इन्जिनियरले राजनीति किन गर्नुपर्‍यो ? कुलमान बने पुग्छ !

भर्खरै इन्जिनियरिङ्ग पास गरेर नेपाल इन्जिनियरिङ्ग एसोसिएसनमा आवद्ध एक युवा इन्जिनियरलाई चिया पसलमा फरक-फरक समूहका उम्मेदवारले भोट माग्ने क्रममा रिझाउन गरेका अनेकौँ प्रयत्नहरु हेर्न लायकका थिए ।

ती मतदाता राजनीतिबारे खासै चासो राख्ने रहेनछन् भन्ने चाँहि फरक-फरक उम्मेदवारसँग उनको यो प्रश्नले जतायो- ‘अनि यो प्रगतिशील भएको चाँही के हो ?, यो प्रजातान्त्रिक भनेको नि ?’

उम्मेदवारले बुझाउने अनेकन प्रयत्न गरे, युवा इञ्जिनियरले बुझेनन् । अन्त्यमा दुबैतर्फका उम्मेदवारले चुरो कुरो सामुन्ने ल्याएपछि बल्ल मतदाताले कुरो बुझे । एउटा समुहले ‘प्रगतिशील’ बुझाउन भन्यो, हामी नेकपा निकट हौँ । अनि अर्को समूहले ‘प्रजातान्त्रिक’ बुझाउन भन्यो, ‘हामी नेपाली कांग्रेस निकट हौँ ।

मतदातालाई बुझ्न र उम्मेदवारलाई बुझाउन समय लागे पनि सबैजना आ-आफ्नो वास्तविक धरातलमा उत्रिएपछि दूधको दूध, पानीको पानी भयो ।

कुनैबेला देश अन्धकारमय हुँदा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आफ्नो परिचय सकभर लुकाउँथे (कतिपय मेरा आफ्नो साथी पनि) । मेलम्चीका कर्मचारीहरुको पाचन प्रणालीको त म फ्यान नै हुँँ ! सडक विभागका इन्जिनियरहरु झन् डनभन्दा के कम ! यद्यपि आसन्न इन्जिनियरहरुको चुनावलाई लिएर राजनीतिप्रति सामान्य चासो राख्ने केही इन्जिनियरहरुको बुझाइचाँहि यस्तो रहेछ-

इन्जिनियरले किन राजनीति गर्नुपर्‍यो ? केही गर्दैन यो इन्जिनियरको संगठनले । सबका सब भ्रष्ट छन् । दलको झोला बोक्नेहरुलाई किन भोट हाल्नुपर्‍यो ? आफूले गरेको कुकृत्य ढाक्नका लागि खडा भएको संगठन हो यो !

इन्जिनियरिङ्ग यस्तो पेशा हो, जसले समस्या सुनाउनु नै लाजको विषय हुन जान्छ । इन्जिनियर आफैंमा एउटा समाधान हो, हुन सक्नुपर्छ

कर्मचारीको संगठन, मजदुरहरुको ट्रेड युनियन, अस्थायी शिक्षकहरुको आन्दोलन, आवश्यक परेका बखत नेपाल बार एसोसिएसनको आश्चर्यजनक मौनतालगायतका अनुभवको फलस्वरुप बनेको स्वस्फूर्त धारणा होलान् शायद यी ।

के यी आरोप सही छन् त ?

लामो राजनैतिक संक्रमणबाट गुज्रिएको यो मुलुक विस्तारै एउटा लय समात्दै छ । भलै, यो यात्राका सारथीहरुको विवादास्पद कृयाकलाप चर्चाको अर्को गम्भीर विषय होला । तर, मंसिर २८ आउनै लाग्दा यावत सम्भावनाको ठेलीहरु बोकेर इन्जिनियर्स एसोसिएसनको नामै सुन्न नचाहने सरोकारवाला इन्जिनियरहरुसँग भोट माग्न जाँदै गर्दा सुरुवाती तमाम प्रश्न तथा निराशाहरुको आत्मसमीक्षा गर्नुपर्ला या नपर्ला ?

इञ्जिनियरले राजनीति किन गर्नुपर्‍यो ? प्रश्न जायज छ । एउटा पेशाकर्मीले इमान्दारितापूर्वक आफ्नो धर्म निभाइदिए सफल राजनीतिबाट पाइने पुण्य र कमाइने नामभन्दा कम हुन्छ र ? उदाहरण दिन पनि अहिले त सजिलो छ, कुलमान ।

इन्जिनियरिङ्ग यस्तो पेशा हो, जसले समस्या सुनाउनु नै लाजको विषय हुन जान्छ । इन्जिनियर आफैंमा एउटा समाधान हो, हुन सक्नुपर्छ ।

बाटोमा बग्रेल्ती फालिएका फोहोरका डँगुरछेउ नाक थुनेर सरकारलाई गाली गर्ने सुविधा इन्जिनियरबाहेक सबैलाई छ । तर, इन्जिनियरले त्यो फोहोर व्यवस्थापनको वैज्ञानिक योजना पेस गर्न सक्नुपर्छ । सडकमा ट्राफिक जाम हेर्दै सरकारलाई गाली गर्ने सुविधा अरुलाई होला, तर इञ्जिनियरले स्मार्ट ट्राफिक म्यानेजमेन्टका विभिन्न खाकाहरु पेस गर्न सक्नुपर्छ । भर्खरै बनेका पिच सडकको खाल्डो देखेर ठेकेदारलाई गाली गर्ने सुविधा अरुलाई प्राप्त होला, तर इञ्जिनियरले त्यसलाई सडकको प्वाल हैन, आफ्नो विवेकमा परेको प्वाल सम्झन सक्नुपर्छ ।

वास्तवमा भौतिक जीवनलाई सुबिधासम्पन्न बनाउने जिम्मा इन्जिनियरको काँधमा हुन्छ । जहाँँ जीवन अस्तव्यस्त हुन्छ, या त त्यहाँ इन्जिनियर नै हुँदैन, या मतिभ्रष्ट इन्जिनियरको जमातै हुन्छ । हाम्रो देशमा आखिर के होला ?

अन्तत्वः देशका यावत आयामहरु सञ्चालन गर्ने अभिभारा राजनीतिले नै बहन गरेको हुन्छ । त्यही राजनीतिलाई अँगाल्ने मान्छे नै भोलि नेता हुँदै राज्यसञ्चालनको प्रमुख पदमा आसीन हुन पुग्छ । तर, नेता आफैंमा सर्वज्ञाता भने होइन । यद्यपि, उसमा सही वा गलत छुट्याउन सक्ने विशिष्ट क्षमता भने हुनै पर्छ ।

नेताका कुरा बिट मार्दै अब एकैछिन नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) को कुरा गरौँ ।

नेपाल इन्जिनियर्स एसोसिएसन इन्जिनियरहरुको छाता संगठन हो । अझ भनौँ- आफ्नो विशिष्ट इन्जिनियरिङ्ग क्षमता, योग्यता र अनुभवलाई राष्ट्रको सर्वाङगीण विकासमा लगाउन आफ्नो र आफूजस्तै अन्यको आवाज पनि राज्यले सुनोस् भन्नाका खातिर स्थापित एक प्रतिनिधिमूलक संस्था ।

यो आलेख पढ्दै गर्दा धेरै पाठकले भन्नुहोला- ईस ! नापो तेरो छाता संगठनले ! हुन पनि हो । अहिलेको चुनावी प्रचार शैलीलाई हेर्ने हो भने ज-जसले उम्मेदवारको तर्फवाट भोट मागिरहेका छन्, तिनको एउटै थेगो छ- “… को प्यानललाई विजय गराइदिनुहोला ।’

के एउटा प्यानलका सबका सब ठीक, अनि अर्को प्यानलका सबका सब खराब भन्ने पनि होला र ? त्यो पनि विद्वतहरुको एउटा छाता संगठनमा ? व्यक्तिभन्दा प्यानल खडा गरेर भोट माग्ने शैली देख्दा चाहीँ यो शिक्षित भनाउँदो जमातले भोलि चुनाव जितेर केही नाप्ला या ननाप्ला म पनि दुविधामै छु ।

हुन त प्यानलको रक्षार्थ एक उम्मेदवारले भनेका थिए- चुनाव प्रचार गर्न तथा चुनावको माहोल तताउन सजिलो हुन्छ रे ! होला शायद । तर, के सबैले यो शैली मतदाताहरुले मन पराउलान् त ? विचार गरिदिएको भए हुन्थ्यो ।

इन्जिनियरिङ्ग विधाको दुविधा

नेपालमा इन्जिनियरिङ्गको पढाइ सकिसकेपछि स्वयं प्रमाणपत्रधारी नै अन्योलमा हुन्छ, मलाई के आउँछ वा केचाहिँ आउँदैन भनेर । सिधै भनौँ- जतिबेला जे चाहिने हो, त्यो चाहिँ आउँदै आउँदैन । वा, अलिअली आउँछ । अनि जे नचाहिने हो, त्योचाहिँ जति पनि आउँछ ।

इन्जिनियर पनि सामाजिक प्राणी हो, उसमा राजनैतिक चेत हुन्छ । आ-आफ्नो राजनैतिक झुकाव पनि होला । तर, आफूजस्तै विचार राख्ने दलको नेता भन्दैमा ‘घिउ र गोबर एकै हो’ भन्ने तर्कमा ताली पिटिपिटी समर्थन जनाउनु चाहीँ लज्जाको विषय हो

कुनै एउटा विधा पढेको विद्यार्थी सोही विषयमा दक्ष हुन सकिरहेको छैन । फलस्वरुप रोजगारदाताले खोजेको जनशक्ति ठ्याक्कै भेट्न गाह्रो छ भने शिक्षित बेरोजगारहरुको संगठन खोलेर चुनावमा थ्रेसहोल्ड जोगाउन असम्भव नहोला ।

प्रविधि, विकास तथा निर्माणका लागि चाहिने लगभग सबै विधाका जनशक्ति उत्पादन कारखाना नेपालमा छन् । तर, तिनको व्यवस्थापन भने भद्रगोल छ । सरकारको कार्यशैली हेर्दा सिभिल र आर्किटेक्चर, इलेक्ट्रोनिक्स र कम्प्युटर, एग्रिकल्चर र सिभिल लगायतका विधाको भिन्नतासम्बन्धी ज्ञान नै नभएको भान हुन्छ ।

महानगरपालिकामा लगभग सबै बिधाका ज्ञाता सिभिल इन्जिनियरले बस्नुपरेको छ । सिँचाइमा के सिभिल के कृषि इन्जिनियर जसले चान्स पायो, उसैले गरिदिन्छन् । आखिर नेपाली न हुन् । नविकरणीय उर्जा क्षेत्रमा त्यस्तै बलमिच्चाइँ छ । जसले भेट्यो उसैले भ्याइदियो ।

एउटा स्ट्रक्चर बनाउनुपर्‍यो भने साइट प्लानदेखि स्ट्रक्चरल तथा इलेक्ट्रिकलसम्म सिभिल नै ज्ञाता जस्ता देखिन्छन् । शायद बिकास निर्माणमा अस्तव्यस्तताको कारण कुन विधाको प्राविधिकले के गर्ने भन्ने कुराको स्पस्टता नभएर पनि हो कि ? अनि यस विषयमा सरकारको ध्यानाकर्षण कसले गराइदिने हो, चिकित्सक संघले वा बार एसोसिएसनले? नेपाल इन्जिनियर्स एसोसिएसनले त यसलाई आजसम्म आफ्नो कर्तव्यै ठानेन ।

भावी पदाधिकारीप्रति अपेक्षा

विकास निर्माणको गुणस्तरीयता, तदारुकता तथा सर्वसुलभतामा इन्जिनियरहरुको भूमिका अहम् हुन्छ । इन्जिनियर पनि सामाजिक प्राणी हो, उसमा राजनैतिक चेत हुन्छ । आ-आफ्नो राजनैतिक झुकाव पनि होला । तर, आफूजस्तै विचार राख्ने दलको नेता भन्दैमा ‘घिउ र गोबर एकै हो’ भन्ने तर्कमा ताली पिटिपिटी समर्थन जनाउनु चाहीँ लज्जाको विषय हो ।

यसर्थ, भावी पदाधिकारीहरु विकास निर्माणसम्बन्धी ऐन-नियममा भएका छिऽ, प्वालहरु टाल्न सरकारलाई नीतिगत सुझाव दिन सक्ने हैसियतका पुगुन् । दुरदराजमा विभिन्न चुनौतिहरु खेपेर अनवरतरुपमा राष्ट्र निर्माणमा लागिरहेका इन्जिनियरहरुको सानो आवाज पनि तत्काल सुनेर न्यायोचित कदम चाल्ने हैसियतका पुगुन् ।

जोखिमका आधारमा जिविकोपार्जन गर्न पुग्ने बीमासहितको वैज्ञानिक तलब स्केलका लागि पहल गरुन् । इन्जिनियरिङ्ग शिक्षाको चरम् बेथिती रोक्दै च्याउसरी खुलेका गुणस्तरहीन कलेजलाई दिइएका सम्बन्धनमाथि छानविन गराउन सक्ने हुन् । राष्ट्रिय-अन्तरराष्ट्रिय क्षेत्रमा भैरहेका दैनिक अनुसन्धान/अन्वेषणलाई विभिन्न सभा/गोष्ठी/सम्मेलनको आयोजना गरी स्वदेशी इन्जिनियरहरुलाई थप सुसुचित गराउने कुरामा महत्वपूर्ण भूमिका खेल्दै सम्पूर्ण इन्जिनियरहरुले अपनत्व गर्न सक्ने एउटा छाता संगठनको निर्माण गराउन सकुन् ।

साथै बदनियतपूर्ण काम गर्ने इन्जिनियरहरुलाई स्वयमं इनिनियर्स एसोसिएसनले नै भन्डाफोर गर्दै समाजमा इन्जिनियरहरुको छवि उच्च राख्न सफल होस् । सडक विभागमा काम गर्ने सरकारी सिभिल इन्जिनियर र पुनर्निर्माणमा खटिएका सिभिल इन्जिनियरको तलबबाट प्राप्त हुने खुशीमा तात्विक भिन्नता नहोस् । दशैंको आशिर्वादमा हराउँदै गएको ‘ठूलो भएर इन्जिनियर बनेस्’ भन्ने लोपोन्मुख आशिष पुनः मौलाएर आओस् ।

सम्पूर्ण कुशल इन्जिनियर उम्मेदवारहरुमा हार्दिक शुभकामना ।

(पोखरेल युवापुस्ताका इञ्जिनियर हुन् ।)      (अनलाईन खवर वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *