प्रदेश १ मा बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया सुरु

विराटनगर/प्रदेश १ सरकारले पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढाएको छ ।
प्रदेश मन्त्रिपरिषद बैठकले बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक विधेयक निर्माणका लागि समाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
योसँगै मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेको छ ।
सामाजिक विकास मन्त्रालयले मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयका रुपमा सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यसअघि नै प्रस्ताव लगेको थियो ।
मन्त्रालयका उपसचिव एव प्रवक्ता फणिन्द्र खत्रीका अनुसार अब कानुन निर्माण गरी मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने गरी प्राविधिक विश्व विद्यालय बनाउने प्रक्रियाले मूर्त रुप लिनेछ ।
सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र कानुन निर्माण गरी एक वर्षभित्र मनमोहन पोलिटेक्निकलाई वहुप्राविधिक शिक्षालय बनाउने योजनासहित आवश्यक गृहकार्य थालेको थियो ।
मन्त्रालयका अनुसार मनमोहन पोलिटेक्निकलाई यो चालु आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न साढे २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेशकै अब्बल प्राविधिक शिक्षालय बनाउने सरकारको योजना अनुरुप मन्त्रालयले काम अगाडि बढाउने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । हाल सो पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङअन्तर्गतका सिभल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा पढाइ भइरहेको छ । प्रदेश सरकार मातहतमा आएसँगै सो बहुप्राविधिक शिक्षालयमा कृषि, भेटरीनरी, हेल्थ र इन्जिनियरिङ कक्षा सञ्चालनको तयारी छ । मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल सुभाषश्री निरौलाले प्रदेश सरकारको योजना अनुसार बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार पर्याप्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *