किर्ते नागरिकता प्रकरण वडासचिव एकलाख धरौटीमा रिहा

विराटनगर/भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको आरोप लागेकी विराटनगर महानगरपालिका–१ की वडासचिव पुष्पा तिम्सिना एकलाख रुपैयाँ धरौटीमा रिहा भएकी छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको आदेशले वडासचिव तिम्सिनालाई छुट्टाछुट्टै चार मुद्दामा मुलकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६८ बमोजिम धरौटीमा रिहा गरिएको हो । मंगलबार अदालतको आदेशपछि तिम्सिनाले चार मुद्दामा २५ हजार रुपैयाँको दरले एक लाख रुपैयाँ बुझाएपछि धरौटीमा छुटेको जिल्ला अदालत मोरङले जनाएको छ ।
आफू निकटका कानुन व्यवसायीसँग रायसहितको सुझाव लिएर वडासचिव तिम्सिना सुटुक्क केही दिनअगाडि अदालतमा उपस्थित भएकी थिइन् । विभिन्न मितिमा ५ जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरेको अभियोग तिम्सिनामाथि छ ।
वडासचिव तिम्सिनाले भारतीय नागरिक रोशनकुमार पोद्दारलाई २०७२ असार १० गते राजेन्द्र पोद्दारलाई २०७१ पुस २० गते, जितेन्द्र पोद्दारलाई २०७४ वैशाख २८ गते तथा २०७३ साउन १६ गते मिथिलेस र पवन पोद्दारलाई नागरिकता बनाउन अनुसूची फारममा सिफारिस गरिदिएकी थिइन् ।
यसअघि सोही प्रकरणमा विराटनगर १ नम्बर वडाअध्यक्ष उद्धब अर्यालसमेत १२ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । वडाअध्यक्ष अर्यालले २ जना भारतीय नागरिकलाई नागरिकता सिफारिस गरिएको अभियोग छ । झुठो विवरण पेश गरी नोपाली नागरिकता लिएको मुद्दामा अध्यक्ष अर्याल, किर्ते कागजपत्र जुटाइ दिने वडासदस्य रमेश साह र वडासचिव तिम्सिनासहित १५ जनालाई मोरङ अदालतले पक्राउ गर्न १९ कार्तिकमा आदेश गरेको थियो ।
अदालतको आदेशपछि वडाअध्यक्ष र सचिव सुटुक्क अदालतमा उपस्थित भएर धरौटीमा छुटेका छन् भने सदस्य साह फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा १८ कार्तिकमा वडाअध्यक्ष अर्यालसहित १६ जनालाई प्रतिवादी बनाएर झुठा विवरणमा नेपाली नागरिकता लिए र दिएको अभियोगमा मुद्दा दर्ता गरेको थियो । सो प्रकरणमा नक्कली बावु बनेर भारतीयलाई नागरिकता दिलाइदिने मुख्य अभियुक्त सत्यनारण पोद्दार भने पुर्पक्षका कारागार चलान भएका छन् ।  (श्रीजनमत साप्ताहिक वाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *