एचआईभी संक्रमितको वेदना स् श्रीमानले छाडेको ‘नासो’ बन्यो गलपासो

ऋचा अर्याल

काठमाडौं / वीरगञ्ज घर भएकी ४० वर्षीया रजनी थापा (नाम परिवर्तन) आइतबार एक्लै टेकु अस्पताल पुगिन् । सँधैजस्तो डा. अनुप बास्तोलाले उनलाई हेरे ।

‘केही दिनदेखि निरन्तर कोखो दुखिरहेको छ’ उनले सिकायत गरिन् । डाक्टरले उनलाई गम्भीर समस्या नरहेको भन्दै एकपटक अल्ट्रासाउन्ड गरेर हेर्न सुझाव दिए । बिरामी र डाक्टरको वार्तालाप हेर्दा यो अनुमान गर्न सकिन्नथ्यो कि रजनी एचआईभी संक्रमित हुन् । उनी सामान्य देखिन्थिन् । तर, अनलाइनखबरसँग आफ्नो बेदना सुनाउने क्रममा भने रजनी बारम्बार भक्कानिइन् । उनले आफ्नो वास्तविक नाम र तस्वीर सार्वजनिक नगरिदिन आग्रह गरिन् ।

बिहेको पाँच महिनामा विधवा

रजनी १८ वर्षकी थिइन्, जतिबेला दाइले उनको विवाह बम्बै (अहिलेको मुम्बई) मा काम गर्ने एक व्यक्तिसँग गरिदिए । घर–परिवार राम्रै थियो, श्रीमानले माया गर्थे ।

बिहेको पाँच महिनापछि श्रीमान् गम्भीर विरामी परे । परिवारको सल्लाहमै श्रीमानलाई रक्सौलस्थित डङ्कन अस्पताल लगिन् । त्यहाँ विभिन्न परिक्षणपछि थाहा भयो, रजनीका श्रीमान मधुमेह, दम र मुटुमा पानी जम्ने समस्यासँगै एउटा डरलाग्दो रोगको शिकार भएर अन्तिम अवस्थामा पुगिसकेका रहेछन् ।

डाक्टरहरुले उनलाई भनिदिए, ‘उहाँलाई एड्स लागेको छ । अब बढिमा १० दिन बाँच्ने हो । त्यसैले डिस्चार्ज गरेर लगिहाल् । हैन भने हामी नालीमा फालिदिन्छौ ।’
एकाएक रजनीको संसार अन्धकार भयो ।

‘यो रोगको बारेमा सुनेकी त थिएँ, तर आफैंलाई आइपर्ला भन्ने कल्पना पनि थिएन’ विगत सम्झिँदा रजनीको आँखाबाट आँशुका भेल बग्न थाले ।

डाक्टरहरुले उनलाई भनिदिए, ‘उहाँलाई एड्स लागेको छ । अब बढिमा १० दिन बाँच्ने हो । त्यसैले डिस्चार्ज गरेर लगिहाल् । हैन भने हामी नालीमा फालिदिन्छौ ।’
श्रीमानलाई अस्पतालबाट घर फर्काउनुबाहेक अरु विकल्प थिएन । डाक्टरले भनेजस्तै घर फर्केको केही दिनमै श्रीमानको मृत्यु भयो । बिहेको ६ महिना नपुग्दै रजनी विधवा बनिन् ।

श्रीमानको एचआईभीले मृत्यु भएको थाहा पाएपछि माइतीले उनलाई पनि परिक्षणका लागि डङ्कन अस्पताल नै पु¥याए । उनको रिपोर्ट नेगेटिभ आयो ।
राहतको सास फेर्दै उनी घर फर्किइन् ।

करिब चार वर्षपछि फेरि एकपटक उनले वीरगञ्जको एक अस्पतालमा एक्लै गएर एडभान्स चेकजाँच गराइन् । फेरि पनि कुनै संक्रमण देखिएन । चिकित्सकले उनलाई आश्वस्त तुल्याउँदै भने, ‘चार वर्षसम्म नदेखिएपछि अब यो रोग तपाईलाई लाग्दैन ।’

उनी अब ढुक्क भइन् ।

यौवनावस्थामै थिइन् रजनी । लामो जीवन काट्न सहाराको आवश्यकता थियो उनलाई । परिवारले पनि उनको अर्को घरजम गराइदिने सल्लाह गरे । उपयुक्त केटाको खोजी भयो । सानो परिवार भएका एक सोझो केटा भेटिए । परिवारको सल्लाहअनुसार ०६० सालमा रजनीले दोस्रो बिहे गरिन् ।

विवाह गरेको करिब एक वर्षमै छोरा जन्मियो । विगतको दुःख भुल्दै जीवनलाई नयाँ शिराबाट सुरु गर्दा उनी उत्साहित बनिन् ।
तर, रजनीलाई अर्को बज्रपातले पर्खिरहेको रहेछ ।

०६४ सालमा उनको स्वास्थ्यमा समस्या देखियो । मुखभरी घाउ आउन थाल्यो । घाँटीमा गिर्खा पलायो । तौल एकाएक घट्यो । शरीर सुकेर जीर्ण भयो ।

उपचारका लागि अस्पताल चहार्न थालिन् । तर, कतै रोग पत्ता लागेन । अन्ततः दिदीलाई लिएर उनी भरतपुरस्थित क्यान्सर अस्पताल पुगिन् । धेरै रोगको परिक्षण गरियो तर, कुनै समस्या नदेखिएपछि र उनको पृष्ठभूमि सुनिसकेपछि चिकित्सकहरुले एचआईभी टेस्ट गर्न लगाए ।

जे नहुनु थियो त्यही भयो । रिपोर्टमा एचआईभी पोजिटिभ देखियो । छाँगाबाट खसेजस्ती भइन् रजनी । चिकित्सकहरुको सल्लाहअनुसार टेकु अस्पतालमा आएर पुन परिक्षण गराइन् ।

फेरि पनि उही नतिजा ।

रजनीको सम्पूर्ण आशाहरु खरानी भए । दिदीको अंगालोमा उनी रोइन्, चिच्याइन्, कहालिइन् । तर केही हुनेवाला थिएन । ‘गाउँमा सामान्य खेतीपाती गरेर जीवन बिताएकी सोझी केटी म, यस्तो रोग लाग्ला भन्ने कल्पना नै थिएन । तर, रोगको आँखा हुँदैन रहेछ,’ उनी सुँक्सुकाउँदै भन्छिन् ।

लुकाउन गाह्रो, भन्न पनि गाह्रो

रजनीको बेदनाको अर्को पाटो पनि छ । उनले अहिलेसम्म आफ्नो श्रीमान र छोरालाई आफूलाई लागेको रोगबारे बताउन सकेकी छ्रैनन् ।

उनका श्रीमान् मजदुरी गर्छन् । छोरा निजी विद्यालयमा अध्ययनरत छन् । उनीहरु दुवै बेखबर छन् । ‘बिरामी पर्दा एक्लै जचाउँन जान्छु,’ रजनी भन्छिन्, ‘श्रीमान र छोरालाई अहिलेसम्म भन्न सकेकी छैन ।’

स्वास्थ्य जाँचपछि रजनीले भनेको कुरामा श्रीमानले खासै सोधिखोजी पनि गर्दैनन् । बरु छोरालाई सम्झाउन चाहिँ उनलाई सकस भइरहेको छ । ‘पटक–पटक बिरामी हुँदा छोराले सोधिरहन्छ, ठूलो भएपछि आफैं थाहा पाउँछस् भनेर टार्दै आएकी छु,’ उनी भन्छिन्, ‘कहिलेसम्म लुकाउन सक्छु थाहा छैन ।’

आफू संक्रमित भएपछि रजनीलाई अर्को त्रास थियो, श्रीमान र छोरालाई पनि सरेको त छैन ? तर, परीक्षण कसरी गराउने ? उनले अनेक जुक्ति लगाएर अरु नै बहानामा दुवैको रगत परीक्षण गर्न सफल भइन् । धन्य, उनीहरुमा संक्रमण देखिएन । रजनीलाई राहतको विषय यही भएको छ ।

आफू संक्रमित भएपछि रजनीलाई अर्को त्रास थियो, श्रीमान र छोरालाई पनि सरेको त छैन ? तर, परीक्षण कसरी गराउने ? उनले अनेक जुक्ति लगाएर अरु नै बहानामा दुवैको रगत परीक्षण गर्न सफल भइन् । धन्य, उनीहरुमा संक्रमण देखिएन ।
यद्यपि, आफूलाई धेरै वर्षपछि यो रोग देखिएकाले उनी अझै ढुक्क हुन सकेकी छैनन् । यौन सम्पर्क तथा रगतको माध्यमद्वारा अझै रोग सर्न सक्ने खतरा छ ।

त्यसैले उनी निकै सावधानी अपनाउँछिन् । ‘श्रीमानसँग सम्वन्ध राख्दा कन्डम प्रयोग गर्न लगाउँछु । मान्नु भएन भने त्यो रात अनेक बहाना बनाएर संसर्ग टार्छु’ उनले भनिन् ।
चिकित्सकहरुले जुठोबाट एड्स नसर्ने उनलाई बताएका छन् । तर, उनको मुखमा घाउ–खटिरा आइरहने भएकोले श्रीमान र छोरालाई आफ्नो जुठो खान दिन्नन् ।

एउटा तितो अनुभव

रजनीको माइती तथा पहिलो श्रीमानका परिवार बाहेक अरुलाई उनको रोगबारे थाहा छैन । उनी भन्छिन्, ‘मानिसहरुको सोच अझै पनि शंकुचित छ । त्यसैले सबैलाई भनेर हिँड्ने कुरा आउँदैन ।’

फेरि आफू भाडामा बस्नुपर्ने भएकोले भोलि कोठा छोड्न लगाउलान् कि भन्ने पनि डर लाग्छ उनलाई । ‘बरु मेरो अफिसका म्यानेजर बुझ्ने खालको भएकोले उहाँलाई सबै कुरा भनेकी छु,’ उनले भनिन् ।

रजनीले एउटा तितो अनुभव सुनाइन्ः ‘मेरो पुरानो घरबेटीका छोरासँग दिदी–भाइको जस्तो सम्बन्ध थियो । दिदी–दिदी भन्थ्यो । राम्रो व्यवहार गर्थ्यो । मैले सँधै औषधी खाएको देखेर चिन्ता मान्थ्यो । एक दिन घर आएको बेला मलाई के भएको हो भनेर ढिपी कस्यो । डिग्री पढेको, राजनीतिमा पनि सक्रिय मान्छे भएकाले कुरा बुझ्छ होला जस्तो लाग्यो र वास्तविकता बताइदिएँ । तर, उसले सोचेको भन्दा फरक व्यवहार देखायो । अनुहार बिगार्दै झ्वाट्टै उठेर गइहाल्यो । पछि एक दिन फोन गरेर भन्यो, ‘दिदी, तपाईंको बेडमा बसेर चिया खाएको थिएँ, कतै मलाई पनि यो रोग सरेको त छैन ?

मैले भने, ‘जब मेरो छोरा र श्रीमानलाई त सरेको छैन भने तिमीलाई कसरी सर्छ ?’ तर, उसको मन शान्त भएन । पटक–पटक फोन गरेर सताउन थाल्यो । ‘म भर्खर विवाह गरेको मान्छे, मेरो छोरी सानी छ, यो रोग भोली मलाई सर्‍यो भने यसको जिम्मेवार तपाईं हुनुपर्छ‘ इत्यादि । म त अचम्मित बनेँ । पढेलेखेको मानिसले नै यस्तो सोच्छन् भने अरुको के कुरा गर्ने ?’

त्यसपछि उनले अरु कसैलाई आफ्नो समस्या बताएकी छैनन् । चार दिदी–बहिनीमध्यकी साइली उनले ६ महिना प्रौढ शिक्षा लिनुबाहेक कहिल्यै स्कुल गएकी छैनन् । आफ्नो नामसम्म लेख्न सक्छिन् । जीवनमा भोगेको दुख नै उनाका लागि ठूलो पढाइ भएको ।

हाँसीखुशी बाँच्ने हो

अहिले पनि उनको स्वास्थ्य धेरै बिग्रिएको छैन । पहिलेजस्तो बारम्बार ज्वरो आउँदैन । औषधी सेवन गर्न थालेदेखि खोकी पनि बन्द भएको छ । सुरुमा ६ चक्कीबाट औषधी सेवन सुरु गरेकी उनी अहिले रातमा एक चक्की मात्र खान्छिन् ।

‘अहिले मेरो समस्या भनेको कोखा दुख्ने मात्र हो’, उनले भनिन्, ‘त्यसबाहेक अहिले अन्य कुनै समस्या छैन ।’

मानिसले जन्मिएपछि एक दिन मर्नै पर्छ । को कहिले मर्छ कसलाई थाहा छ ? रजनीले अहिले आफ्नो मृत्यूबारे सोच्न छोडिसकिन् । पहिले छोरा सानो हुँदा उनलाई लाग्थ्यो, ‘यसलाई हुर्काउनसम्म भ्याए हुन्थ्यो ।’

‘अब त छोरा ठूलो भइसक्यो, पढिरहेको छ, भोलि केही गर्ला नि,’ उनले भनिन्, ‘आफ्नो बारेमा चिन्ता लिएर बस्न छोडेकी छु । हाँसिखुशी बाँचिरहेकी छु । सायद यही भएर पनि मेरो जीवन लम्बिएको होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *