रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइँदै

 सञ्चिता घिमिरे

ललितपुर, २६ मङ्सिर (रासस) ः सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो ।

बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रवहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मच्छिन्द्रवहालको पश्चिम ढोकाबाट देवता भित्र्याइने गरिन्छ । मच्छिन्द्रनाथ यहाँ हुँदा नै महास्नान र दश कर्म हुन्छ । उहाँले भन्नुभयो, “वैशाख शुक्ल प्रतिपदाका दिन रथारोहणका लागि मात्रै मच्छिन्द्रनाथ पुल्चोक लगिन्छ, त्यतिञ्जेल यतै रहनुहुन्छ ।”

उपत्यकाकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्राको अवधि झण्डै ६ महीना हुन्छ । मच्छिन्द्रनाथको विभिन्न पूजा विधिका लागि ३१ पानेजु हुन्छन् । उनीहरूले विधिपूर्वक पूजा गरेर देवता पाटनमा ल्याउँछन् । पानेजुहरू पालैपालो देवता बोक्छन् । पौडेलले भन्नुभयो, “एक वर्ष एक जना पानेजुको पालो परेपछि अर्काे वर्षमा अर्कैको पालो हुन्छ ।”

बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्र वर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियमअनुसार नै उनीहरूले मन्दिरमा पालो बस्ने र देउता बोक्नेलगायतका काम पालैपालो गर्छन् । मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी हुने गरेको छ । देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम हुन्छ । त्यही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर मच्छिन्द्रनाथको विधिपूर्कक पूजा गर्छन् ।

बुङ्गमतीबाट पाटन ल्याएपछि नै मच्छिन्द्रनाथको जात्रा शुरु भएको मानिन्छ । मच्छिन्द्रनाथका कतिपय पर्व र कर्म साइतका आधारमा कतिपय तिथिका आधारमा सञ्चालन हुने गरेको छ । ज्योतिषले निकाले साइतका आधारमा गरिने पर्वहरूको मिति तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व (नुहाउने पर्व), यचिक त्याग (पवित्र पार्ने काम), चा पूजा (माटो पूजा) र पीठ पूजा (पछाडिको पूजा) को साइत ज्योतिषले निकालेको हो । देवता पाटन ल्याएपछि माघ ३ गते स्नान पर्व, माघ ११ गते यचिक त्यगु, चा पूजाको माघ २९ गते साइत निस्केको छ । त्यस्तै, फागुन १८ गते पीठ पूजाको साइत निस्केको छ । शाखाका प्रमुख सैलेन्द्र पौडेलले भन्नुभयो, “हामीले आवश्यक तयारी शुरु गरिसकेको छौँ ।”

ज्योतिष कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलबजारस्थित सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्नुभएको थियो । साइत हेर्ने परम्परामा भने धेरै परिवर्तन आइसकेको ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । सोह्र खुट्टेपाटीमा हिरण्यवर्ण महाविहारका ३२ पुजारी पुग्थे । विस्तारै १६ हुँदै अहिले एक जना पनि पुजारी यहाँ आउँदैनन् । पहिले साइत हेर्नका लागि चार ज्योतिष हुनुपथ्र्याे । बाचक, लेखक, स्रोता र दर्शक गरेर गुठी संस्थानमा चार ज्योतिषको दरबन्दी छ । नयाँ मान्छे नियुक्ति नगर्दा वर्षाैँदेखि दुई ज्योतिषले मच्छिन्द्रनाथको साइत हेर्दै आएका छन् । ज्योतिष जोशीले भन्नुभयो, “महत्व नबुझ्दा जात्राका कतिपय कुरा खुम्चँदै छ ।”

साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महीनाको हिसाबले पनि मच्छिन्द्रनाथको कुनै पनि काम पुसमा गर्न शुभ मानिँदैन । त्यसैले, अधिकांश वर्षमा मङ्सिरमा नै साइत हेरिसक्ने गरिएको छ । रातो मच्छिन्द्रनाथलाई सहकालका देवता मान्निछ । वर्षेनी आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरकफरक काम तोकिएको छ । एउटा जातको सहयोग नभई जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मच्छिन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रासमेत बन्दै गएको छ ।

पहिलेपहिले जात्रामा काठमाडौँवासी र भक्तपुरवासीसमेत सहभागी हुन्थे । सिङ्गो पाटनमा रथ परिक्रमा गराउँदा पाटनवासी, काठमाडौँवासी र भक्तपुरवासीले रथ तान्ने क्षेत्र छुट्टयाएको हुन्थ्यो । अहिले भने सबैतिर पाटनवासीले नै तान्छन् । मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न भने उपत्याकाका सबै क्षेत्रबाट पाटन आउने गरेका छन् ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *