नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

खोटाङ/नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ ।
पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवम् पाठ्यपुस्तक प्रकाशनलगायत प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो ।
किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न आठ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर वर्ण निर्धारणको काम थालिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताउनुभयो ।
खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा र मोरङ जिल्लाबाट बोलाइएका पुर्खाको सहयोगमा वर्ण निर्धारणको काम शुरु गरिएको उपाध्यक्ष राईको भनाइ छ ।
पुर्खासँगको छलफल र बहसबाट यही मङ्सिर १४ गतेसम्म स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणका कामलाई निरन्तरता दिएर अन्त्यमा भाषाविद् डा. तारामणि राईको सहयोगमा वर्ण निर्धारणको कामलाई अन्तिम टुङ्गो लगाइने किरात रदु नाछिरिङ साखाम (केन्द्र)ले जनाएको छ ।
वर्ण निर्धारणका लागि खोटाङका शिक्षक रामकुमार राई, रमेश राई र सोलुखुम्बुका शिक्षक निरकुमार राईले सहजीकरण गरिरहेका छन् । वर्ण निर्धारणको काम सम्पन्न गरेलगत्तै मङ्सिर १५ गते केन्द्रको अधिवेशन धरानमै गर्ने तयारी गरिएको छ । विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राईको जनसङ्ख्या करीब १२ हजार रहेको अनुमान गरिएको छ । हालसम्म यो भाषाको वर्ण निर्धारणको काम हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *