सडक सुरक्षा प्रभावकारी बनाउन आग्रह

इटहरी/विश्वमा रहेका अपाङ्गताहरूमध्ये सबैभन्दा धेरै अपाङ्गताहरू सडक दुर्घटनामा परेर अंगभंग भएकोले सडक सुरक्षा र घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियान्ताहरूले आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा हेल्पिङ युथ इटहरीको आयोजना तथा सि एस डि नेपाल, रोट्रायाक्ट क्लब अफ इटहरी, युवा बिकास केन्द्र, इटहरी एप्स, युथ फर ब्लड लगायत बिभिन्न सामाजिक संस्थाहरुले इटहरी चौकमा सडक सुरक्षा जनचेतनाका लागि प्लेकार्ड प्रदर्शन गर्दै उनीहरूले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।
सडक सुरक्षा अभियान्ता तथा हेल्पिङ युथका अध्यक्ष घनेन्द्र पौडेलले सवारी दुर्घटनाका कारण पहिचान गरी दुर्घटना न्यूनीकरण गर्न र दुर्घटनामा परेकालाई अस्पताल लैजानुपूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनाको अभाव रहेको बताउँछन् । ‘सडक पूर्वाधारको अवस्था दयनीय छ,’ उनले भने, ‘कुल भूभागको करिब ४ प्रतिशतमात्रै सडकले ओगटेको छ, चौडा सडक छैनन्, धेरै लेन भएका सडक नगण्य छन्, कुन बेला कहाँ दुर्घटना हुन्छ, थाहै हुँदैन ।’ उनले दुर्घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा वा बेलैमा उपचार नपाएर मृत्यु हुने करिब ६० प्रतिशत घाइते रहेको बताए । एम्बुलेन्स वा अन्य सवारीमा घाइतेलाई राख्दा कोचेर राख्ने परम्परा अन्त्य गर्नुपर्ने बताए । सडक र यातायात क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा धनजनको क्षति हुने क्रम बढेको बताउँछन् । ‘सडक प्रयोगकर्ताको अनुशासन विकास गर्नुपर्छ, आपतकालीन उपचारलाई सहज बनाउनुपर्छ,’ उनले भने, ‘दुर्घटना बढी हुने क्षेत्रका स्थानीयलाई सडक सुरक्षाका बारेमा जानकारी दिने र आकस्मिक उद्धारबारेका आधारभूत तालिम दिनुपर्छ ।’ त्यसैगरी आगामी वैशाखमा प्रदेश नं १ को सडक सुरक्षा सम्मेलन हुने र उक्त सम्मेलनमा भारत, नेदरल्यान्ड, इटाली लगायतका अतिथिहरूको उपस्थित रहनेकुरा हेल्पिङ युथ अन्तर्राष्ट्रिय सल्लाहकार मेवा शिङले बताए ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *