भोलि सिलान्यास हुने जनता पार्क विवादमा

इटहरी÷इटहरी उपमहानगरपालिकाको ‘जनता पार्क इटहरी’ कार्यक्रम शिलान्यास हुनु भन्दा अगावै विवादमा परेको छ । इटहरी उपमहानगरपालिकाले मंसिर २० गते मुख्यमन्त्री शेरधन राईबाट जनता पार्क इटहरी शिलान्यास कार्यक्रम गर्ने जनाएको छ । तर सो कार्यक्रमबारे स्वयम उपमहानगरपालिकाकी उपमेयर भने वेखबर बनेकी छिन् । प्रदेश १ का मुख्यमन्त्रि नै ल्याएर तामझाम सहित गर्ने भन्दै निमन्त्रण पत्र बाँडेर प्रचारप्रसार भइरहेको बेला कार्यक्रमबारे आफूलाई जानकारी नै नभएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् ।
मंगलबार इटहरी उपमहानगरपालिकामा क्रिकेट मैदान मास्न लागेको आशंका गर्दै ज्ञापनपत्र बुझाउन गएका खेलाडीको ज्ञापनपत्र बुझ्दै उपमेयर लक्ष्मी गौतम स्वयम बेखवर भएको बताइन् । ‘दुई दिनपछि कार्यक्रम छ अरे भन्ने सुनिएको हो, मलाई चाँही जानकारी छैन’ उपमेयर गौतमले भनिन्– ‘जानकारी छैन भन्दा तपाईहरुकै सञ्चार माध्यम, रेडियो पत्रपत्रिकाबाट सुनेको हुँ ।’ उपमेयरले यसो भनिरहँदा ज्ञापनपत्र बुझाउन गएका खेलाडी, खेल आवद्ध संस्थाका पदाधिकारी र पत्रकार सबै छक्क परेका थिए । उपमहानगरपालिकाले बुधबार कार्यपालिकाको बैठक बोलाइएको पनि उपमेयर गौतमले जानकारी दिइन् । उपमहानगरपालिकाको बार्षिक बजेट पुस्तिकामा जनता पार्क कार्यक्रम इटहरी–५ नम्बर वडामा गर्ने भनिएको छ । तर एकाएक कसरी वडा नम्बर–९ मा सारियो त्यो पनि आफूलाई जानकारी नभएको उपमेयर गौतमले स्पष्ट पारिन् । मंसिर २० गते मुख्यमन्त्री ल्याएर गर्ने भनिएको कार्यक्रम पनि कार्यपालिकाबाट पारित नभएको पनि जानकारी दिइन् ।
वडा नम्बर ९ मा रहेको सार्वजनिक जग्गाको सदुपयोग गर्दै क्रिकेट मैदान बनाइएको थियो । तर सोही क्षेत्रमा घेराबारा सहित पार्क बनाउन उपमहानगरले तयारी थालेको बुझिएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीले कार्यक्रममा सहभागी हुन निमन्त्रणा पत्र बाँडिरहेका छन् । बाँडिएको निमन्त्रणामा स्थान भने जुट अनुसन्धान तथा रेशम खेती विकास कार्यक्रमको पूर्वी किनार लेखिएको छ । बिरोधपछि खेलाडीले दावी गरेको स्थानमा कार्यक्रम हुने वा नहुने त्यो स्पष्ट हुन सकेको छैन ।
आन्दोलन गर्ने खेलाडीको चेतावनी
सातौँ राष्ट्रिय महिला क्रिकेट सहितका अन्य राष्ट्रिय प्रतियोगिता हुँदै आएको क्रिकेट मैदानमा पार्क बनाउन लागेको भन्दै खेलाडीहरु विरोधमा उत्रिएका छन् । इटहरी उपमहानगरपालिकाले क्रिकेट मैदान मास्न खोजेको भन्दै इटहरीका खेलाडीहरुले पहिलो चरणमा ज्ञपान पत्र बुझाएर अन्दोलन सुरु गरेका छन् ।
आन्दोलको पहिलो कार्यक्रम अन्तर्गत उनीहरुले मंगलबार इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् । इटहरी क्रिकेट एकेडेमी, सेभेन स्टार क्लव, इटहरी ग्रिन सिटी क्रिकेट क्लब, सुनसरी जिल्ला क्रिकेट संघ लगायतका संस्थाका पदाधिकारी सहित क्रिकेट खेलाडी र खेलसँग आवद्ध सरोकारवालाहरु ज्ञपानपत्र लिएर उपमेयर भेट्न पुगेका थिए । मेयर द्वारिकलाल चौधरीले ज्ञापनपत्र बुझ्न समय नदिएपछि उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाइएको खेलाडीहरुले बताएका छन् । इटहरीको क्रिकेटको भविष्य नै सक्ने गरी मैदान मास्न लागेकाले विरोध गर्नु परेको जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । उपमहनगरको यो कदम कदापी स्विकार गर्न नसकिने उनले बताए । आफ्ना मागका विषयमा कार्यपालिका बैठकमा उठाईदिन आग्रह गरे ।
क्रिकेट मैदानमा अहिले पनि दैनिक रुपमा खेलाडीहरु अभ्यास गर्दै आएको इटहरी क्रिकेट एकेडेमिका अध्यक्ष कैशाल विष्टले बताए । हिजो खेलाडीहरुले पसिना बगाएर बनाएको मैदान मासेर पार्क बनाउन नदिने उनले बताए । पसिना बगाउने खेलाडी मैदानका लागि रगत बगाउन पनि तयार रहेको चेतावनी दिए ।
ज्ञापनपत्र बुझ्दै उपमेयर लक्ष्मी गौतमले तयारी मैदान मास्ने विषयमा आफु गम्भिर रहेको बताइन् । खेलको विकास र त्यसमा पनि क्रिकेटको विकासका लागि लगानी गर्नुपर्ने अवस्थामा बनेको संरचना मास्ने विषय उचित नहुने उनको तर्क थियो । यो विषयमा आफूले कार्यपालिकाको बैठकमा आवाज उठाउने आश्वासन दिईन् । कार्यक्रमको विषयमा आफूलाई जानकारी नै नभएको उपमेयर लक्ष्मी गौतमले बताइन् । कार्यक्रमको विषयमा आफुलाई जानकारी नभएको र कार्यपालिकाबाट पारित पनि नभएको पनि उनले ज्ञापनपत्र लिँदै सबैलाई जानकारी गराइन् ।
सार्वजनिक जग्गाको उपयोग गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने गरी क्रिकेट मैदान निर्माण गरिएको थियो । मैदान तयार भएपछि साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट, दोस्रो प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियागिता र अन्डर १९ राष्टिूय प्रिमियर लिग सम्पन्न भइसकेको छ । उक्त मैदानको केही दिन अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, पोखरा प्रिमियर लिगका प्रमुख आयोजक छुम्मि लामा, बिराटनगर किग्सका टिम मालिक पारस लुनिया, क्रिकेटका राष्ट्रिय प्रशिक्षक प्रदीपराज पाण्डे, लगायतको टोलीले निरीक्षण गरेको थियो । निरिक्षणका क्रममा उनीहरुले मैदान एक नम्बर प्रदेशकै उत्कृष्ट भएकाले संरक्षण गरी थप स्तर उन्नती गर्नुपर्ने बताएका थिए ।  (श्रीजनमत साप्ताहिक वाट)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *