कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित

 धु्रबसागर शर्मा

गलेश्वर/ वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ ।

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रित रूपमा ढल मिसाउनेजस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औधोगिक फोहरमैला थुप्रिने गर्दछ । हिन्दू धर्मावलम्बीहरूका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको यो नदीलाई शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रूपमा लिने गरिन्छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवं मित्र जीवको सट्टा हानीकारक शत्रु जीवको उर्वर बासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको वातावरण संरक्षणका अभियन्ता चन्द्रमणि सापकोटाले बताउनुभयो ।

हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अङ्शका रूपमा पूजा आराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी कालीगण्डकीलाई प्रदूषणको चपेटाबाट मुक्त गर्न ‘कालीगण्डकी बचाउ’ अभियानमा सबै सक्रिय हुनुपर्ने धारणा वातावरणविद्को छ ।

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फवाट प्रदूषित बन्दै गएको छ । प्रकृतिमा देखिएका असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित बनेको सरोकारवालाले बताएका छन् । यसले गर्दा नदीको अस्तित्वसमेत खतरामा परेको वातावरणविद्को भनाइ छ ।

कृषि प्राविधिक शिक्षातर्फ विद्यार्थीको बढ्दो आकर्षण

म्याग्दीको मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १८ जिल्लाबाट विद्यार्थी आएका छन् ।

कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधारको अभाव हुँदै गएको छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, गत वर्षदेखि तीनवर्षे आइएस्सी (एजी) र यस वर्षदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा अध्यापन सुरु भएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताउनुभयो ।

संयोजक कडेलका अनुसार जेटिए र आइएस्सी (एजी) विषयमा १२३ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये ७३ छात्रा र ५० छात्र छन् । मासिक रु पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको हो ।

आइएस्सी (एजी) प्रथम सेमिस्टरमा अध्ययनरत पर्वतकी गरिमा नेपालीले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि कृषकलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताउनुभयो ।

त्यसैगरी एजी दोस्रो सेमिस्टरमा अध्ययनरत सन्देश भण्डारीले नेपाली युवालाई व्यावसायिक कृषितर्फ प्रोत्साहित गरी कृषि उत्पादनमा वृद्धि गर्ने र कृषिबाट नै आयआर्जन गर्न सकिन्छ भन्ने चेतना विस्तार गर्नका लागि आफूले कृषि विषय रोजेको बताउनुभयो । १८ महीने जेटिएमा अध्ययनरत जमुना घिमिरेले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताउनुभयो ।

स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका विमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गबहादुर गर्वुजाले बताउनुभयो ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्धारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका प्रमुख गर्वुजाको भनाइ छ । गर्वुजाका अनुसार यस वर्षदेखि कृषिका साथै भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा पनि प्रदान गरिने भएको छ ।   (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *