वातावरण संरक्षणमा अमेरिकी सहयोग निरन्तर रहने

काठमाडौँ/ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग यहाँस्थित अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै जलवायु परिवर्तन र जैविक विविधता संरक्षणका विषयमा छलफल भएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

अमेरिकी सहयोगमा नेपालमा सञ्चालित हरियो वन, पानीको स्रोत व्यवस्थापन र वातावरणीय प्रदूषण नियन्त्रणजस्ता कार्यक्रमलाई निरन्तरता दिनेबारे उहाँहरूबीच समझदारी कायम भएको छ ।

भेटमा मन्त्री बस्नेतले नेपालको ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको उल्लेख गर्दै वन क्षेत्रको बहुआयामिक उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने कार्यक्रमलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाएकोे बताउनुभयो ।

त्यस्ता कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र र समुदायको प्रत्यक्ष सहभागितामा आधारित हुने जानकारी दिदैं उहाँले विकासलाई वातावरणमैत्री र वातावरणले विकासलाई दिगो बनाउने गरी काम गर्न लागेको बताउनुभयो ।

भेटमा राजदूत बेरीले नेपालले बाघको सङ्ख्या दोब्बर पारेको र एकसिङ्गे गैँडाको चोरी–शिकारी शून्यमा झारेकामा प्रशंसा व्यक्त गर्दै प्राकृतिक साधनस्रोत, वातावरण र विकासबीच संरक्षण तथा उपयोगमा सन्तुलनकारी बाटो अवलम्बन गर्न सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *