रोनाल्डो र मेसी बीच रेकर्डमा जुहारी

बार्सिलोनाका लियोनल मेसी र युभेन्टसका क्रिस्टियानो रोनाल्डो अहिले एकै प्रिमियर लिगबाट खेल्दैनन् । रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएपछि रोनाल्डो सबैलाई आश्चर्यमा राख्दै युभेन्टस गए । मेसी प्राणभन्दा प्यारो बार्सिलोनामै छन् । यी दुईबीच स्पेनिस लिगमा रहँदा सर्वाधिक गोल गर्नेको रेकर्डमा होडबाजी चल्थ्यो । रोनाल्डो सिरिए लिगमा लाग्दा स्पेनिस लालिगामा मेसी एक्लो रेसका घोडाझैँ भएका छन् । उनका अगाडि रोनाल्डोजत्तिको चुनौती दिन सक्ने खेलाडी खासै नभएको स्पेनिस मिडियाहरूले दाबी गरेका छन् । तर, च्याम्पियन्स लिगमा भने रोनाल्डो र मेसीबीच गोल, रेकर्ड र अन्य पक्षबीच लडाइँ भइरहनेछ । समूह चरणको पाँचौँ खेलमा यस्तै भइदियो ।

मेसीको रेकर्ड तोड्न कठिन
रेकर्डहरू तोड्नकै लागि बन्ने हुन् । तर, यसपटक मेसीले राखेको रेकर्ड तोड्न अन्य खेलाडीलाई सहज छैन । एकै क्लबबाट सयभन्दा बढी च्याम्पियन्स गोल गर्न पहिलो कुरा त प्रदर्शनमा एकरूपता हुनुपर्छ । यसका साथै क्लबको प्रदर्शन पनि निरन्तर माथिल्लो स्तरमा हुनु आवश्यक छ । यी दुवै संयोग मिल्दा मात्र कुनै एक खेलाडीले मेसीले हाल राखेको रेकर्ड तोड्न सम्भव छ । मेसीको नजिकका प्रतिद्वन्द्वी रोनाल्डोले पनि अब रेकर्ड तोड्न सक्दैनन् । युभेन्टसबाट उनले १ गोलबाट खाता खोलेका छन् ।

उमेरको हिसाबले पनि रोनाल्डोको करिअर धेरै छैन । एक स्ट्राइकरले बढीमा ३६ वर्षसम्म खेल्न सक्ने विश्लेषकहरू मान्छन् । रोनाल्डो अहिले ३३ वर्ष भइसकेका छन् । उनका अगाडि ३ देखि ४ सिजनभन्दा क्लब र राष्ट्रिय टोली करिअर नभएको विश्लेषकहरूले दाबी गरेका छन् । यस अर्थमा मेसीको रेकर्ड अब भविष्यमा कुनै नयाँ स्टार खेलाडीले मात्र तोड्न सक्छन् । तर, ती खेलाडी कम्तीमा पनि एक दशकसम्म त्यही क्लबबाट खेल्नुपर्छ र दनादन गोल गर्नुपर्छ । यता करिअर समाप्तिसम्म मेसीले च्याम्पियन्स लिगमा बार्सिलोनाबाट व्यक्तिगत गोल संख्या कति पु-याउने हुन्, भविष्यले नै बताउनेछ ।

धेरै गोल गर्नेमा रोनाल्डो अगाडि

मेसीले दुई रेकर्डमा आफूलाई अगाडि राखे पनि रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा बनाएका छन् । अहिलेसम्म रोनाल्डोले सर्वाधिक १ सय २१ गोल संख्या पु-याएका छन् । उनले यसका लागि १ सय ५८ खेल खेले । म्यानचेस्टर युनाइटेड, रियल तथा युभेन्टसबाट प्रतिस्पर्धा गरी रोनाल्डोले सो कीर्तिमान राखेका हुन् । रोनाल्डोले च्याम्पियन्स लिगमा डेब्यु गोल सन् २००७ मा गरेका थिए । उनी म्यानचेस्टर युनाइटेडबाट रोमाविरुद्ध गोल गर्न सफल भए । रोनाल्डोपछि मेसी दोस्रो स्थानमा छन् । मेसीले बार्सिलोनाबाट १ सय २८ खेलमा १ सय ६ गोल संख्या पु-याएका छन् । मेसीले २००५ मा पानाथिकोसविरुद्ध च्याम्पियन्स लिगमा डेब्यु गोल ठोकेका थिए । रियलकै पूर्वखेलाडी राहुल गोन्जालेज ७१ गोलका साथ तेस्रो स्थानमा छन् ।

एकै क्लबबाट धेरै गोल
बार्सिलोनाले पिएसभीविरुद्ध प्रतिस्पर्धा गर्दा मेसीले ६१औँ मिनेटमा आकर्षक गोल गर्दा च्याम्पियन्स लिगमा एउटा रेकर्ड बन्यो । एकै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान मेसीले राखे । मेसीले अरू कसैको नभएर रोनाल्डोकै रेकर्ड नै भंग गरे । पिएसभीविरुद्ध गोल गर्नुअघिसम्म रोनाल्डो र मेसीले आफू आबद्ध क्लबबाट च्याम्पियन्स लिगमा समान १ सय ५ गोलको रेकर्ड राखेका थिए । तर, पिएसभीविरुद्धको गोलपछि अब मेसीको नाममा १ सय ६ गोल पुगेको छ । सन् २००९ देखि २०१८ सम्म रियलमा रहँदा रोनाल्डोले १ सय ५ गोल गरेका थिए । मेसीले २००५ देखि बार्सिलोनामै आबद्ध हुँदै यो रेकर्ड बनाएका हुन् ।

छिटो सय गोल
च्याम्पियन्स लिग इतिहासमा मेसीको नाममा अर्को रेकर्ड छ । लिगमा छिटो सय गोल संख्या पार गर्ने मेसी नै हुन् । गत सिजनमा उनले ओलम्पिकोसविरुद्ध गोल गर्दै व्यक्तिगत सय गोल पु-याएका थिए । यसका लागि उनले १ सय २३ खेलको सहयोग लिए । यता च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने रोनाल्डोले सयको आँकडा पार गर्न १ सय ४४ खेलको सहायता लिए । उनले गत सिजनमा पानाथिकोसविरुद्ध गोल गरी सो उपलब्धि हात पारेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगको एकै सिजन धेरै गोलको कीर्तिमान राखेका छन् । सन् २०१७ मा उनले १७ गोल गरे ।

धेरै ह्याट्रिक
सन् २०१० देखि २०१८ को सिजनसम्म रोनाल्डो र मेसीबीच नै च्याम्पियन्स लिग रुमलिरहेको देखिन्छ । च्याम्पियन्स लिगमा मेसी र रोनाल्डोबीचको तथ्यांकीय भिडन्त भइरहेको छ । मेसीले सबैभन्दा बढी ८ पटक ह्याट्रिक लगाएका छन् । रोनाल्डोले मेसीलाई पछ्याउँदै ७ पटक हयाट्रिक जमाएका छन् ।

च्याम्पियन्स लिगमा मेसी यस्ता खेलाडी हुन्, जसले एकै खेलमा व्यक्तिगत ४ गोल गरेका छन् । उनले यो उपलब्धि बायर्न म्युनिखविरुद्ध हासिल गरेका हुन् ।
                                                                                                                                                                                                        (नया पत्रिकाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *