प्रहरीकै अगाडी छुरा प्रहार गरी लुटपाट

इटहरी/इटहरीको एक मनि ट्रान्सफरमा लुटपाट भएको छ । बुधबार दिउँसो विराटनगर लाइनमा रहेको एक्टिभ मनि ट्रान्सफरमा लुटपाट भएको हो ।
लुटेराले त्यहाँ कार्यरत कर्मचारी सविन दाहालमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । मुखमा कालो पट्टी बाँधेर आएका व्यक्ति र सञ्चालकबिच केही समय घम्साघम्सी समेत भएको थियो । इटहरी–९ स्थित बिराटनगर लाईनमा रहेको एक्टिभ मनि ट्रान्सफरका सञ्चालक सबिन दाहाललाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको अवस्था सामान्य रहेको सुनसरीका एसपी राजन अधिकारीले बताए । २८ बर्षीय दाहालको घर संखुवासभा जिल्ला भएको बताइएको छ ।
छुरा प्रहारले उनको देव्रे कोखामा गहिरो चोट लागेको छ । छुरा रोक्न खोज्दा दाहालको दाहिने हातको बुढी औलामा पनि सामान्य चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार दुईजनाको समूहमा आएका युवाले काउन्टरमा रहेका दाहाललाई छुरा देखाएर पैसा लुट्न खोजेका थिए । तर सञ्चालक दाहालले प्रतिकार गरेपछि लुटेराले छुरा हानेका थिए । छुरा प्रहार भएपछि दाहाल ढलेका थिए ।
उनलाई छेउमै रहेको मेघा डेण्टलका डा. तृप्तनारायण यादवले अस्पताल पु¥याएका हुन् । कति पैसा लुटियो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । लुटेराले प्रयोग गरेको छुरा ट्रान्सफर मै खसेको छ । पैसा लुटेर दौडिदै दुईजना भागेको प्रत्यक्षदर्शीले देखेका थिए । २० मिटरको दुरीमा रहेको प्रहरी बिटै अगाडी लुटपाट हुदा प्रहरी समेत समयमै नआएको भन्दै स्थानीयहरु आक्रोशित बनेका थिए । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । घटनापछि आसपासका क्षेत्रमा प्रहरीले व्यापकरुपमा सर्च गरेको थियो । वुधवारे हटिया पनि नजिकै लागिरहेको अवस्थामा लुटेराले लुटपाट गरेका थिए । हटियाको दिन यो क्षेत्रमा बढी भिडभाड हुने गर्दछ । वुधवार साँझ शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही बर्ष अघि यस्तै शैलीमा लुटेराले सुन पसल लुट्न खोजेका थिए । विराटनगर लाइनमै एक बर्ष अगाडि सुन पसलमा दिउसै लुटपाट भएको थियो । घटनाक्रमले इटहरीको सुरक्षा व्यवस्था फितलो भएको देखाउछ ।  (श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *