अरुण–३ प्रभावकारी बनाउन विराटनगरमा छलफल

कुमोद अधिकारी
विराटनगर/नेपाल सरकारको सवैभन्दा ठुलो परियोजना अरुण–३ जल विद्युत आयोजनाको निर्माण कार्यलाई थप प्रभावकारी बनाउन आयोजनाले विहीवार प्रदेश नम्बर १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंंग सम्बन्धित व्यक्तिहरुसंग छलफल गरेको छ ।
नेपाल सरकार लगानी वोर्डको कार्यालयले विराटनगरमा गरेको सहजिकरणमा भएको कार्यक्रममा अरुण–३ मा कस्तो खालको निर्माण समाग्री प्रयोग गर्ने र निर्माण समाग्री कहाँबाट कसरी उपलव्ध गराउने विषयमा छलफल भएको थियो ।
उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्पादित निर्माण समाग्री प्रयोग गर्नुपर्ने बताए उनले आयोजनालाई चाहिने सिमेन्ट, ढुंगा गिटि तथा डण्डि सवै प्रकारका निर्माण समाग्री स्वदेशमै उत्पादन हुने भएकाले सोही समाग्री प्रयोग गर्न आग्रह गरे ।
उद्योग संगठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले, आयोजनामा स्वदेशमै उत्पादित गुणस्तरयुक्त समाग्री प्रयोग हुनुपर्नेमा जोड दिए । उनले आयोजना निर्माणका लागि बाह्य मुलुकबाट निर्माण समाग्री ल्याउने नभई स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निर्माणमा पहिलो प्राथमिकता नेपालमा उत्पादित सामाग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामाग्रीमात्र अन्य मुलुकबाट ल्याइने बताए । निर्माणमा प्रयोग हुने कतिपय समाग्री नेपालमा उत्पादन नहुने गरेको उनको भनााइ थियो ।
उनले कोसी राजमार्ग ठाउँ–ठाउँमा भत्केकाले समाग्री ढुवानीमा समस्या हुने गरेको बताए । शर्माले ६ महिना देखि आयोजनाको काम शुुरु भएको र सो आयोजना तोकिएको समयमा सम्पन्न हुने समेत बताए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. १ प्रमुख सचिव केदार न्यौपानेले, अरुण–३ प्रदेशकै लागि गौरवको विषय भएको भन्दै परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले यो परियोजनाले प्रदेश नं. १ विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाद रुपले लगानी गर्न लगानिकर्तालाई आग्रह गरे । आयोजना निर्माणका लागि २०७१ साल मंसिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एस.जे.भि.एन अरुण–३ पावर डेभलोप्मेन्ट कम्पनि विच सम्झौता भएको थियो । ५ वर्ष भित्र निर्माण सम्पन्न गरिने सो आयोजनाको निर्माण लागत १०४ अर्ब रुपैया रहेको छ भने आयोजनाको विद्युत उत्पादन क्षमता ९ सय मेगावाट रहेको छ । परियोजना निर्माणका लागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने कार्यक्रममा जानकारी गराइयो ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *