ओभर फिडिङ बच्चाको स्वास्थ्यलाई अत्याचार

आमाबुवा चाहन्छन, ‘मेरा बालबच्चा हट्टाकट्टा होस् । बलियो–बाङ्गो होस् । मोटाघाटा होस् ।’ बुवाआमाले यही इच्छा पूर्ति गर्न बालबच्चालाई सकेसम्म र भ्याएसम्म ख्वाउने यत्न गर्छन् । धारणा के छ भने, ‘जति धेरै खायो, उत्तिनै ज्यानमा लाग्छ ।’
समाजमा उखान छ नि, ‘खाएकै छोरो काम लाग्छ ।’

खाना किन र कसरी ख्वाउने भन्ने आधारभूत ज्ञान धेरै आमाबुवामा हुन्न । उनीहरु केवल यति बुझ्छन्, ‘छोराछोरीले मजाले खाइदिए, भरपेट खाइदिए बलियो हुन्छन् । निरोगी हुन्छन् ।’
हामी देख्छौं, कतिपय बुवाआमाका निम्ति छोराछोरीलाई खाना ख्वाउनु ठूलो उपलब्धी हुन्छ । उनीहरु अनेक तौर तरिकाले छोराछोरीलाई खान प्रेरित गरिरहेका हुन्छन् । चाहे भोक लागेको होस् वा नहोस, खाने इच्छा जागेको होस् वा नहोस, उनीहरुलाई खानेकुरा ख्वाइन्छ । जसरी हुन्छ, जे गरेर हुन्छ । फकाएर हुन्छ कि, लोभ देखाएर हुन्छ कि, डर देखाएर हुन्छ कि, धम्क्याएर हुन्छ कि ।
छोराछोरीले भरपेट खाना खाइदिएपछि आमाबुवाको मनमा सन्तोष हुन्छ । यहाँसम्म ठिक छ ।
तर, जब बच्चालाई खान इच्छा हुँदैन, रुची हुँदैन, अघाइसकेका हुन्छन, तब उनीहरुलाई ख्वाउन जरुरी छ ? यदी आफ्नो मर्जी अनुसार बच्चालाई खाना ख्वाउँदा उनीहरुमा त्यसको साइड इफेक्ट के पर्छ ?
मोटोपन, मधुमेह, अपच लगायत अनेकन समस्या देखिन्छ ।
बच्चालाई सुपाच्य र सन्तुलित आहार आवश्यक हुन्छ । अनावश्यक आहारले उनीहरुको पाचन यन्त्रलाई भार दिने मात्र हो ।
तर, बच्चाहरु यी सबै कुरा भन्न सक्दैनन् । उनीहरु आफु अघाएको कुरा पनि व्यक्त गर्न सक्दैनन् । त्यही कारण बुवाआमाको मर्जी अनुसार खाइदिन्छन् । यसको असर त अझ नवजात शिशुमा बढी पर्छ । उनीहरुलाई कति खाना चाहिने भन्ने कुरामा धेरै आमाबुवाले हेक्का राख्दैनन् । त्यही कारण उनीहरु ओभर फिडिङका शिकार भइरहेका हुन्छन् ।
ओभर फिडिङका कारण
नवजात शिशु तथा ससाना बालबालिकाले आफ्नो कुरा राम्ररी राख्न जान्दैनन् । उनीहरु आफ्नो पेट अघाएको संकेत पनि दिन सक्दैनन् । जसले गर्दा अभिभावक सोच्छन्, शिशुलाई खाना पुगेको छैन । र, खाना कोच्चाउन थाल्छन ।
त्यसबाहेक नवजात शिशुलाई बोतलमा दुध पिलाएर ठूलो, बोतल दिएर, बोतललाई प्यासिफायरको रुपमा प्रयोग गरेर पनि यो समस्या निम्त्याउँछन् ।
तर, कसरी ?
दुध पिलाउँदा बोतलको प्रयोग
कार्यव्यस्तताका कारण कति आमा बच्चालाई बोतलबाट दुध पिलाउँछन् । बोतलबाट दुध खुवाउँदा शिशुलाई दुध खान सजिलो होस् भन्नका लागि बोतलको मुखको प्वाल ठूलो पारिदिने गर्छ । जसले गर्दा दुधको थोपा बोतलबाट लगातार चुहिरहने गर्छ । पेट भरिसक्दा पनि शिशु अतिरिक्त दुध पिउन बाध्य हुन्छ ।
ठूलो बोतलको प्रयोग
एक अध्ययनले जनाए अनुुसार ठूलो बोतलबाट दूध पिउने बच्चाहरु अक्सर मोटोपनाको शिकार हुने गर्छन् । विशेषगरी, आवश्यकता भन्दा बढी दुध दिनु र, दिएको सबै दुध सिध्याउन प्रोत्साहित गर्नुले उनीहरुमा मोटोपनाको समस्या निम्त्याउने विभिन्न अध्ययनहरुले जनाएको छ ।
पेट भरिएपछि बच्चाहरुले निश्चित संकेत दिने गर्छन् । जस्तै, जिब्रो धकेल्ने, थुक्ने, दुध नचुस्ने इत्यादी । यसका बाबजुद पनि अभिभावकहरुले शिशुको मुखमा दुधको बोतल जर्बजस्ती ठोसिदिने गर्छन् । यही कारण ओभर फिडिङको समस्या निम्तिने गर्छ ।
बोतललाई प्यासिफायरको रुपमा राख्ने
शिशुलाई चुप लगाउन कयौ अभिभावकले बोतललाई पनि प्यासिफायरको रुपमा प्रयोग गर्दछन् । यसको लागि उनीहरुलाई आवश्यकता भन्दा बढी दुध पिलाउने गर्दछन् । जबकी बच्चालाई शान्त बनाउन दुध भन्दा प्यासिफायरको प्रयोग उचित मानिन्छ ।
ठोश आहार खुवाउनु
चार महिनाको भएपछि शिशुलाई ठोश आहार दिइने गरिन्छ । शिशुलाई ठोश आहार छिटो सेवन गराउनु भनेकै ओभर फिडिङ्ग गर्नु हो ।
ओभर फिडिङका संकेत ?
जब बच्चाहरुले आवश्यकता भन्दा बढी खाना खान्छन्, तब ओभर फिडिङका कारण उनीहरुमा यस्ता लक्षण देखिने गर्छ ।
खाना थुक्ने
खाना खुवाउँदा शिशुहरुले अक्सर थुक्ने गर्छन् । यसरी खाना थुक्नु उनीहरुको लागि सामान्य हो । तर खाना खाँदा बारम्बार थुक्छन् भने चाँही सर्तक हुनै पर्छ । किनकी यो ओभर फिडिङको संकेत हुनसक्छ ।
पखाला
ओभर फिडिङ भएमा शिशुमा पखालाको समस्या हुनसक्छ । र, डायपरको संख्या बढाउन सक्छ ।
ग्यास भरिन, पेट फुल्नु
बोतलबाट दूध खाँदा शिशुको पेटमा दुधसँगै ग्यास पनि पुग्छ । जसले गर्दा शिशुमा पेट फुल्ने तथा ग्यासको समस्या निम्तिने गर्छ ।
बढी माग
सामान्यतया, एक वर्ष भन्दा अधिक उमेरका शिशुहरुलाई समेत दिनमा ३० आउञ्ज (८८७ एमएल) भन्दा बढी आमाको दूध वा प्याकेटको दूधको आवश्यकता पर्दैैन । र, ३२ आउञ्ज भन्दा बढी दूधको माग गर्नु आफैमा असमान्य भएकाले शिशुले यस्तो संकेत देखाए तुरुन्तै चिकित्सकका लैजानु पर्ने अमेरिक ऐकेडेमी अफ पेड्रियाटिक्सले जनाएको छ ।
ओभर फिडिङले निम्त्याउने जटिलता
मोटोपना–जब शिशुहरुले आवश्यकता भन्दा खाना पाउँछन्, उनीहरुले क्यालोरी पनि बढी पाउँछन् जुन शरीरमा जम्मा भई मोटोपनको समस्या निम्तने गर्छ ।
अमिलो डकार–केही बच्चालाई एसिड रिफ्लक्स (पाचन सम्बन्धि समस्या) हुने गर्छ । यस्ता समस्या भएका शिशुमा ओभरफिडिङका कारण पेटमा उत्पन्न एसिड अन्न नलीमा पुग्ने गर्छ । जसले गर्दा अन्ननलीको सतह पोलेर थप जटिलता उत्पन्न हुने गर्छ । र, स्थिति असामान्य बन्छ ।
वान्ता–ओभर फिड हुने शिशुले अक्सर वान्ता गर्छन् । निरन्तर वान्ता भईरहेमा पेटले थोरै खाना पचाउनका लागि छोड्न सक्छ । लामो समयसम्मका लागि स्वास्थ्य सम्बन्धि गम्भीर समस्या निम्त्याउन सक्छ ।
रोकथामका उपाय
स्तनपान गराउने– बाल रोग विशेषज्ञका अनुसार स्तनपान गराउँदा ओभरफिडिङको सम्भावना कम हुने गर्छ । कतिसम्म भने बच्चाले लामो समयसम्म निप्पल चुसिरहे पनि स्तनपान गर्दा दुधको आपूर्ति बोतलमा जस्तो निरन्तर हुँदैन । किनकी, स्तनपानका क्रममा शिशुलाई उत्ति नै दुध प्राप्त हुन्छ, जति उनीहरुले तान्छन् । परिणामस्वस्प, स्तनपानका क्रममा बच्चाहरुलाई ओभरफिडिङको समस्या हुँदैन ।
खाने समय निर्धारण गर्ने
खानाको उचित समय निर्धारण गरेर पनि बच्चालाई आवश्यकता अनुसारमात्र खाना खुवाउन सकिन्छ । यसको लागि निश्चित समय निर्धारण गर्नुपर्छ । जसले गर्दा बच्चाले प्रत्येक दिन सोही समयमा भोकाएको महसुस गर्छ । उनीहरुलाई भोकाएको समयमा मात्र खाना खुवाउनले आवश्यकता भन्दा बढी खुवाउने समस्याबाट बच्न सकिन्छ ।
भोक लागेको लक्षण कुर्ने
भोक लोगपछि शिशुहरुले निश्चित संकेत देखाउँछन् । जस्तै, औला चुस्ने, ओठ हल्काउने, रुने, चिच्याउने इत्यादी । र, शिशु भोकाएपछि अक्कर उनीहरुले निप्पलमा झम्टने तथा लुक्ष्ने गर्छन् । त्यसैले, उनीहरुलाई त्यतिबेला मात्र खुवाउनु पर्छ, जब उनीहरु भोकाएका हुन्छन् ।
जर्बजस्ती नगर्ने
शिशुको पेट भरिएको छ भने जर्बजस्ती नगर्ने । अन्यथा, ओभर फिडिङको समस्या निम्तन सक्छ ।
बच्चाहरुमा ओभर फिडिङको समस्या आम भएकाले उनीहरुलाई सही तरीकाले खाना फिड गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ । यसको लागि ओभर फिडिङको संकेत तथा भोक लागेको लक्षणलाई ध्यान दिन जरुरी छ । यति गरेमा मात्र पनि उनीहरुलाई पोषण दिएर ओभर फिडिङका कारण निम्तिने स्वास्थ्य सम्बन्धि जटिल समस्यालाई कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *