आईजीपीलाई ज्वाई भन्दै ठगी गर्ने पक्राउ

विराटनगर/नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भान्जे ज्वाई भएको बताउँदै ५० जना व्यक्तिलाई ठगी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र बिजनेश मेनेजमेन्ट ग्रुप खोलेर ५० जनालाई ठगी गरेको आरोप लागेका गुणराज ओझालाई प्रहरीले पक्राउ गरेको हो । मोरङको लेटाङ घर भइ विराटनगर–५ मा बस्दै आएका ओझालाई मोरङ प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । विराटनगर–५ स्थित ससुराली घर बस्दै आएका उनलाई पक्राउ गरेको हो ।
जल विद्युत र बिजनेश म्यानेजमेन्ट ग्रुपको नाममा अधिकृतदेखि पियनस्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगी गरेका ओझाले तलब माग्ने कर्मचारीलाई उल्टो ज्यान मार्ने धम्की दिएपछि पक्राउ गरिएको हो ।
तलब माग्दै श्रम कार्यालयमा निवेदन दिने कर्मचारीलाई ओझाले ज्यानमार्ने धम्की दिएका थिए । ओझाले कर्मचारीलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । ओझालाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको केसीले बताए । पूर्वराजा ज्ञानेन्द्र साहको आफू विश्वास पात्र भएको बताउँदै आएका ओझाले विराटनगर महानगरपालिका–४कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवा जलविधुत आयोजना पब्लिक लिमिटेड र बिजनेश मेनेजमेन्ट ग्रुप (बीएमजी) नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई बिभिन्न मितिमा नियुक्ति दिएका थिए । ओझाले ०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका छन् । कर्मचारीलाई तलब नदिइ ठगी गरेका ओझाविरुद्ध कर्मचारीहरुले श्रम कार्यालयमा उजुरी गरेपछि आईजीपी आफ्नो भान्जे ज्वाई भएको बताउँदै ज्यान मार्ने धम्की दिएका थिए । सुरक्षाको माग गर्दै स्थानीयले प्रहरीमा उजुरी गरेपछि प्रहरीले पक्राउ गरी ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

(श्रीजनमत साप्ताहिक वाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *