यज्ञराज आईसीयुमा, दूर्गादेवीलाई पीरमाथि पीर

काठमाडौं / बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ ।

संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर छँदै छ, त्यही न्यायको लडाइँमा लागिरहेका श्रीमान यज्ञराजको स्वास्थ्य बिग्रिएपछि दुर्गादेवीलाई पीरमाथि पीर थपिएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा दोषी पत्ता नलाग्नुले न्यायविहीन राज्यको आभास गरिरहेकी दुर्गादेवीले हिम्मत नहारी लडिरहेकी छिन् । अब उनलाई सावित गर्नु छ ‘न्याय पाउनुभन्दा ‘बौलाउनु’ निको होइन ।’

डाक्टर भन्छन्– तनावकै कारण मानसिक समस्या

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि कात्तिक २५ गते आइतबारदेखि धर्नामा बसेका श्रीमानले गएको हप्तादेखि केही अस्वाभाविक व्यवहार देखाउन थाले । छोरीको हत्यारा पत्ता लागोस् भनेर न्यायको आवाज निकालिरहेका यज्ञराजको अस्वाभाविक बोली र व्यवहारले दुर्गादेवीको मन झनै कुँडियो ।

‘यस्तो अवस्थामा श्रीमानको आधार चाहिन्छ नै, छोरीको न्यायको लागि भन्दाभन्दै श्रीमानको बिकराल अवस्था आयो । अब त हामी के गरी सम्हालिउँला’ सोमबार त्रिवि शिक्षण अस्पतालमा भेटिएकी दुर्गादेवीले मन भारी पारेर भनिन् ।

आइतबार बेलुका कञ्चनपुरबाट काठमाडौं उपचारका लागि ल्याइएका यज्ञराजको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनमा तनावकै कारण मानसिक समस्या देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *