एन्फाको प्रशिक्षक प्रशिक्षण इटहरीमा सुरु

इटहरी÷अखिल नेपाल फूटबल संघ एन्फाले फूटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक नम्बर प्रदेशबाट सुरु गरेको छ । एन्फा सुनसरीको संयोजनमा सोमबारबाट इटहरीमा सुरु भएको फूटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम आगामी शुक्रबारसम्म चल्नेछ ।
कार्यक्रमको एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले उद्घघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै राईले नेपाली फूटबलमा लामो संघर्षपछि परिवर्तन आएकाले फूटबलले गति लिन थालेको बताए । उनले फूटबल नेपाललाई चिनाउने माध्यम बनाउने गरी काम गर्न एन्फा लागिपरेको जानकारी दिए । फूटबल खेलेर बाँच्न सक्ने न्युनतम आधार तयार गर्न सक्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले केही समययता चलायमान हुन नसकेको एन्फा एकेडेमीलाई चांडै गति दिने समेत जानकारी दिए ।
कार्यक्रममा बोल्दै एन्फा प्रवक्ता किरण राईले नेपाली फूटबलमा लामो समयदेखीको सिण्डीकेट अन्त्य भएकाले यसप्रकारको प्रशिक्षक प्रशिक्षण कार्यक्रम ल्याउन बर्तमान कार्यसमिती सफल भएको बताए । देश संघियतामा गएसंगै नेपाली फूटबलको संरचना पनि परिवर्तन गर्न लागिएकाले एन्फाले प्रदेश लिग र जिल्ला लिग गर्ने तयारी गरेको जानकारी दिए । यस्तै प्रत्येक नगरमा नगर समिति समेत गठन गर्ने तयारी गरिरहेकोले तालिम लिएर योग्य भएका प्रशिक्षकहरु बेरोजगार बन्नुपर्ने अवस्था नरहने प्रवक्ता राईले दाबी गरे । एन्फा केन्द्रिय सदस्य दीपक राईले सहभागी प्रशिक्षार्थीहरुलाई आधारभूत तालिम पश्चात सी लाइसेन्सको लागि सिफारिस गरिने बताए । तालिममा एक नम्बर प्रदेशका १० जिल्लाबाट ३४ जना सहभागी रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । पांच दिनसम्म चल्ले प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एन्फा टेक्निकल डाइरेक्टर ताकिता चाइकी, एन्फा उपाध्यक्ष एवम प्रशिक्षक उपेन्द्रमान सिंह, एन्फा ग्रास सुट म्यानेजर संजित सिंहले प्रशिक्षण दिनेछन् । गोलकिपरको लागि मित सुमारा तोसिहिरोले प्रशिक्षण दिने कार्यक्रम रहेको एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए ।     अर्जुन सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *