क्रिकेटको उपाधी प्रदेश दुईलाई

अर्जुन सुवेदी
इटहरी/आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश नम्बर २ ले तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा इटहरीलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश नम्बर २ ले उपाधी सहित नगद १ लाख ११ हजार हात पारेको हो । यस्तै उपबिजेतामा सिमित भएको इटहरीले नगद ५५ हजार र ट्रफी हात पारेको छ ।
इटहरीस्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै २ सय १ रनको योगफल खडा गरेको थियो ।
प्रदेश नम्बर २ का लागि सोनु अन्सारीले सर्वाधिक ६० रन बनाउदा रवि शाहले ५९ रन बनाए । यस्तै अमित यादवले २८, बिकास दासले १९, बिवेक यादवले १३ र तिर्थराज दासले १० रन बनाए । बलिङतर्फ इटहरीका विकल्प आचार्यले २ बिवेक हात पार्दा निशान महत, भुपाल लुइटेल र राज थापाले एक–एक विकेट लिए । २ सय २ रनको बिशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमध्ये १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । यसअघि लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेको इटहरीका लागि सुभाष यादवले ३२, गौतम शर्माले १७ र अलफाज मन्सुरीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । बलिङतर्फ प्रदेश नम्बर २ का निखिल सिंहले ४ विकेट हात पार्दा गोमानन्द यादव र अदिल खानले २–२ विकेट लिए ।
फाइनल खेलको म्यान अफ द म्याच प्रदेश नम्बर २ का निखिल सिंह घोषित हुदै नगद २ हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का रवि शाह घोषित हुदै नगद १० हजार र ट्रफी पाए । यस्तै प्रतियोगितामा उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याष्टमेन इटहरीका गौतम शर्मा घोषित हुदै नगद ५–५ हजार र ट्रफी पाए । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले पुरस्कार बितरण गरे । कार्तिक ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौं, विराटनगर, भैरहवा, इटहरी, धनगढी र प्रदेश नम्बर २ गरी ६ टिमको सहभागिता रहेको थियो । लिगकम नकआउटको आधारमा खेलाइएको उक्त प्रतियोगिताको समूह (क) मा काठमाडांै, विराटनगर र इटहरी रहेका थिए । समूह (ख) मा धनगढी, भैरहवा र प्रदेश नम्बर २ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *