कुमार चौलागाई

काठमाडौँ/ यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल विराटनगर वारियस र ललितपुर प्याट्रिओट्सबीच हुने भएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा साविक विजेता विराटनगर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।

राउण्ड रोविन लिगमा हुने प्रतियोगिताको पहिलो दिन उद्घाटन खेल मात्र हुने र दोस्रो दिनबाट लिगको दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । यही मङसिर २३ गते ललितपुर प्याट्रिओट्स र चितवन टाइगर्स तथा दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ । मङ्सिर २४ गते चितवन र काठमाडौँ तथा पोखरा र ललितपुरबीच खेल हुनेछ । २५ गते विराटनगर र पोखरा तथा चितवन र भैरहवाबीच खेल हुने आयोजनकले जनाएको छ ।

मङ्सिर २६ गते भैरहवा र विराटनगर तथा काठमाडौँ र ललितपुरबीच खेल हुनेछ । मङ्सिर २८ गते विराटनगर र चितवन तथा पोखरा र काठमाडौँबीच खेल हुनेछ । २९ गते भैरहवा र काठमाडौँ तथा चितवन र पोखराबीच खेल हुनेछ । आगामी पुस १ गते ललितपुर र भैरहवा तथा २ गते भैरहवा र काठमाडौँबीच लिग चरणको अन्तिम खेल हुनेछ । मङ्सिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले समेत मान्यता दिएको छ । पत्रकारसम्मेलनमा प्रतियोगितालाई आईसीसीले मान्यता दिएको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिनुभयो । अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसिसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आईसीसीको मान्यता लिनुपर्ने प्रावधान छ ।

गत वर्षदेखि इपिएलले आईसीसीको मान्यता लिएर प्रतियोगिता गर्दै आएको छ । आईसीसीको मान्यतापछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुलेको छ । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । गत संस्करणदेखि एक टोलीले तीनजना विदेशी खेलाडी राख्नुपर्ने प्रावधान गरेको थियो ।

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

नेपाल मार्सल आर्ट्स हाप्किडोका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता प्रदीप थापा सम्मानित भएका छन् । गत असोज २५ र २६ गते रुसको पिटर्सवर्गमा सम्पन्न युरोपियन अल स्टाइल स्पोर्ट्स नेपाल मार्सल आर्ट्स हाप्किडो च्याम्पियनशिपमा कास्य पदक जीतन सफल थापालाई आज गृहमन्त्रालयमा आयोजीत कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सम्मान गर्नुभयो ।

सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले आगामी दिनमा अझ उच्च प्रदर्शन गर्दै राष्ट्रको नाम राख्न शुभकामना दिनुभयो । सिन क्योकोसिनका तेस्रो डान प्रदीपले द युनियन अफ हाप्किडो रसियाको आयोजना भएको च्याम्पियनसिपमा ७२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा बाई पाएका उनले दोस्रो खेलमा मेक्सिकोका खेलाडीलाई पराजीत गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा रुसी खेलाडीसँग पराजीत भएपछि प्रदीप कास्य पदकमै सीमित बनेका थिए ।

अल स्टाइल स्पोर्ट्समा भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत एक दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हाप्किडोमा पहिलो पटक राष्ट्रका लागि पदक ल्याएका प्रदीपले यसअघि स्पोर्ट्स च्यानबारामा पनि अन्तर्राष्ट्रिय पदक जीतेका थिए । थाइल्यान्डको बैङ्ककमा भएको प्रतियोगितामा पहिलो पटक सहभागी भएका उनले भारतको हैदरावादमा भएको स्पोर्ट्स च्यानबारामा भने रजत पदक जीतेका थिए ।

हिमालयन शेर्पा विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको तेस्रो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोलले पराजीत गर्दै हिमालयन शेर्पाले जीत हात पारेको हो । हिमालयनको जीतमा खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जीतसँगै हिमालयन शेर्पाले दुई खेलबाट चार अङ्क जोडेको छ ।

पहिलो खेलमा हिमालयन शेर्पाले एपिएफसँग बराबरी खेलेको थियो । सरस्वतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सरस्वती सङ्कटासँग पराजीत भएको थियो । आजको खेल सकिएसँगै विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ र हिमालयन शेर्पाले एक जीत तथा एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालिकाको क्रमश चौथो, पाँचौ, छैटौँ र सातौँ स्थानमा रहेका छन् ।

सशस्त्रको पहिलो जीत

सशस्त्र प्रहरीको एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले पराजीत गर्दै एपिएफले लिगमा पहिलो जीत दर्ता गरेको हो । एपिएफको जीतमा प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपिएफलाई महत्वपूर्ण जीत दिलाए ।

फ्रेन्ड्सले पनि केही गोलका अवसर गुमाएको थियो । खेलमा ‘म्यान अफ दि म्याच’ एपिएफका प्रविन नै चुनिदै रु १० हजार प्राप्त गरे । जीतसँगै एपीएफले २ खेलबाट चार अङ्क जोडेको छ । एपिएफले पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स थ्री स्टारसँग पराजीत भएको थियो ।
–––

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *