यात्रु ठगिएको गुनासोपछि स्थानीय तहको सक्रियता

रविन्द्र काफ्ले

फिदिम÷पाँचथरको यासोकबाट निर्माणाधीन तमोर कोरिडोर सडक हुँदै तराईका जिल्ला झर्ने सवारी साधनमा यात्रु ठगिएको गुनासो सुनिएपछि समस्या समाधान गर्न स्थानीय तहले सक्रियता देखाएको छ ।
विगतमा यासोक–धरान सडकको प्रतिव्यक्ति रु ८०० भाडा लिँदै आएका यातायात व्यवसायीले बडादशैँलगायत पर्वको मौका छोपेर प्रतिव्यक्ति रु एक हजार २०० सम्म भाडा लिएको गुनासो सर्वसाधारणले गरेका थिए । गुनासोपछि स्थानीय प्रहरीको सहयोगमा सवारी नियन्त्रणमा लिई पाँचथरको कुम्मायक गाउँपालिकाले व्यवसायीसँग छलफल गरेको छ ।
प्रहरी चौकी यासोकको सहयोगमा शनिबार सवारीसाधन नियन्त्रणमा लिई आइतबार सर्वपक्षीय छलफलपछि सवारीसाधन छोडिएको छ । आइतबार गाउँपालिका प्रमुख, यातायात व्यवसायी सहितको सर्वपक्षीय छलफलले तत्काललाई दशैँ अघिकै भाडा लिई सवारी सञ्चालन गर्ने तथा काउण्टर खडा गरी टिकट काटेर मात्रै यात्रु बोक्ने सहमति गरेको छ ।
यासोकबाट मूलघाट, धरान, इटहरी, दमक लगायत स्थानसम्मको भाडा निर्धारण गर्न सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले जानकारी दिए।
कुम्मायक गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीको संयोजकत्वमा हिमाल यातायात सङ्घका अमरसिंह थापा र पाँचथर उद्योग वाणिज्य सङ्घ यासोक शाखाका उपाध्यक्ष महेन्द्र खड्का सदस्य रहेको समिति गठन गरिएको हो ।
उक्त समितिले कात्तिक ३० गते भित्रमा भाडा समायोजनका बारेमा सरोकारवालासँग छलफल चलाउने संयोजक लावतीले जानकारी दिए । गाउँपालिकाको केन्द्र यासोकदेखि तमोर कोरिडोरबाट सुनसरीको धरानहुँदै झापाको दमकसम्म ६ यात्रुबाहक ट्याक्सी सञ्चालित छन् ।
पाँचथरकै तुम्बेवा गाउँपालिकाको केन्द्र मौवाबाट तमोर कोरिडोर हुँदै मूलघाट, धरान र दमक जाने यात्रुबाट प्रतिव्यक्ति रु ८०० देखि रु एक हजारसम्म भाडा असुलिँदै आएको छ । यहाँबाट सञ्चालित सवारीसाधानले यात्रुले जति दुरी यात्रा गरे पनि एक २५ किलोमिटरको भाडा असुल्ने गरेको स्थानीयवासीको गुनासो छ ।
चर्को भाडा तिर्नुपरेको गुनासो स्थानीयवासीले गरेपछि तुम्बेवा गाउँपालिकाले यातायात व्यवसायीसँग पटक÷पटक छलफल गर्दै आए पनि समस्या समाधान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *