सङ्घमा देखिएको विवाद अन्त्य गर्ने :मन्त्री विश्वकर्मा

काठमाडौँ/ युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्ने पर्ने बताउनुभयो ।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकूदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने बताउँदै खेलकूद सङ्घमा रहेको विवादको अन्त्य गर्न जरुरी छ भन्नुभयो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने बृहत् राष्ट्रिय खेलकूदको आठौँ संस्करण समयमै हुने बताउँदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौँ राष्ट्रिय खेलकूद समयमा हुँदैन कि भन्नेमा आशङ्का नरहेको बताउनुभयो ।

सदस्य–सचिव विष्टले १३ आँै दक्षिण एशियाली खेलकूद गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिने हिसाबले सागको तयारी अगाडि बढाइरहेको जानकारी दिनुभयो । खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलाडीको प्रोत्साहन, स्तरीय तालिम र सामाजिक सुरक्षाका विषयमा अझ वृद्धि गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको बताउनुभयो ।

सो अवसरमा राखेप तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले १८ औँ एशियाली खेलकूदको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आठौँ राष्ट्रिय खेलकूद–२०७५ तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीले आठौँ राष्ट्रिय खेलकूदको हालसम्मको तयारीबारे प्रकाश पार्नुभएको थियो ।    (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *