खानेपानीको समस्यामा मौलाथरवासी

बेझाड/ पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् ।

गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् ।

बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिलेसम्म उस्तै रहेको मौलाथरका उदयराम सोती बताउनुुहुन्छ ।

“बिहान उठेपछि सबै काम छाडेर पानी खोज्न जाने हो, पल्लो गाउँमा रहेको कुवा, धारामा पानी लिन जानेको ठूलो भीड हुन्छ, पालो पर्खेर बस्दा बिहान बित्दछ”, सोतीले भन्नुभयो । जनसङ्ख्या धेरै तर पानीको स्रोत कम हँुदा लामो समयसम्म पालो पर्खेर बस्नुपरेको उहाँको भनाइ छ ।

वर्षौदेखि यहाँ खानेपानीको चरम समस्या छ, तर अहिलेसम्म यो समस्या समाधान हुनसकेको छैन । मौलाथर गाउँमा ४२ घरधुरीका करीब ३५० जना बसोबास गर्ने गरेको स्थानीवासी रुमबहादुर रानाले बताउनुभयो । “जनसङ्ख्या बढ्दै गएको छ, खानेपानीका मुहान सुक्दैछन्, खानेपानीका साथै गाईभँैसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाह्रो छ”, उहाँले भन्नुभयो ।

चुनावका बेला गाउँमा पुगेका नेताले खानेपानी ल्याइदिने आश्वासन देखाउँदै जनतासँग भोट माग्ने गर्छन् तर चुनाव जितेपछि गाउँको विकासमा ध्यान नदिएको रानाको गुनासो छ ।

मौलाथरवासीलाई टाढाबाट पानी बोकेर जीविका चलाउन निकै कठिन छ । “समयमा नै छोराछोरीलाई स्कूल पठाउनुपर्ने, घरायसी कामधन्दा पनि सक्नैप¥यो, पानीको सुविधा नहँुदा जीविका चलाउन गाह्रो परेको छ, चुनाव आउँदैपिच्छे राजनीतिक दलका नेता तथा उम्मेदवारले पानी ल्याइदिन्छाँै, भोट देऊ भन्छन् तर चुनाव जितेपछि उनीहरू गाउँ फर्कदैनन्”, स्थानीयवासी ऋषिमाया खन्गाहा भन्नुहुन्छ ।

यहाँका स्थानीयवासीले बस्तीदेखि लगभग दुई किमी पर रहेको रिपादी धारा र माग्दी गैराबाट पानी उपभोग गर्दै आइरहेका छन् । खानेपानीको समस्या समाधान भएको खण्डमा यहाँका स्थानीयवासीले तरकारी, अन्नबाली, फलफूल लगाएर आम्दानी पनि गर्न सक्ने प्रशस्त सम्भावना छ । खानेपानी लिफ्टिङको योजना यो गाउँमा यसै वर्ष परे पनि काम भन्ने शुरु हुन सकेको छैन ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *