समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली हुने : प्रवक्ता

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा (माओवादी केन्द्र)का युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेका छन् ।

माइतीघरमा आयोजीत श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभयो ।

नेपाली समाज परिवर्तन गर्न देखाएको भूमिका प्रेरणादायी रहेको भन्दै उहाँले प्रकाशको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टी एकता गर्ने सपना पूरा भए पनि त्यो एकता देख्न नपाएको बताउनुभयो । उहाँले समाजवाद नै अहिलेको सरकारको मुख्य ध्येय रहेको भन्दै मुलुकमा समाजवाद ल्याएर समृद्धि हासिल गरिने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले एउटै कम्युनिष्ट पार्टी निर्माणमा नेकपा रहेको उल्लेख गर्दै बाहिर रहेका वामशक्तिलाई पनि एकीकृत गर्ने प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले प्रकाशले देखाएको बाटोमा युवा तथा विद्यार्थी हिँडेर मुलुकमा समृद्धि ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग (वाईसीएल), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का पदाधिकारीको सहभागिता थियो । प्रकाशको गत वर्ष आजैका दिन हृदयाघातका कारण निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *