिलाएर बिरुवा विस्तारसमेत गरिरहेका छन् । अन्य खेतीको तुलनामा अलैँची खेती गर्नसमेत सहज हुने भएकाले धान, मकैको तुलनामा फाइदाजनक नै रहेको अर्का कृषक दीपचन्द्र राईले बताए । ‘
गएको वर्ष यसको मुल्य ह्वात्तै घट्दा अलिक अलैँची सोचेजस्तो विक्रि गर्न सकिएन । तर धानको मुल्यभन्दा कम परिश्रम लाग्ने यो अलैँची खेतीबाट सन्तोषजनक नै आम्दानी हुने गरेको छ ।’ राईले बताए ।
आफ्नो सयौँ मुरी धान फल्ने खेत मासेर भए पनि अलैँची खेती विस्तारमा लागेका यहाँका युवा कृषकहरु जिल्लामा उदाहरणीय छन् । गतसाल मात्रै जिल्ला कृषि विकास कार्यालयले छिनामखुको उद्यमशील कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५० प्रतिशत अनुदान र अलैँची विकास समितिको सहयोगमा अलैँची ढुवानी गर्ने एउटा मिनी ट्रकसमेत उपलब्ध गराएको थियो । सहकारीले उक्त परियोजना अन्र्तगतकै २३ लाखको लगानीमा गाउँभरिको किसानको उत्पादित अलैँची संकलन गर्नेगरी अलैँची गोदाम बनाएको थियो । सहकारीका कोषाध्यक्ष सुमन प्रधानले गोदाममा अलैँची संकलनका साथै अलैँची व्यावस्थापन तथा ढुवानी गर्ने गरेको बताए । यहाँको अलैँची धरान, विराटनगर, विर्तामोड हुँदै भारत निकासी हुने गरेको कोषाध्यक्ष प्रधानको भनाइ छ ।
वैदेशिक रोजगारीमा दैनिक हजारौँको संख्यामा विदेशिने युवाहरुका लागि गाउँमा उदाहरणीय उद्यमी बनेका छन, यहाँका युवा अलैँची उद्यमीहरु । गाउँका धेरैजसो युवाहरु विदेशबाट फर्किएर गाउँमै केही गर्ने सोचकासाथ अलैँची खेतीतर्फ लागेका छन् । अलैँची खेतीमै प्रशस्त सम्भावना देखेका यहाँका युवा कृषकहरुलाई पछिल्लो समय गाउँमै ग्रामीण कच्ची सडक पुगेपछि अलैँची बिक्री गर्न पनि सहज भएको छ ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *