‘सामाजिक जागृतिकालागि एकापसमा हातेमालो गरेर हिड्न आवश्यक

विराटनगर÷उपप्रधान मन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसाविरुद्धको अभियान सामाजिक आन्दोलनको अङ्ग बन्नुपर्ने बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सामाजिक अभिशापका रूपमा रहेको महिला हिंसालाई अन्त्य गर्न सबै राजनीतिक दलको छलफलको विषय बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास, समृद्धि र सामाजिक जागृतिका लागि एकापसमा हातेमालो गरेर हिँड्नु आवश्यक रहेको उल्लेख गर्दै महिला हिंसाविरुद्धको सचेतना कार्यक्रममा व्यापकता ल्याउनुपर्ने बताउनुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महिला हिंसाको विषयमा प्रदेश सरकारले शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसाले हिंसा रोक्न अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले परम्परागत सोच र मान्यताका कारण समाजमा महिला हिंसा बढिरहेको चर्चा गर्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिला हिंसा अन्त्य गर्न सचेतना ल्याउनुपर्ने धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिला हिंसा रोक्न कानूनमा कठोरता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख र सरोकारवाला गरी ३०० जनाको सहभागिता रहेको थियो ।
(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *